Tuesday, April 28, 2026
No menu items!
Homeनेपाल खबरएकीकरण टर्च र्‍याली’ शुभघाटमा

एकीकरण टर्च र्‍याली’ शुभघाटमा

त्रिशूली (नुवाकोट), २४ पुसः नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ मङ्गलबार नुवाकोट आइपुगेको छ । धादिङको भर्‍याङभुरुङ हुँदै सामरीबाट नुवाकोट प्रवेश गरेको र्‍याली विदुर नगरपालिका–१० स्थित शुभघाटमा आएर बास बसेको हो । र्‍याली सामरीभञ्याङ, कागुने हुँदै शुभघाट आइपुग्दा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठसहितका जनप्रतिनिधि र स्थानीयले स्वागत गरेका थिए । नगर प्रमुख श्रेष्ठले नेपाली सेनाले आयोजना गरेको पदयात्राले इतिहासको जगेर्ना, पुर्खाले पुर्‍याएको योगदानको संरक्षण र पुरातात्विक, धार्मिक एवम् ऐतिहासिक संरचनाको जगेर्ना गर्दै पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । तत्कालीन समयमा नुवाकोटको त्रिशूलीदेखि धादिङतर्फ गोर्खा राज्य र काठमाडौँतर्फ कान्तिपुर राज्य कायम थियो । पृथ्वीनारायण शाहका बुबाले पहिलो पटक नुवाकोटमाथि गरेको आक्रमण बिफल भएपछि शाहले दोस्रो पटकको प्रयासमा नुवाकोटबाट विजयी हासिल गरेर सुरु भएको अभियानले नेपाल एकीकरण सम्भव भएको थियो । कान्तिपुर राज्यको अधिनमा रहेको नुवाकोटमाथिको विजयपछि पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकासहित अन्य राज्यमाथि विजयी हासिल गर्नुभएको थियो । सोही क्रममा उहाँले पछ्याएको पदमार्गको संरक्षण, पर्यटक प्रवद्र्धन र वीर पुर्खाले पुर्‍याएको योगदानको सम्मानस्वरुप युवापिँढीमा राष्ट्रभाव उत्पन्न गराउन ‘एकीकरण मार्ग पदयात्रा’ सञ्चालनमा ल्याइएको नेपाल सेना नुवाकोटका गणपति (प्रमुख सेनानी) विष्णु कार्कीले बताउनुभयो । पदमार्गमा पर्ने कोटघर, गढी, किल्लालगायतका ऐतिहासिक तथा धार्मिक महत्वको संरचनाको सम्वद्र्धन, संरक्षण, प्रवद्र्धन र प्रचारमा उल्लेख्य सहयोग पुग्नेमा विश्वास व्यक्त गरिएको छ । गोर्खाली फौजले विसं १८०१ असोज १५ मा नुवाकोटमाथि जित निकालेपछि काठमाडौँ उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणमा पाएको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गास्न सफल भएको सन्देश एकीकरण पदयात्रामार्फत दिन खोजिएको छ । र्‍यालीमा सहभागी सैनिक पृथ्वीनारायण शाहको समयमा उहाँको सैनिक फौजले प्रयोग गरेको जस्तै पोशाक र हातहतियारले सजिएका छन् । गोरखा दरबारबाट निकालिएको ‘एकीकरण टर्च र्‍याली’मा पृथ्वीनारायण शाहले नै स्थापना गरेको नेपाली सेनाका प्रथम पाँच कम्पनी श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुजका झण्डा, नेपालको राष्ट्रिय झण्डा र बाजागाजा प्रयोग गरिएको छ । उक्त र्‍याली आज केउरिनी चौतारो हुँदै साततले दरबार पुग्ने र त्यहाँबाट धरमपानी, शेरा दरबार, बरबन्दी, चतुराले, ककनी हुँदै शुक्रबार काठमाडौँ प्रवेश गर्नेछ । काठमाडौँको सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा यही पुस २७ गते विशेष कार्यक्रम आयोजना गरी र्‍याली समापन गरिने नेपाली सेनाले जनाएको छ । —

Powered By  Orson Infotech

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments