Monday, May 12, 2025
No menu items!
Homeअष्ट्रेलियाक्रिकेट ब्लास्ट: नेपाली समुदायका बालबालिकाको लागि निर्माण हुँदैछ जग

क्रिकेट ब्लास्ट: नेपाली समुदायका बालबालिकाको लागि निर्माण हुँदैछ जग

व्यक्तिको रुची तथा क्षमताको पहिचान र करियर निर्माणको लागि बाल्यकालदेखि मिल्ने वातावरणले अहम् भूमिका खेल्ने गर्छ। बालबालिकामा आज भरिएको ज्ञान र चासोले उनीहरुको भोलिको बाटो तय गर्न सक्छ। अष्ट्रेलियामा रहेको नेपाली समुदायले पनि नयाँ पुस्ता अर्थात् बालबालिकाका लागि नेपाली भाषा, कला, संस्कृतिको ज्ञानदेखि लिएर विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ। यसैअनुरुप मेलबर्नमा जुनियर क्रिकेट ब्लास्ट शुरु भएको छ।

क्रिकेट भिक्टोरिया अन्तर्गत रजिस्टर भएको पहिलो क्रिकेट क्लब ‘द हिमालयन क्लब’ले क्रिकेट भिक्टोरियाको सहयोगमा बालबालिकाको लागि क्रिकेट ब्लास्ट शुरु गरेको हो। कार्यक्रमका संयोजक तारा गैरे भन्नुहुन्छ, ” बालबालिकालाई खेल्न सिकाउने भन्दा पनि, क्रिकेट खेल कस्तो खेल हो भन्ने कुराहरु सिकाउने तथा क्रिकेट खेलप्रति बालबालिकाको रुची जगाउने उद्देश्यले आयोजना गरिएको यो आधारभूत तालिम हो। यो तालिम अवधिभर बालबालिकालाई रमाइलो तरिकाले, क्रिकेटका नियमहरू र खेलका सिप सिकाइनेछ “।

पाँचदेखि आठ वर्ष उमेर समूहका बालबालिकाको सहभागिता रहने क्रिकेट ब्लास्टको पहिलो हप्ताको कार्यक्रम अर्थात पहिलो सेसन सम्पन्न भएको छ। संयोजक गैरेले पहिलो सेसनमा टाढा-टाढाबाट पनि बालबालिकालाई लिएर अभिभावकहरु आउनुभएको देख्दा आफूहरुलाई हौसला मिलेको बताउनुहुन्छ। पहिलो सेसनमा ५४ जना बालबालिका सहभागी भएका थिए।

सेसनमा सहभागी बालिकाका अभिभावक निराजन गौली भन्नुहुन्छ, ” बालबालिकालाई नेपाली समुदायमा घुलमिल हुँदै क्रिकेटप्रति जानकारी लिने राम्रो अवसर जुराइदिएकोमा म आयोजकप्रति आभारी छु। त्यहाँ सहभागी हुँदै गर्दा, मैले के अनुभव गरें भने बच्चाहरुले खेलसंगै साथीहरु बनाउन, नेपाली समुदायको वातावरणमा घुलमिल हुन, नयाँ कुरा सिक्न पनि पाउनेछन्। खेलतर्फको कुरा गर्दा, मेरी छोरीलाई क्रिकेटप्रति पहिले चासो थिएन, तर अहिले टिभीमा क्रिकेट आउँदा पनि उनी चासो दिएर हेर्ने गर्छिन् “।

उहाँ थप्नुहुन्छ, ” यो कार्यक्रमले बालबालिकालाई मात्र नभएर हाम्रो लागि पनि राम्रो अवसर जुराइदियो। कोरोना महामारीले गर्दा सबैजना निराश भएको, समस्या झेलिरहनु परेको अवस्था छ। यस्तो अवस्थामा अभिभावकहरु लामो समयपछि यसरी भेट हुँदा हामीले आफ्ना दु:ख-सुखका कुरा गर्यौं। सम्बन्ध विस्तार गर्यौं। यसको लागि म अभिभावकहरुको तर्फबाट हिमालयन क्लबलाई धन्यवाद दिन चाहन्छु”।

यस्तै, अर्का अभिभावक बबिन मिश्रले यो तालिमले बालबालिकालाई खेल क्षेत्रमा करियर निर्माण गर्नमा सघाउ पुग्नेमा आफू विश्वस्त रहेको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, ” नेपाली समुदायका बालबालिकाको लागि यो सुवर्ण अवसर हो। बालबालिकाहरु एकदमै रमाउंदै खेलबारे सिकिरहेका थिए। यो कार्यक्रमले क्रिकेट खेलप्रति उनीहरुको रुची बढाएको छ। यो तालिमले बालबालिकालाई राम्रो खेलाडी बन्न सक्ने आधार तयार गरिदिनेमा हामी अभिभावक ढुक्क छौं “। उहाँ थप्नुहुन्छ, “यो तालिमले समग्र नेपाली समुदायको समृद्धिमा सहयोग पुर्याउनेछ। यसको लागि म विशेषगरी संयोजक तारा गैरे र हिमालयन क्लबलाई धन्यवाद दिन चाहन्छु”।

हिमालयन क्लब बालबालिकालाई यो तालिममा मात्र सिमित गर्न चाहन्न। अभिभावकहरुको भरोसा तथा साथप्रति आभार व्यक्त गर्दै हिमालयन क्लबका अध्यक्ष केशव सापकोटा भन्नुहुन्छ, ” हामीले आगामी वर्ष १० वर्ष मुनीका बालबालिकाको क्रिकेट क्लब निर्माण गर्ने योजना बनाएका छौं। त्यसपछि समुदाय स्तरमा प्रतियोगिताको आयोजना गर्ने बारेमा पनि योजना बनाउंदै छौं। यो आँट र ऊर्जा हामीलाई अभिभावक, समुदायका अग्रज तथा अगुवाहरु, क्रिकेट अष्ट्रेलिया, क्रिकेट भिक्टोरिया, संचार माध्यम लगायत सम्पूर्णको साथ र सहयोगले मिलेको हो “।

क्रिकेट ब्लास्टमा हिमालयन क्लबका हरि कंडेल, केशव पन्त, सुशील बस्नेत, निश्चल कंडेल, कोचको रुपमा रहनुभएको छ। संयोजक तारा गैरेले उहाँहरुलाई अन्य क्लबका स्वयंसेवकहरुले समेत सघाइरहनुभएको बताउनुभयो। त्यस्तै, तालिममा जुनियर पाटिसीपेसन स्पेसलिस्टको रुपमा क्रिकेट भिक्टोरियाका Owen Hulett र इन्क्लुजन पाटिसीपेसन अफिसरको रुपमा क्रिकेट भिक्टोरियाकै Rohail Akhtar रहनुभएको छ।

हिमालयन क्लबले बालबालिकाका लागि क्रिकेट कार्यक्रमको आयोजना गरेको यो तेस्रो कार्यक्रम हो। र, सहभागिताको हिसाबले यो सबैभन्दा ठूलो कार्यक्रम हो। यो कार्यक्रम तथा तालिमको लागि ६० जना बालबालिकाले नाम दर्ता गराएका छन्। तालिम आगामी अप्रीलको ४ तारिख सम्म साताको हरेक मंगलबार साँझ ६ बजे देखि ७ बजे सम्म सञ्चालन हुनेछ। यस तालिममा क्रिकेट अष्ट्रेलियाबाट बालबालिकाहरुको लागि नि:शुल्क क्रीकेट ब्याट, ब्याग, टि-सर्टको व्यवस्था समेत रहेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments