सिडनी। अष्ट्रेलियाको सिडनीमा आगामी नोभेम्बर १९ मा नेपाल फेस्टिवलको आयोजना हुँदैछ। नेपाल चिनाउने महोत्सवका रुपमा लिइने नेपाल फेस्टिवलमा नेपाली भाषा, संस्कृति, नेपाली खानादेखि लिएर सांस्कृतिक प्रस्तुति समेत हुने गर्दछ। नेपाल फेस्टिवल सिड्नीको सुरुवाती दिनदेखि सक्रिय रुपमा संलग्न रही कार्य गर्दै आएका अनिल पोखरेलले नेपाल फेस्टिवलको बिभिन्न कार्यदलहरुमा सहयोग गर्दै आएका छन। फेस्टिवलको सक्रिय सदस्य पोखरेल गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको राष्ट्रिय समन्वय परिषद्को कोषाध्यक्ष पदमा रहँदै हाल नेपाल फेस्टिवलको उप संयोजक पदीय जिम्मेवारी निर्वाह गर्दै अग्रपंक्तिमा रहेर काम गर्दै आएका छन। त्यस्तै उनले बुरवूड पार्कमा हुन् लागेको नेपाल फेस्टिवल सिडनी २०२२ को फाइनस व्यवस्थापनको नेतृत्व समाल्दै आएका पनि छन। यसैक्रममा नेपाल फेस्टिवल सिडनी २०२२ नजिकिंदै गर्दा हिमालयन कंगारूले उहाँसंग गरेको विशेष कुराकानी तल प्रस्तुत गरिएको छ :
१ . नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ। आयोजक समितिमा रहेर काम गरिरहनुभएको छ, तयारी कस्तो भइरहेको छ ?
अहिलेसम्म हाम्रो तयारी उत्साहजनक छ। सबै कमिटिहरुले आफ्नो जिम्मेवारी अनुसार काम गरिरहनुभएको छ। एउटा राम्रो फेस्टिवल बनाउन चाहिने सम्पूर्ण पाटाहरु आयोजक टिमदेखि लिएर प्रायोजक स्पोन्सरहरु, कार्यक्रममा राख्ने स्टलहरु लगायतका कुराहरुको पनि फाइनल गरिसकेको छौं। त्यसैगरी यस फेस्टिवलमा हामीले नेपालबाट रिदम ब्यान्डको साथमा चर्चित गायक दीपक बच्राचार्य र सम्पूर्ण युवाहरुको मनमुटुमा बस्न सफल लोक तथा दोहोरी गायक प्रकाश सपूतलाई ल्याउने कुरा पनि फाइनल भइसकेको छ। यसबाहेक पनि संस्थागत रुपमा यहाँका नेपाल राजदुताबास, संघीय राज्य र स्थानीय सरकारका बिभिन्न प्रतिनिधिहरु लगायत अन्य बिशिष्ट ब्यक्तिहरुलाई समेत निमन्त्रणा पठाएर नेपाल फेस्टिवलमा कसरी धेरै मान्छेहरुलाई समाहित गराउन सक्ने र अघिल्ला नेपाल फेस्टिवल भन्दा अहिले अली भिन्न कसरी बनाउन सकिन्छ भन्ने कुराहरुमा जोड़ दिएर कड़ा तयारी गरिरहेका छौं।
२. आयोजक टिममा रहँदा कत्तिको चुनौती महसुस गर्नुभयो ?
हामी अष्ट्रेलियामा आफ्नै काम, ब्यबसाय, परिवारको साथै समय ब्यबस्थापन गरेर यति ठूलो प्राजेक्टमा रहेर काम गर्न आफैमा एक चुनौती नै हुन्छ। तर यस्ता चुनौतीहरु नआएको चाहिँ होइन, यसलाई हाम्रो आफ्नो संस्थाप्रतिको लगाबको साथै बिभिन्न अनुभब र फेस्टिवल राम्रो गर्नु पर्छ भन्ने मनदेखिको इच्छाको कारणले गर्दा यसलाई सही ब्यबस्थापन गरिरहेको छु।
३. कोषाध्यक्षको नाताले अरु राज्यमा भएको नेपाल फेस्टिवलमा पनि सहभागी जनाईरहनुभएको होला ? के-कस्ता अनुभबहरु बटुलेर आउनुभएको छ ?
मैले बटुलेको अनुभब बाड्नु पर्दा नेपाल फेस्टिवलले नेपाली भुमिलाई बिदेशी भुमिमा चिनाउन ठूलो मद्दत गर्दछ जस्तो लाग्छ। थोरै संख्या मै भएपनि नेपाल फेस्टिवलले नेपाललाई चिनाएर बिदेशी पर्यटक नेपाल भित्र्याउने काम गर्छ। यसबाहेक नेपाली भाषा, संस्कृति र नेपाली स्वादको खाना प्रदर्शन गर्न पाउने मौका मिल्ने गर्छ। मेरो आफ्नै एउटा ब्यक्तिगत अनुभब भन्नु पर्दा १०-१२ बर्षसम्म नभेटिएका स्कुल/कलेजका साथीहरुलाई पनि यो फेस्टिवलमा गएर भेट्ने अवसर जुटने गर्छ। यसले भावनात्मक रुपमा साथीभाईसंग जोडिने अवसर प्रदान गर्छ। अझै सांस्कृतिक पाटोतिर जाँदा नेपाल फेस्टिवलसंग जोडिने झांकी, नृत्य, नेपाली साहित्य, संगीतको कुराहरु दोस्रो पुस्ताका नेपालीहरु जसले यी कुराहरुलाई बुझ्न पाएका छैनन, उनीहरुलाई यसमा जोडिएर सिक्ने र बुझ्ने अवसर मिल्ने गर्छ, जुन मलाई असाध्यै मन पर्छ।
४. नेपाल फेस्टिवल सिडनी २०२२ को माहोल कस्तो लागिरहेको छ ?
हरेक दुई बर्षमा हुने नेपाल फेस्टिवल अघिल्लो कार्यकाल कोभीड़को कारणले हुन सकेन। अहिले ४ बर्षको अन्तरालमा नेपाल फेस्टिवल हुँदैछ। यसरी लामो समयपछि यो महोत्सब हुन लागेको हुँदा एउटा छुट्टै किसिमको चुनौती पनि छ, तैपनि आयोजक समितिको महत्त्वपूर्ण सदस्यको हिसाबले पहिलाको फेस्टिवल भन्दा यो फेस्टिवल राम्रो गर्नु पर्छ भन्ने उत्साह मनमा जागिरहेको छ। साथै यस फेस्टिवल अझ सब्य भब्य कसरी बनाउन सकिन्छ, भन्ने बिषयमा नै लागिरहेको छु।
५ . नेपाल फेस्टिवल सिडनी २०२२ बाट कस्तो अपेक्षा राख्नु भएको छ ?
यसपालीको फेस्टिवलबाट अझ बढ़ी बहुसांस्कृतिक समुदायसंग काम गरेर धेरै भन्दा धेरै नेपाली र गैर नेपालीहरुलाई कार्यक्रममा सरिक बनाई सहभागिता गराउने आशा राखेका छौं। नेपाली समुदायका सबैजसो संघसंस्था तथा प्रतिनिधिहरु मिलेर काम गरिरहेकोले कार्यक्रममा हुने खर्चहरुलाई कम गराउँदै अझै चुस्त रुपमा सञ्चालन गर्ने भनिएका छौं। यस पटक फेस्टिवलको तयारी भब्य रुपमा भइरहेको देख्दा अझ बिशेष हुन्छ जस्तो लाग्छ।
६. नेपाल फेस्टिवलमा सहभागी हुँदाको आफ्नो अनुभब बताइदिनुहोस् न ?
बिगतमा ब्यस्तता हुँदाहुँदै पनि नेपाल फेस्टिवलको लागि थोरै समय निकालेर सरिक हुन पाउँदा छुट्टै उत्साह मिल्थ्यो। लामो समयदेखि भेटघाट नभएका साथीभाईहरुलाई एकै ठाउँमा भेट्न सकिने र एउटा छुट्टै किसिमको सांगीतिक माहोल निर्धारण हुने गर्छ। फ़ूड स्टलमा गएर भिन्नभिन्न प्रकारको स्वादिलो खाना खान पाइन्छ। फेस्टिवलमा लोक संगीतदेखि लिएर, रक, पप जस्ता बिभिन्न प्रकारको म्यूजिकको अनुभब पनि गर्न पाइने हुँदा नेपाल फेस्टिवल चाहिँ एउटा पूर्ण मनोरञ्जनको प्याकेज जस्तो लाग्छ मलाई।
७. नेपाल फेस्टिवलमा फाइनान्स म्यानेजमेन्ट गर्न कत्तिको गाह्रो सजिलो भइरहेको छ ?
एनआरएनए संस्था एउटा आफैमा गैर नाफामुलक संस्था भएको हुँदा सदस्यताहरुको शुल्कबाट चल्दै गर्दा यसको आम्दानीको स्रोत एकदमै कम छ। कार्यक्रमहरु गर्दा स्पोन्सरहरुमा निर्भर हुनु पर्ने अवस्था हुन्छ। अर्को कुरा नेपालीहरु साह्रै मनकारी पनि हुनुहुन्छ। सामाजिक कार्यहरु गर्न खोज्दा आफुले सक्दो सहयोग गरिराख्नु भएको छ। कोभीड़ पछिको ब्यापार ब्यबसायहरुमा बाधा आउदै गर्दा पनि उहाँहरुले स्वस्फूर्त रुपमा हामीलाई सहयोग गरिराख्नु भएको हुँदा आर्थिक रुपमा यो प्रोजेक्ट गर्नको लागि एकदमै सबल र सफल छौं।
८. नेपाल फेस्टिवलमा आम्दानी र खर्चको तालमेल कत्तिको मिलेको हुन्छ ?
फेस्टिवललाई कसरी राम्रो गर्न सकिन्छ र कसरी अगाडी लैजान सकिन्छ भन्ने बिषयमा चासो राखेर बिभिन्न विधाहरुमा बजेट छुट्याउने काम गरेका हुन्छौं। यसरी संस्थागत हिसाबले कुन बिधामा कति खर्च गर्ने भन्नेबारे तयारी गरिसकेका हुन्छौँ र तयारी गरेअनुसारको भन्दा बढ़ी खर्च भए , त्यसलाई कसरी ब्यबस्थापन गर्ने भन्ने बारे पूर्व तयारी भएको हुँदा लगभग आम्दानी र खर्चको तालमेल मिलेको नै छ।
९. कति नेपाल फेस्टिवलमा आम्दानी भन्दा पनि खर्च दुईगुणा भएको त्यस्तो केहि रेकर्ड छ ?
बिगतको फेस्टिवलहरुमा चाहिँ आय ब्यय बराबर जस्तै हुन्थ्यो। अहिले पनि हाम्रो गृहकार्य भनेको नै कम्तिमा नाफामूलक गराउन सकियो भने यसले राम्रो सन्देश दिन्छ भन्ने हो। बिगतमा हुने फेस्टिवलमा घाटा भन्दा पनि बराबरको स्तरमा थियो र अहिले चाहिँ हामीले त्यसलाई सुधार गर्दै केहि नाफा भएमा अरु सामाजिक कार्यमा लगानी गर्न सकिन्छ, भन्ने हाम्रो लक्ष्य हो।
१०. आयोजकहरुले फेस्टिवल राम्रोसंग ब्यबस्थापन नगर्दा कति स्पोन्सरहरुले पछि चित्त नबुझेर बोलेको जति रकम दिन अफ्ठ्यारो मान्ने कुरा सुन्नमा आएको हुन्छ। यस्तो परिस्थितिलाई तपाई लगायत टिमले कसरी ह्यान्डल गर्दै आउनुभएको छ ?
कार्यक्रमहरुमा काम भइसकेपछि जुन स्तरमा स्पोन्सरहरुलाई प्रतिबद्धता राखिएको छ, त्यो स्तरसम्मको बिज्ञापन दिन नसकिरहेको पनि हामीसंग ज्वलन्त उदाहरण छ। त्यसैले यसलाई कसरी सुधार गर्नु पर्छ र अझै कसरी राम्रो गर्न सकिन्छ भन्ने कुरामा हाम्रो टिमले गम्भीर भएर काम गरिरहेका छौं। हामी स्पोन्सरहरुसंग दैनिकी सम्पर्कमा रहेर के गरेर उहाँहरुको ब्यापार, ब्यबसायलाई अझ बढी प्रबर्दन गर्न सकिन्छ भन्ने कुरा ध्यानमा राखेर अगाडी बढेका छौं। यसो हुनाले भोलीको दिनहरुमा अझ अघिल्ला दिनहरुका कमिकमजोरीबाट सिक्दै आगामी दिनहरुमा स्पोन्सरहरबट प्रतिक्रिया लिँदै यो चुनौतीलाई कम गर्दै जाने कुरामा प्रतिबद्ध भएर लागि परेका छौं।
११. अन्त्यमा हरेक राज्यको संयोजकहरुलाई आर्थिक पोइन्ट अफ भ्यूबाट नेपाल फेस्टिवललाई आर्थिक रुपमा सवल बनाउन के कस्तो सलाह र सुझाब दिन चाहनुहुन्छ ?
सम्पूर्ण राज्य संयोजकहरुलाई मेरो आफ्नो कोषाध्यक्षको हैसियतले के भन्न चाहन्छु, भने आफ्नो प्रोजेक्टको राम्रोसंग बिभिन्न बिधाहरुमा बजेटिङ गर्नुहोस। र बजेट अनुसारको खर्च भएको छ कि छैन भन्ने कुराको ख्याल राख्नुहोस। कहिलेकहिँ समय, परिबेश र परिस्थितिले गर्दा बजेट भन्दा बढ़ी त्यो बिधामा खर्च गर्नु पर्यो भने सो खर्च परिपूर्ति गर्नको लागि अरुबाट खर्च कटौती गर्ने होकी अथवा त्यसका लागि अरु आम्दानीको स्रोत जुटाउनु पर्ने होकी भन्ने कुरामा सक्रिय भएर काम गर्नुपर्ने हुन्छ। त्यसकारण यी कुरहरुलाई ध्यानमा राखेर प्रारम्भिक तवरदेखि नै योजनाबद्ध र बजेटिङमा फोकस हुन सलाह र सुझाब दिन चाहन्छु।