Tuesday, April 28, 2026
No menu items!
Homeनेपाल खबरनास्ट र महासङ्घबीच वैज्ञानिक सहकार्यका लागि छलफल

नास्ट र महासङ्घबीच वैज्ञानिक सहकार्यका लागि छलफल

काठमाडौँ, २४ पुसः नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)बीच मुलुकको औद्योगिक विकासका लागि वैज्ञानिक सहकार्य गर्ने विषयमा छलफल भएको छ । नाष्टका तर्फबाट महासङ्घसँग सहकार्यका लागि विभिन्न अनुसन्धान तथा विकास, प्रविधि नवप्रवर्तनका निम्ति सञ्चालित विद्यावारिधि शोधवृत्ति र छात्रवृत्ति, अनुसन्धान अनुदानमा सहकार्य गर्ने प्रस्ताव पेस भएको छ । नास्टका उपकुलपति प्राध्यापक डा दिलीप सुब्बा र महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच सहकार्यका विविध क्षेत्रबारे छलफल भएको हो । नास्टले महासङ्घसँग गरेको प्रस्तावमा नवप्रवर्तन वृत्ति, युवा वैज्ञानिकलाई अनुसन्धान सहयोग, ब्रेन पुलिङ, स्नातकोत्तर शोध अनुदान, वैज्ञानिक सङ्घसंस्था आर्थिक सहयोग, वैज्ञानिक यात्रा अनुदान, विद्धतवृत्तिजस्ता कार्यक्रम सञ्चालनमा औद्योगिक क्षेत्रले आर्थिक योगदानमार्फत साझेदारको भूमिका गर्न सक्ने विषय छन् । यस्तै उद्योग क्षेत्रबाट इच्छा गरिएका विषयमा उद्योगको प्रायोजनमा नास्टबाट अनुसन्धान तथा विकास परियोजना सञ्चालन गर्न सकिने, अनुसन्धान तथा विकास इकोसिस्टम तथा इनोभेसन इकोसिस्टम सेन्टरको स्थापना र सञ्चालनमा साझेदारी तथा नवप्रर्वतनलगायत विषयमा नास्टले महासङ्घसँग सहकार्यका लागि प्रस्ताव गरेको छ । छलफलमा महासङ्घका अध्यक्ष ढकालले नास्टले महासङ्घसँग गर्न खोजेको सहकार्यका विषय स्वागतयोग्य भएको बताउँँदै प्रस्तावित विषयमा अध्ययन गरेर अघि बढ्न सकिने बताउनुभयो । यस्तै (नास्ट) का उपकुलपति प्रा डा सुब्बाले नास्टले प्रस्तावित गरेका विषयमा सहकार्य गर्नसके देशको औद्योगिक विकासमा सकारात्मक योगदान गर्न सकिने बताउनुभयो । “हामीसँग वैज्ञानिकहरुको टोली छ । देश विदेशमा रहेका अन्य वैज्ञानिकहरु पनि सम्पर्कमा हुनुहुन्छ । उहाँहरु सबैको ज्ञानलाई अनुसन्धान तथा विकासमा लगाउन सकिन्छ । यसका लागि महासङ्घ नै उपयुक्त संस्था हो भन्ने हामीलाई लागेको छ”, उहाँले भन्नुभयो । —

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments