Tuesday, May 5, 2026
No menu items!
Homeटप-स्टोरीअष्ट्रेलियामा संघर्षशील विद्यार्थीदेखि समाजसेवामा लाग्न चाहनेहरुका लागि प्रेरणा: निराजन गौली

अष्ट्रेलियामा संघर्षशील विद्यार्थीदेखि समाजसेवामा लाग्न चाहनेहरुका लागि प्रेरणा: निराजन गौली

आफ्नो पढाइ र करियरको सपना बोकेर अष्ट्रेलिया उड्ने नेपाली विद्यार्थीहरुको लर्कोमा थपिनुभएको थियो, निराजन गौली। नेपालको सरकारी क्षेत्रमै सिभिल इन्जिनियरको रुपमा काम गरिरहेका गौलीलाई अष्ट्रेलिया आएर आफ्नो पढाइ पूरा गर्नु थियो। त्यसैले २०१२ मा मास्टर्स तहको विद्यार्थीको रुपमा उहाँ अष्ट्रेलियाका लागि उड्नुभयो।

विदेशको यात्रा भनेको जहाँसुकै भएपनि संघर्षको यात्रा हो। अष्ट्रेलियामा विद्यार्थीको रुपमा प्रवेश गरेपछि गौलीले सुरुमा किचनमा काम पाउनुभयो। त्यसको केही समयपछि गेमिंग भेन्युमा काम गर्दै पढ्न थाल्नुभयो। परिवार, बच्चा, पढाइ, काम कहाँ सजिलो थियो र ? तर गौली सकारात्मक बनेर निरन्तर लागिरहनुभयो। नेपालदेखि नै समाजसेवामा क्रियाशील उहाँ अष्ट्रेलियामा आएर पनि आफ्नो करियरको संघर्षको बावजुद पनि समाजसेवामा समेत लाग्नुभयो।

ती दिन सम्झँदै निराजन गौली भन्नुहुन्छ,”श्रीमान श्रीमती दुवैले कडा मेहनत गर्नुपर्ने अवस्था थियो। नेपालमा सरकारी क्षेत्रमा काम गर्थें भने यहाँ आएर नयाँ परिवेशमा घुलमिल हुँदै काम खोज्नुपर्ने परिस्थिति थियो। छोरी सानी थिइन्। फेरी त्यो बाहेक मेरो मन समाजसेवामा पनि थियो। धेरैजसोलाई आफू सेटल भएपछि समाजसेवामा समय दिउँला भन्ने हुन्छ। तर म भने नौ महिनाकी छोरी बोकेर सामाजिक काममा सहभागी हुन्थें। त्यहाँ गएपछि समुदायमा पनि घुलमिल भइन्थ्यो भने सामाजिक काममा पनि आफूले योगदान दिन सकिन्थ्यो। त्यसैले म सक्रिय रुपमा सहभागी हुन्थें। यसको लागि म मेरो परिवारप्रति कृतज्ञ छु। परिवारले साथ नदिएको भए मैले त्यसरी सामाजिक काममा समय दिन पाउँदिनथे। म आज जे छु, परिवारले मलाई बुझिदिएका कारण, परिवारले साथ दिएका कारण भएको हूँ”।

नेपालमा सरकारी क्षेत्रमा काम गरेको अनुभवका कारण गौलीले मास्टर्स तह सकेपछि सरकारी क्षेत्रमा नै जागिर पाउनुभयो। अष्ट्रेलियाको सरकारी क्षेत्रमा ६ वर्ष जागिरे भएपछि उहाँलाई आफ्नै व्यवसाय गर्ने सोंच पलायो। जसअनुरुप हाल उहाँले जेनी कन्स्ट्रक्सन कम्पनी संचालनमा ल्याउनुभएको छ भने सडक बनाउने ठूलो कन्सट्रक्सन कम्पनीमा ईन्जिनियरिङ म्यानेजरको रुपमा समेत कार्यरत हुनुहुन्छ। यसका साथै गौलीले आफ्नो पढाइ तथा सिकाईलाई अहिले पनि निरन्तरता दिइरहनुभएको छ। हाल उहाँ लाट्रोब युनिभर्सिटीमा पीएचडीको विद्यार्थी समेत हुनुहुन्छ।

सामाजिक क्षेत्रमा समेत आफ्नो पहिचान बनाउनुभएका निराजन गौली २०१५ मा सरकारी क्षेत्रमा जागिर गर्न थालेपछि समाजसेवामा अझै बढी क्रियाशील हुन थाल्नुभएको थियो। नेपाली सामाजिक संस्था अष्ट्रेलिया नेपाल पब्लिक लिंक (ANPL) मा उहाँको क्रियाशीलता यसको उदाहरण हो। उहाँ २०१७ देखि यता अष्ट्रेलिया नेपाल पब्लिक लिंकमा अध्यक्षको रुपमा रहनुभएको छ। अष्ट्रेलिया नेपाल पब्लिक लिंकले नेपाली समुदायका लागि मानसिक स्वास्थ्यसंग सम्बन्धि सचेतना कार्यक्रम र मानसिक स्वास्थ्य सम्बन्धि प्राथमिक उपचार तालिम, सडक सुरक्षा सम्बन्धी विभिन्न कार्यक्रम तथा ड्राइभिंग कक्षादेखि पानी सुरक्षासम्मका विभिन्न कार्यक्रम गर्दै आएको छ।

अष्ट्रेलिया नेपाल पब्लिक लिंक बाहेक निराजन गौली २०१३ देखिबाट नै गैरआवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको विभिन्न पदमा रहेर काम गर्दै आउनुभएको छ। २०१७ देखि १९ सम्म एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय समन्वय समिती सदस्य एवं स्किल नलेज एण्ड इनोभेसनमा उहाँले सचिव पदको कार्यभार सम्हाल्नुभएको थियो। त्यस्तै उहाँ भिक्टोरियामा रहेका एएनएमसी लगाएत विभिन्न संस्थाहरुमा पनि आबद्ध हुनुभयो भने २०१९ देखि एनआरएनए अष्ट्रेलियाको विधान समितिमा रहेर काम गर्दै आउनुभएको छ।

आफ्नो यो यात्राको बारेमा बताउँदै निराजन गौली भन्नुहुन्छ, ” मैले यहाँको काउन्सिलमा ईन्जिनियर जागिरको लागि एक सय भन्दा बढी ठाउँमा एप्लिकेसन दिएपछि बल्ल जागिर पाएको थिएँ। र, ‘तिमीले त मैलेभन्दा कम ठाउँमा एप्लिकेसन दिएर पनि राम्रो जागिर पाएछौ’ भन्ने साथीहरु पनि भेटें “। उहाँ थप्नुहुन्छ, ” गाह्रो छ, तर असम्भव छैन। हामीहरु सबैले कामलाई महत्व दिने भएर पनि होला नेपालीहरुले आफ्नो क्षेत्रमा आफूलाई अब्बल सावित गरेको देखिन्छ। आफ्नो प्यासन, स्किल र पढाइलाई ख्याल राख्दै लगावका साथ काम गर्दै जाने हो भने नेपाली विद्यार्थीहरु धेरै अगाडी बढ्न सक्छन् “।

अष्ट्रेलिया आउँदा विद्यार्थीले मेरो स्किल यस्तो छ, मेरो स्किल सेट अनुसार नभएको यस्तो काम गर्दिन भन्ने सोंच राख्न नहुने तर आफ्नो पढाई र स्किल अनुसारको कामको लागि खोजी गर्दै जानुपर्ने गौली बताउनुहुन्छ। त्यसो भयो भने त्यो काम गर्दागर्दै सम्भावनाक नयाँ ढोका खुल्न सक्छन् । पहिले जे काम पाइन्छ, त्यो गर्दै जानुपर्छ र आफ्नो स्किल, पढाइ र सपनालाई छोड्नुहुन्न। जस्तोसुकै काम गरेपनि जब यहाँको प्रविधि तथा कामको कल्चरको बारेमा अपडेट भइन्छ, पढाइ पूरा हुन्छ, नयाँ कुराहरु सिकिन्छ, तब राम्रो जागिर मिल्छ र स्वरोजगार पनि बन्न सकिन्छ साथै प्रगतीको ढोका खुल्छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments