Monday, December 8, 2025
No menu items!
Homeटप-स्टोरीन्याभ कपले विद्यार्थीलाई काम छोडेर पनि खेल्न सक्ने वातावरण सिर्जना गरिदियो: नविन...

न्याभ कपले विद्यार्थीलाई काम छोडेर पनि खेल्न सक्ने वातावरण सिर्जना गरिदियो: नविन श्रेष्ठ

चितवन स्थायी घर भएका नविन श्रेष्ठ २००७ मा अष्ट्रेलिया आउनुभयो। नेपालमा छँदा इन्टर-कलेज प्रतियोगिताहरुमा भाग लिने नविनको क्रिकेट खेल प्रतिको रुची अष्ट्रेलिया आउँदासम्म पनि हटेको थिएन। तर अष्ट्रेलियामा आएपछि नौलो परिवेशमा पढाइ, काम र आर्थिक चुनौतीका बीच खेल यात्रालाई निरन्तरता दिने बारेमा कहाँ सोंच्न सक्नु र ?

पढाइ, काम, कमाइ सबैको सन्तुलन मिलाउँदा मिलाउंदै चार वर्ष यत्तिकै बित्यो। साथी सर्कल बन्दै गयो। यत्तिकैमा खेल प्रति रुची भएका साथीहरु समूह-समूहमा खेल्दा खेल्दै सगरमाथा क्रिकेट क्लब जन्मियो। चार जना साथी मिलेर शुरु गरेको क्लब अहिले आइपुग्दा ५० जना सहितको क्लब पुग्यो। रुची र मनोरंजनको लागि शुरु गरिएको क्लब पछि प्रोफेसनल बन्न पुग्यो।

भिक्टोरियामा अहिले जारी रहेको १६ औं न्याभ क्रिकेट टुर्नामेन्टको संयोजकको रुपमा काम गरिरहनुभएका नविन श्रेष्ठ आफ्नो यात्राबारे बताउनुहुन्छ, ” न्याभ कपमा पहिले म हाम्रो क्लबबाट खेलाडीको रुपमा सहभागी हुन्थें। न्याभ कप हाम्रो लागि वर्ल्ड कप जस्तै हुन्थ्यो। अहिले त्यही न्याभ कपको संयोजकको रुपमा काम गर्न पाउँदा एकदमै खुशी लागेको छ” ।

नविन श्रेष्ठ आफ्नो क्लबबाट खेल्दा ४/५ क्लब मात्र सहभागी हुन्थे भने अहिले ११ वटा टिम उपाधिको लागि प्रतिस्पर्धा गर्दैछन्। न्याभ कपले नेपाली विद्यार्थीलाई खेल्नको लागि, आफ्नो रुची बढाउनको लागि साथ र हौसला दिएकै कारण अहिलेसम्म आइपुग्दा सहभागिता बढेको उहाँ बताउनुहुन्छ। श्रेष्ठ भन्नुहुन्छ, ” विद्यार्थीले जहिले पनि आफ्नो काम र पढाइलाई प्राथमिकतामा राख्नुपर्छ। कामकै कारण आफ्नो रुची, चाहनालाई छोड्नुपर्ने बाध्यता हुन्छ। हामीले पनि त्यो अवस्था भोग्यौं। तर न्याभले विद्यार्थीलाई काम छोडेर पनि खेल्न सक्ने वातारण सिर्जना गरीदिदै गएको छ। यो सबैभन्दा सुखद पक्ष हो “।

हाल जारी न्याभ कपमा ग्रेस इन्टरनेशनल र मल्टी डायनामिकले खेलाडीहरुलाई पुरस्कार सहित प्रोत्साहन दिइरहेको उल्लेख गर्दै श्रेष्ठ थप्नुहुन्छ, ” यस्तै साथ र हौसला मिल्दै गयो भने नेपाली क्लबका खेलाडीहरु प्रिमियर गेममा भाग लिन सक्छन्। नेपाली समुदाय खेल क्षेत्रमा धेरै अगाडी बढ्न सक्छ। यसको लागि खेलाडीलाई अरु कामको प्रेसर छोडेर खेलमै केन्द्रित हुने वातवारण बन्नुपर्छ र हामी सबै मिलेर हिड्यौं भने यो सम्भव पनि छ “।

हाल सेफको रुपमा कार्यरत श्रेष्ठ भिक्टोरियामा जारी न्याभ कपमा खेलाडीहरुको प्रदर्शनले नेपाली क्लब तथा खेलाडीको भविष्यप्रति आफू झनै आशावादी भएको बताउनुहुन्छ। आफ्नो तर्फबाट न्याभ कपलाई अझ कसरी राम्रो बनाउने भन्नेमा आफू लागिरहेको उल्लेख गर्दै उहाँले क्रिकेट भिक्टोरियासंग सहकार्य गरेर नेपाली समुदायको खेल क्षेत्रलाई माथि उठाउन सकिने धारणा व्यक्त गर्नुहुन्छ।

आफ्नो टिमले पहिलेदेखि अहिले टुर्नामेन्ट सफल बनाउनसम्म अत्यन्तै सहयोग गरेको र टिमको सहयोग बिना यहाँसम्म आइपुग्न नसक्ने उल्लेख गर्दै टिमप्रति कृतज्ञ रहेको बताउनुहुन्छ नविन श्रेष्ठ। कोरोना महामारीको समयमा खेलको आयोजना गर्नु आफैमा चुनौतीपूर्ण हो। यस्तो समयमा न्याभ कपको व्यवस्थापनमा जुट्नुभएका सम्पूर्णलाई संयोजकको नाताले धन्यवाद दिंदै हिमालयन कंगारूसंगको कुराकानीमा उहाँले मुख्य प्रायोजक संस्थाहरु ग्रेस इन्टरनेशनल र मल्टी डायनामिक प्रति आभार व्यक्त गर्नुभयो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments