पारस सिग्देल
गएको हप्ता मे ३ तारिक(बैशाख २०) गते अस्ट्रेलियामा संघिय चुनाव सम्पन्न भयो तर यहाँ नेपालको जस्तो भाषण र र्यालि निकै कम मात्रै देख्न पाइयो। चुनावि दाैरानमा बोलेका कुरा पूरा गर्ने संस्कृति भएरै होला मुख्य दुई पाटिका चुनावि घोषणपत्रका केही बुँदाहरुले भने राम्रै चर्चा पाईरहेका थिए। लेवर पाटिको जित सुनिश्चित भएसँगै उक्त पाटिका नेता साथै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनेजीले दोस्रो कार्यकालमा प्रवेश गर्ने भएकाछन्। लेवर पाटिले मुख्यत आठ प्रमुख राष्ट्रिय एजेन्डाहरू बारेमा अगाडि सारेको पाईयो। त्यसमध्ये पनि चारवटा अझ विशेष छन् जसले अस्ट्रेलियाको सुनाैलो भविष्य निर्धारण गर्नेवला छ, र यिनै एजेन्डाहरु हामी नेपालीका लागि पनि अध्ययनको विषय हुनसक्छ भन्ने ठानेर मैले थोरै विश्लेषण गर्ने कोसिस गरेको छु।
यि चार एजेन्डा यस्ता छन्:
“Future Made in Australia”, “Creating Opportunity through Education”,
“Securing Australia’s Place in the World”, र
“Growing Our Economy”।
यी एजेन्डाहरू केवल अस्ट्रेलियाको नीति मार्गचित्र मात्र होइनन्, यिनले एक विकसित राष्ट्र कसरी योजनाबद्ध रूपमा अघि बढ्न सक्छ भन्ने कुरा देखाउँछन्। नेपाल जस्ता विकासशील देशहरूका लागि यी नीति अवधारणाहरू गहिरो अध्ययन र आत्मसात् गर्न लायक छन्।
१. आत्मनिर्भरता र स्वदेशी उत्पादनको नीति: Future Made in Australia
आजको अस्थिर विश्व राजनीतिमा आत्मनिर्भरता कुनै विलासिता होइन, अनिवार्यता हो। अल्बनेजी सरकारको ‘Future Made in Australia’ योजनाले यही संकेत गर्छ। साथै अब अस्ट्रेलियन उत्पादनको उपभोक गर्न जनतालाई प्रोत्साहित गर्ने अभियान चल्नेछ जसका निम्ति सरकारले अस्ट्रेलियन उत्पादकहरुलाई २० मिलियन डलरको सहयोग गर्नेछ । अझ महत्त्वपूर्ण विषय अर्को छ, नविकरणिय उर्जामा लगानि। अबको नयाँ लेवरब पाटिको सरकारले नबिकरणिय उर्जाको क्षमता बिकासका निम्ति ८ विलियन डलर लगानि थप गर्ने भएको छ। यो सँगै कम उत्सर्जन प्रविधिहरु को विकासका निम्ति `Clean Energy Finance Corporation´ मार्फत अरु २ विलियन डलर लगानि गर्नेछ।
नेपालले पनि जलविद्युत, कृषि, जडिबुटी र पर्यटन क्षेत्रलाई उस्तै प्राथमिकता दिएर ‘Made in Nepal’ अभियानलाई बलियो रूपमा अगाडि बढाउन सक्छ।
२. शिक्षाद्वरा अवसरको सृजना: Creating Opportunity through Education
यो पनि लेवर पाटिले चुनावि एजेन्डाको रुपमा घोषणा गरेको विषय हो। शिक्षा केवल ज्ञानको संप्रेषण मात्र होइन, अवसर सिर्जनाको साधन हो। अस्ट्रेलियाले TAFE तालिमलाई निःशुल्क बनाउने, प्रारम्भिक शिक्षालाई सबैका लागि सरल बनाउने, र विद्यार्थी ऋण प्रणालीलाई सुधार गर्ने योजना अघि सारेको छ। अझ अचम्मको कुरा त शैक्षिक व्यवसायले अट्रेलियाको GDP मा करिव १३.४% को योगदान पुर्याएको छ, लेवरको योजना अनुसार अझै यसले निरन्तरता पाउनेछ। अन्तराष्टिय विध्यार्थिका निम्ति नरम भनेर चिनिएको लेवर पाटिकै सरकारले निरन्तरता पाएसँगै यो व्यवसाय अझै व्यापक हुनसक्ने अनुमान गर्न सकिन्छ।
नेपालमा पनि व्यवसायिक तालिमहरूलाई व्यवहारमा उतार्नुपर्ने, शुल्क राहत, र ऋणको दायित्वबाट विद्यार्थीलाई मुक्त गर्न ठोस योजना आवश्यक छ।
३. अन्तर्राष्ट्रिय कूटनीति र विश्वसनीयता: Securing Australia’s Place in the World
विश्वसामु अस्ट्रेलियाको भूमिका अझ प्रभावशाली बनाउँदै, सरकारद्वारा प्यासिफिक राष्ट्रहरूसँग साझेदारी, दक्षिण–पूर्व एसिया, निउजल्यान्ड, अमेरिका, क्यानडा, युरोपियन युनियन, आदि देशसँगको व्यापार पुनर्स्थापनाको रणनीति अपनाउने छ। राष्ट्रिय हितमा कुनै सम्झौता नगरी चिनसँगको सम्बन्धलाई स्थिर बनाउदै व्यापारको पुनःस्थापना गर्नुलाई आफ्नो विगतको सरकारको उपलब्धि मान्नुले प्रष्ट संकेत गर्छ कि आउँदा दिनहरुमा पनि अस्ट्रेलियाले चिनको साथ छाड्नेवला छैन्।
नेपालको सन्दर्भमा पनि भारत, चीन, बङ्गलादेश जस्ता छिमेकीसँग व्यापार-मैत्री, सन्तुलित र आपसी सम्मानमा आधारित सम्बन्धको पुनर्संरचना अत्यावश्यक छ।
४. आर्थिक समृद्धिको आधार: Growing Our Economy
नयाँ अस्ट्रेलिया सरकारद्वारा सबै करदातालाई कर छुट, ऊर्जा बिलमा राहत, सस्तो औषधि, र जनमैत्री स्वास्थ्य सेवामा बढोत्तरी गर्नेछ।
यी नीतिहरूले आमजनताको जीवनस्तर सुधार गर्न सघाउँनेछन्।
नेपालले पनि वित्तीय नीतिलाई जनताको हितमा केन्द्रीत गर्दै, कर संरचना सरल बनाउँदै, आधारभूत सेवामा पहुँच वृद्धि गर्ने रणनीति अवलम्बन गर्नुपर्छ।
नेपालले यसबाट के सिक्ने ?
१. नीति निर्माणमा दीर्घकालीन सोच आवश्यक छ।
अस्ट्रेलियाले लिएको दीर्घकालीन नीतिगत दृष्टिकोण नेपालमा अझै अभाव छ। सरकारले हरेक क्षेत्रका लागि ‘भिजन डकुमेन्ट’ वा ‘रणनीतिक योजना’ निर्माण गरेर त्यसैअनुसार बजेट र कानुनी आधार तय गर्नुपर्छ।
२. जनहित केन्द्रित कार्यक्रम सफल हुन्छन्।
स्वास्थ्य सेवा, रोजगारी, र सिपयुक्त सुलभ शिक्षा, आवस्यक राहत जस्ता कार्यक्रमहरू जनताको सीधा जीवनमा प्रभाव पार्ने भएकाले लोकप्रिय र प्रभावकारी हुन्छन्। नेपालमा पनि यस्ता जनमुखी योजनालाई प्राथमिकता दिनुपर्छ।
३. सार्वजनिक लगानीको पारदर्शिता र परिणाममुखी कार्यान्वयन।
अस्ट्रेलियाको योजना केवल घोषणामा सीमित छैन, स्पष्ट बजेट, समयरेखा, र नतिजामूलक मूल्याङ्कन प्रणालीमा आधारित छ। नेपालमा पनि बजेट विनियोजनमा पारदर्शिता, नागरिक सहभागीता, र योजनाको मूल्याङ्कन अनिवार्य गरिनुपर्छ।
अत: अस्ट्रेलियाको वर्तमान सरकारका नीति दस्तावेजहरू केवल विकसित राष्ट्रको बाटो मात्र होइन, विकासोन्मुख मुलुकहरूको लागि रणनीतिक झलक पनि हुन्। नेपालले यस्ता अनुभव र अवधारणाहरूलाई आफ्नो सन्दर्भमा प्रयोग गर्न सके, शिक्षा, कूटनीति, औद्योगिक नीति र जनजीवन सुधारमा दिर्घकालिन् परिवर्तन सम्भव छ।
अब समय आएको छ, नेपालले पनि ‘Future Made in Nepal’ को कल्पना गर्दै साकार पार्ने दिसातर्फ दाैडने।
सिग्देल अहिले अस्ट्रेलियामा अध्ययनरत छन्।