Thursday, December 5, 2024
No menu items!
Homeअन्तर्वार्तानेपाली पोशाकमा सजिएर हुर्किरहेका दोस्रो पुस्ताहरुको सहभागिता: नेपाल फेस्टिवल

नेपाली पोशाकमा सजिएर हुर्किरहेका दोस्रो पुस्ताहरुको सहभागिता: नेपाल फेस्टिवल

कोभिडका कारण विगतका वर्षमा स्थगित भएको नेपाल फेस्टिवल यो वर्ष बिभिन्न राज्यमा आयोजना हुँदैछ। यसैक्रममा अष्ट्रेलियाको सिडनीमा आगामी नोभेम्बर १९ मा नेपाल फेस्टिवल हुने भएको छ। नेपाल फेस्टिवललाई भव्य,  व्यवस्थित र उद्देश्य अनुरुप सम्पन्न गर्नका लागि सिडनीबासी, आसपासमा रहेका नेपाली संघसंस्थाहरु र समग्र समुदाय तीव्र तयारीमा जुटेका छन्। विगत केहि वर्षदेखि अष्ट्रेलियालाई कर्मथलो बनाएर बस्नुभएका बिनोद कुँवर अष्ट्रेलिया आएदेखि नै नेपाली भाषा र संस्कृतिको जर्गेना गर्ने कार्यमा आफ्नो हात अगाडी बढाइरहनु भएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सचिव पदमा रहनु भएको कुँवरले नेपाल फेस्टिवल सिडनी २०२२ का लागि मिडिया संयोजकको नेतृत्व गरिरहनुभएको छ। नेपाल फेस्टिवल सिडनी २०२२ केवल पर्यटन प्रबर्द्धनका लागि मात्र नभई, नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध, अष्ट्रेलियामा हुर्किरहेको नयाँ पुस्ताका लागि आफ्नो मौलिक परिचय गराउने अवसर रहेको कुँवर बताउनुहुन्छ। बिशेष गरी नेपाल फेस्टिवल सिडनीको विषयवस्तुमा केन्द्रित रहेर आज हामीले उहाँ संग गरेको कुराकानी तल प्रस्तुत गरिएको छ।

१.नेपाल फेस्टिवल सिडनी २०२२ को माहोल कस्तो लागिरहेको छ ?
सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो इभेन्ट भएको हुँदा माहोल एकदमै उत्साहजनक नै छ। आयोजक टिमका तर्फबाट पनि साथीहरुले सबैसंग हातेमालो गर्दै आ-आफ्नो बिधामा कार्य गरिरहनु भएको छ। र यो हातेमालोमा ब्यबसायिक संस्थाको पनि साथ पाएका छौं। फेस्टिवललाई सफल बनाउनका लागि जुन तरिकाले सक्रिय रुपले लागिपर्नु भएको छ, यसलाई देख्दा साँच्चै नेपालीहरुको ठूलो पर्व आइरहेको छ जस्तो लागिरहेको छ। आशा छ, कड़ा तयारी भइरहेको हुँदा यो महोत्सब भब्य हुनेछ।

२.नेपाल फेस्टिवल सिडनी २०२२ बाट कस्तो अपेक्षा राख्नुभएको छ ?
हामीले यो फेस्टिवल गर्नुको मुख्य उद्देश्य भनेको नै नेपाललाई बिदेशी मुलुकमा चिनाउनु र नेपाली कला, संस्कृति तथा नेपाली मौलिकपन दोस्रो पुस्ताहरुमा हस्तान्त्रण गर्नु हो। यसो हुँदा पनि नेपालीपनलाई माया गर्नेहरुको सहभागिता अघिल्ला बर्षहरुमा भन्दा यो बर्ष धेरैको रहने अपेक्षा राखेको छु। लकडाउन पछिको पहिलो ठूलो कार्यक्रम र कोभिडकै कारण २०२० मा नेपाल फेस्टिवल आयोजना हुन नसकेकाले चार वर्षको अन्तरालमा नेपाल फेस्टिवल आयोजना हुँदैछ। त्यसकारण यो फेस्टिवलको धुनले एउटा नयाँ ऊर्जा लिएर आएको छ।

३.नेपाल फेस्टिवलमा सहभागी हुँदाको आफ्नो अनुभव बताइदिनुहोस न ?
नेपाल फेस्टिवलमा सहभागी हुँदै गर्दा एउटा दर्शक भएर नै गएको थिए। र यसरी सहभागी जनाउँदै गर्दा यस फेस्टिवलले झल्काउने नेपालीपन नै एकदम खास लाग्थ्यो। अहिले त आफै एनआरएनए सचिव भएको हुँदा पनि प्रत्यक्ष रुपमै संलग्न छु। प्राय: जसो हरेक नेपाल फेस्टिवलहरुमा सहभागिता जनाउने गर्छु। र त्यहाँ भएको क्रियाकलापहरुलाई आत्मसात गर्दै अझै फरक कसरी बनाउने भन्ने कामहरु नै भइरहेको छ। यहाँको बहुसांस्कृतिक समाजमा यसरी आफ्नो देशबारे बताउन पाउँदा गर्व लाग्छ। फेस्टिवलमा स्थानीय ब्यक्तिहरु आएर आफ्नो देश नेपालको बारेमा अवलोकन गरेको र अझै नेपालप्रति जान्ने उत्सुकता जनाइरहेको देख्दा अत्यन्तै खुसी लाग्छ।

४.नेपाली मौलिकपनलाई जगेर्ना गर्न नेपाल फेस्टिवल सिड्नीले कति सम्म सहयोग पुर्याएको छ ?
एकदमै पुर्याएको छ। म अष्ट्रेलिया आएदेखि अहिलेसम्मको स्थिति हेर्दा सच्चिक्कै नेपाली कला, संस्कृति झल्किने ठुलो पर्व नै यहि हो। अरु फेस्टिवलहरुमा पनि नेपाली कलाकारलाई ल्याएर कार्यक्रमहरु त गर्नु हुन्छ तर त्यो एउटा म्युजिक कन्सर्टको रुपमा मात्रै हुन्छ भने नेपाल फेस्टिवल चाहिँ म्युजिक मात्र हुँदैन पुरा नेपाललाई प्रतिनिधित्व गराउने खालको भाषासंस्कृति, मठमन्दिरहरु देखाउने र नेपालको इतिहासको बारेमा बताउने जस्ता धेरै गतिबिधिहरु हुने गर्छ, जसमा हामीले नेपालको परिचय अरु समुदायलाई चिनाउन पाउँछौं। यसले गर्दा मेरो बिचारमा नेपाली कला, संस्कृति जोगाउने सबैभन्दा ठूलो र महत्त्वपूर्ण इभेन्टस भनेको नै नेपाल फेस्टिवल हो जस्तो लाग्छ।

५.तपाईलाई नेपाल फेस्टिवलको बिशेष लाग्ने कुरा चाँही के हो ?
नेपाल फेस्टिवलमा पोशाकदेखि खानासम्ममा नेपालीपन झल्किने हुँदा समग्र नै विशेष लाग्छ। अझ फेस्टिवलमा नेपाल हाउस भन्ने हुन्छ, जहाँ नेपालीको मौलिक संस्कृति, मठमन्दिर, मूर्तिहरु ल्याएर देखाउने गर्छौं। त्यस्तै शुद्ध नेपाली खानाको स्वाद पनि लिन पाइन्छ। बुरवूड पार्कमा फ़र्फ़राइरहेको नेपाली झण्डा र नेपाली पोशाकमा सजिएर हुर्किरहेका दोस्रो पुस्ताहरुको सहभागिता देख्दा निकै गर्व लाग्छ।

६.फेस्टिवलमा प्राय के कस्ता कमि कमजोरीहरु महसुस गर्नुभएको छ र त्यसलाई निर्मुल गर्न कस्तो कदम
चाल्नु राम्रो जस्तो लाग्छ ?
नेपाल महोत्सब भनेपछि आफैँमा ठूलो पर्व हो, त्यसकारण यति ठूलो प्रोजेक्टमा काम गर्दा कहीँ कतै कमी त आउने गर्दछ। यसरी ठूलो मानिसहरुको सहभागितामा केहि कमी आउनु त सामान्य नै हो। तैपनि यो कुरालाई मध्यनजर गर्दै र कुनै पनि किसिमको कमजोरीहरु नआओस भन्ने हिसाबले नै हरेक राज्यहरुमा हुने फेस्टिवलमा सहभागिता जनाइरहेका हुन्छौं। जसले गर्दा त्यहाँ भएको कमीकमजोरीबाट केहि कुरा सिक्ने मौका मिल्ने गर्छ। त्यस्तै सिडनीलाई अरु राज्यहरुले एउटा ग्राण्डको रुपमा हेर्ने हुँदा कुनै कुराको कमी नहोस भन्ने तरिकाले कार्यहरु बिभाग गरेर अगाडी बढेका छौं। सामान्य कमीकमजोरी बाहेक अरु कुराको कमी नगर्नलाई रातदिन हामी काम गरिरहेका छौं।

७.अन्त्यमा केहि भन्न चाहनुहुन्छ ?
नेपाल फेस्टिवल हाम्रो आफ्नो मौलिक परिचय दिन पाउने उत्सब हो। यो केवल संस्थाको मात्र नभएर नेपाल र नेपालीको इतिहास, पहिचान बोकेको, कला-संस्कृतिको प्रचार गर्ने सिग्निचर ईभेन्ट हो। त्यसैले नोभेम्बर १९ मा बुरवूड पार्कमा जाऔं। र शान,मान र गौरवका लागि हाम्रो सम्पूर्ण समुदायलाई सक्रिय रुपमा सबै सहभागी बनौँ, नेपाल फेस्टिवल सिडनीको उद्देश्यलाई सफल पारौं।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments