Wednesday, April 22, 2026
No menu items!
Homeनेपाल खबरबाँकेमा रगतको मागअनुसार आपूर्ति हुन सकेन

बाँकेमा रगतको मागअनुसार आपूर्ति हुन सकेन

नेपालगञ्ज (बाँके), ३१ भदौः बाँकेका विभिन्न अस्पतालमा रगतको अभाव हटाउन यहाँ दिनहुँजसो रक्तदान हुन थालेको छ । रगतको मौज्दाद नहुँदा बाँकेमा रगतको अभाव देखिन थालेपछि विभिन्न सङ्घसंस्थाको अग्रसरतामा रक्तदान हुन थालेको नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ । केही दिनयता विभिन्न सङ्घसंस्थाले रक्तदान कार्यक्रम आयोजना गरेकाले रगतको अभाव नभएको केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले तत्काल रगतको अभाव नभए पनि विभिन्न सङ्घसंस्थाले कार्यक्रम नगर्दा समस्या आउने देखिएको छ, त्यसैले रक्तदान भइरहेको छ ।” प्रमुख रेग्मीले नेपालगञ्ज मेडिकल सहरका रूपमा रुपान्तरण भएको उल्लेख गर्दैै रेडक्रसका खजुरा, कोहलपुर, नेपालगञ्ज कार्यालयबाट दैनिक ७० देखि ८० पिन्ट रगतको माग हुने गरेको बताउनुभयो । जिल्लामा सिकलसेल, थालसेमियालगायत बिरामीलाई रगत आवश्यक पर्ने भएका कारण बाँकेमा रगतको मागअनुसार आपूर्ति नभएको उहाँको भनाइ छ । विभिन्न सङ्घसंस्थाले रक्तदान कार्यक्रम गर्ने जानकारी दिएकाले केही दिन माग धान्न सकिने जानकारी दिँदै प्रमुख रेग्मीले विभिन्न समूहको गरी करिब ५० पिन्ट बढी रगत मौज्दातमा नरहेको बताउनुभयो । जिल्लाका विभिन्न अस्पतालमा सोभन्दा बढी रगत आवश्यक पर्ने गरेकाले पूरा गर्न नसकिने हुँदा समस्या चर्किँदै गएको बताइएको छ । मानव धर्म सेवा समाज, जनमत अर्ध साप्ताहिक, खजुराको धवलागिरि विद्यालय, संविधान दिवसमा कर्मचारी, असोज ४ गते लायन्स क्लबले रक्तदान गर्न लागिएको छ । रक्तदान गर्नेले केन्द्रमा आवश्यक समूहको रगत नरहेमा रक्तदान गर्दा पनि माग गरेको समूहका रगत पाउने अवस्था नरहेको बताइएको छ । यसले सामाजिक सञ्जालमा पछिल्ला दिनमा रगत समूह उल्लेख गरेर रक्तदानको आह्वान गरिएको रक्तसञ्चार केन्द्रले जनाएको छ । त्रैमासिक रूपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आउनुभएका जनमत अर्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले रक्तसञ्चार केन्द्र पुग्दा रगतको अभाव रहेको औँल्याउँदै केही दिनअघि रक्तदान गरेर ४० पिन्ट रगत सङ्कलन गरेको बताउनुभयो । उहाँले रगतको अभाव हटाउन पुनः सङ्घसंस्थासँग समन्वय गरेर रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिनुभयो । सो रक्तसञ्चार केन्द्रले नेपालगञ्ज, कोहलपुर र खजुराका अस्पतालमा रगत उपलब्ध गराउँदै आएको छ । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments