Wednesday, April 22, 2026
No menu items!
Homeनेपाल खबरमुस्ताङको घरपझोङ गाउँपालिकाद्वारा ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालन

मुस्ताङको घरपझोङ गाउँपालिकाद्वारा ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालन

म्याग्दी, ३१ भदौः मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालनमा ल्याएको छ । घरपझोङको पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले आफ्नो सुविधाबाट सो अभियान सञ्चालन गर्नुभएको हो । अध्यक्षको तलब सुविधाबापतको रकमबाट ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालन भएको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिनुभयो । “पाँच वडा रहेको घरपझोङको सबै बस्तीलाई रातको समयमा उज्यालो बनाउन अध्यक्षले पाउने सेवा सुविधाबापतको रकमबाट ‘स्टेप लाइट’ किनेर विद्युत्को पोलमा जडान गरिएको छ”, उहाँले भन्नुुभयो, “वडा नं १ को छैरो, चिमाङ र वडा नं ३ को पुथाङ एयरपोर्टबाहेकका धेरै ठाउँमा सडकबत्ती जडान भएको छ ।” ठिनी, जोमसोम, एक्केभट्टी, स्याङ र मार्फामा बत्ती जडान गरेर रातको समयमा झिलीमिली बनाइएको छ । सडकबत्तीको महसुल गाउँपालिकाले ब्यहोर्ने निर्णय भएको छ । घरपझोङका बस्ती रातको समयमा झलमल्ल र मनमोहक देखिन्छन् । बाँकी ठाउँमा पनि बत्ती जडानको तयारी गरेको अध्यक्ष लालचनले बताउनुभयो । पर्यटकीय बस्तीको सौन्दर्यकरण र सुरक्षाका लागि चुनावको समयमा गरेको प्रतिबद्धताअनुसार सडकबत्ती जडान गरेको लालचनले बताउनुभयो । “मैले जनप्रतिनिधिको हैसियतमा प्राप्त गर्ने सेवा सुुविधाबापतको रकमलाई कार्यपालिकाको बैठकले गर्ने निर्णयानुसार आवश्यक ठाउँ र योजनामा खर्च गरेको छु”, उहाँले भन्नुभयो, “निर्वाचित भएको करिब साढे दुई वर्षको अवधिमा करिब रु छ लाख सामाजिक क्षेत्रमा खर्च भएको छ ।” व्यावसायिक पृष्ठभूमिका लालचन नेपाली कांग्रेसबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बन्नुभएको थियो । गण्डकी प्रदेशका गाउँपालिकाका अध्यक्षले मासिक रु ३६ हजार दुई सयका दरले पारिश्रमिक पाउने नीतिगत व्यवस्था छ । घरपझोङका सबै बस्तीको डाँडामा विद्युतीय होडिङ बोर्ड राख्न थालिएको छ । बेनी–जोमसोम–कोरला सडक र पोखरा–जोमसोम हवाई उडानका क्रममा देखिने गरेर मार्फा र स्याङमा मेटलको विद्युतीय होडिङ बोर्ड राखिएको छ । जोमसोम र ठिनीमा पनि सो बोर्ड राखिने गाउँपालिकाले जनाएको छ । गाउँको पहिचानका साथै पाहुनाहरूले चिन्न सजिलो हुने अपेक्षा गरिएको छ । अध्यक्ष लालचनले सेवा सुविधाबापत पाएको रकमबाटै जोमसोममा रहेको मातृचक्रलाई रङरोगन र व्यवस्थापन गरिएको छ । करिब २० वर्षअघि एक जना जर्मन नागरिकले ढुङ्गाको पर्खाल चिनेर गोलो आकारको बनाएका थिए । मातृचक्रलाई गाउँपालिकाले आमाको गर्भमा हुँदाको कल्पना गर्न मिल्ने गरी घुम्ने र आमाको सम्मान गर्ने ठाउँको रुपमा विकास गर्न खोजेको जनाएको छ । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments