Sunday, April 27, 2025
No menu items!
Homeटप-स्टोरीरोशन धौभडेलको नयाँ गीत ‘पीडा’ श्रब्य दृश्य सार्वजनिक

रोशन धौभडेलको नयाँ गीत ‘पीडा’ श्रब्य दृश्य सार्वजनिक

काठमाडौं। गायक संगीतकार रोशन धौभडेलको नयाँ गीत ‘पीडा’ श्रब्य दृश्य सार्वजनिकरण भएको छ। भक्तपुर कटुन्जेका स्थानीय गीतकार उत्कल चालिसेको शब्द रहेको ‘पीडा’ गीत तथा त्यस्को म्युजिक भिडिओ बिहीबार एक कार्यक्रमबीच भक्तपुरमा सार्वजनिक गरिएको छ। नेपालकै संभवत प्रथम ब्याण्ड “प्रीज्म”का ड्रमर देव रानाको प्रमुख आतिथ्यमा गीतको सार्वजनिक गरिएको हो। यस गीतको स्वर र संगीत रोशन धौभडेलको रहेको छ भने संगीत संयोजनको काम प्रमोद परियारले गरेका हुन। आभाश्री प्रोडक्सनको ब्यानरमा तयार भएको म्युजिक भिडिओ निर्माणमा कन्सेप्ट तथा निर्देशन समेत गायक धौभडेलको नै रहेको छ। उच्च शिक्षा हासिलका लागि बिदेसिएका तथा राम्रो रोजगारीका लागि परदेश पुगेका आम नेपालीहरुको पीडालाई यस गीत र यसको म्युजिक भिडिओमार्फत प्रस्तुत गर्ने कोसिस गरिएको छ। नेपाली राष्ट्रिय गान “श्रीमान गंभीर”का रचयिता चक्रमान चालिसेका गाउँले गीतकार चालिसे स्वयम् रोजगारीको लागि हाल लब्जेम्बर्गमा छन्। लब्जेम्बर्गस्थित एक फाइनान्सियल इन्डस्ट्रिजमा कार्यरत चालिसेका आमाबुबा, श्रीमती र छोराछोरी सबै नेपालमै छन् । घरपरिवार र आफन्तसँग विछोडिएर परदेशमा जाँदा हुने पीडालाई उनले गीत मार्फत ब्यक्त गर्ने प्रयास गरेका छन्। म्युजिक भिडिओमा समेत उत्कल फिचरिङ भएका छन्। गीत तथा म्युजिक भिडिओ सार्वजनिक गर्दै वरिष्ठ बाद्यबादक तथा कार्यक्रमका प्रमुख अतिथि रानाले गीत मन छुने खालको रहेको भन्दै सबैले आफूभित्र गुम्सिएको पीडालाई सहज रुपमा व्यक्त गर्न नसक्ने त्यो साहस कम ब्यक्तिमा हुने बताए। पीडा गीतको हकमा गीतकार चालिसे सफल भएको उनले बताए।

कार्यक्रममा “चोट के हो ब्यथा के हो?”, “जति चोट दिन्छौ देउ मायालु” लगायतका चर्चित गीतका गीतकार वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेलले यो पीडा गीत बजारमा चलिरहेको धार भन्दा ठिक विपरीत रहेको सुनाउँदै भने, ‘गीत राम्रो बनेको छ। कम बजेटमा पनि उत्कृष्ट गीत बन्छ भन्ने यो एउटा राम्रो उदाहरण हो।’

उनले बिग हाउस र कर्पोरेट हाउसको हानथापले गर्दा कम बजेटका राम्रा गीतहरु समेत ओझेलमा पर्ने गरेको बताए।

त्यस्तै कार्यक्रममा पाहुना संगीतकार एवं गायक राजनराज सिवाकोटीले आफूलाई पनि आधुनिक र सुगम गीत गाउन र संगीत गर्न मन लागे पनि उपयुक्त मौका नमिले सुनाए। उनले अघिल्लो पुस्ताले गाएका आधुनिक एवं सुगम गीत जस्तो नयाँ पुस्ताको गीत कालजयी प्रकारको नभएको बताए।

‘नयाँ पुस्ताका आधुनिक एवं सुगम गीतहरु चर्चामा छैनन्। बजारमा यस्ता गीत सुन्न पाइँदैन’, सिवाकोटीले भने, ‘किन छायाँमा परे, शब्द, संगीत र गायनमा कमी भयो कि मेहनत पुगेन कि ? खोजी गर्नु सबै संगीतकर्मीको दायित्व रहेको छ।’

उनले पनि गीतकार उत्कल चालिसे राम्रो रहेकोले गीत संगीत भरेर गाउन लागेको कुराको खुलासा गरे र सो गीतको बोल ‘म बुढो भएको बेला’ रहेको सिवाकोटीले कार्यक्रममा जानकारी गराए।

गायक धौभडेलले २ वर्षअघि नै गीत प्राप्त भए पनि शब्द मिलाउन, कम्पोज भैइ गीत तयार हुने भने समय लागेको सुनाए । उनले यसअघि करिब दुई दर्जन गीत गाइसकेका छन्। ‘वन्ली यू’ नामक एकल गीती एल्बम ४ बर्ष अघि ल्याइसकेका रोशनले एउटा राष्ट्रिय र अर्को नेवारी गरी दुइटा गीतको म्युजिक भिडिओ तयार गर्ने काम भइरहेको सबैलाई जानकारी गराए।

कार्यक्रममा गीतकार उत्कलका दाजु शिशिर चालिसे र भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रवीण शाहीले गीत र म्युजिक भिडिओबारे चर्चा गरेका थिए । गीतकाे म्युजिक भिडिओ आभाश्री प्राेडक्सनकाे अफिसियल युट्युब च्यानलमा आजै सार्वजनिक गरिएकाे हो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments