Wednesday, April 29, 2026
No menu items!
Homeनेपाल खबरबजेट अभाव हुँदा खानेपानी आयोजना अलपत्र

बजेट अभाव हुँदा खानेपानी आयोजना अलपत्र

कञ्चनपुर, २ पुसः जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिमा पाँच वर्षदेखि निर्माण सञ्चालन गरिएको खानेपानी आयोजना बजेट अभाव हुँदा सम्पन्न हुन सकेको छैन । खानेपानी आयोजना निर्माण अधुरो हुँदा स्थानीय असुरक्षित हेण्डपम्पको पानी पिउने बाध्य भएका छन् । गर्जमुनि खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष दीपेन्द्रकुमार भण्डारीले आयोजना निर्माण गर्न खानेपानी डिभिजन कार्यालय कैलालीबाट चार वर्षअघि रु ३४ लाख ८१ हजार पाँच सय ८० अनुदानबापत रकम प्राप्त भएको जानकारी दिनुभयो । उहाँका अनुसार सो रकमबाट ठेक्का प्रक्रियामार्फत पर्खाल, पालेघर तथा बोरिङ निर्माण गर्न रु २५ लाख रकम खर्च भएको छ । त्यसपछिका वर्षमा आयोजनाका लागि बजेट नआउँदा निर्माण अलपत्र परेको भण्डारीले बताउनुभयो । पाँच सय १५ जना उपभोक्ताबाट अक्षयकोष स्थापनाका लागि रु एक हजार तीन सयका दरले रु छ लाख ६९ हजार पाँच सय रकम सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो । मुद्दती खातमा राखिएको अक्षयकोषको रकम हाल रु सात लाख ५८ हजार पुगेको छ । “सुरुको वर्ष आयोजना निर्माणका लागि जग्गा खोज्नमा बित्यो”, समितिका अध्यक्ष भण्डारीले भन्नुभयो, “त्यसपछिका तीन वर्ष कोरोना महामारीले काम अगाडि बढ्न सकेन, आयोजना निर्माणका लागि आवश्यक बजेट विनियोजन नहुँदा पछिल्ला वर्ष कामले तीव्रता पाउन सकेको छैन ।” समितिले पूर्णता नपाउँदा पनि काम प्रभावित भएको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँका अनुसार आयोजनाका लागि शिवशङ्कर माध्यमिक विद्यालयको चलनभोगमा रहेको पाँचकठ्ठा जग्गा प्राप्त भएको भन्दै सोही जग्गामा आयोजनाका संरचना निर्माण भइरहेका छन् । पक्की पर्खाल, पालेघर र एउटा बोरिङ गाड्ने कार्य पूरा भएको जानकारी दिँदै अध्यक्ष भण्डारीले अर्को बोरिङ गाड्ने, कार्यालय भवन, ओभरहेड ट्याङ्की, पाइपलाइन विस्तार र शौचालय निर्माण गर्न बाँकी रहेको बताउनुभयो । “निर्माण भइसेकेको पर्खाल दैविक प्रकोपका कारण क्षति पुगेको छ”, उहाँले भन्नुभयो, “बजेट अभावले मर्मत गर्न सकेका छैनौँ, आशा गरेअनुरुप कार्य अगाडि बढाउन नसकिँदा सबै उपभोक्ताबाट अक्षयकोषको रकम सङ्कलन हुन सकेको छैन, अहिले समितिलाई पूर्णता दिन लागिरहेका छौँ । बाँकी काम चाँडै अगाडि बढाउने छौँ ।” अध्यक्ष भण्डारीका अनुसार चालु आवमा आयोजनाका बाँकी काम गर्न रु ४० लाख बजेट विनियोजन भएको छ । उक्त बजेटले बोरिङ गाड्ने कामबाहेक पाइपलाइन विस्तार, कार्यालय भवन र ट्याङ्की निर्माण गर्न नपुग्ने उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष भण्डारीले आयोजना सम्पन्न गर्न कूल रु नौ करोड ४६ लाख ३४ हजार छ सय ४० बजेट लाग्ने अनुमान गरिएको जानकारी दिनुभयो । स्थानीय उपभोक्ता एवं समाजसेवी दलबहादुर बोहराले आयोजना निर्माणका लागि उपभोक्ता र उपभोक्ता समिति जागरुक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । “आयोजना निर्माणको थालनी भएको आधा दशक बढी भइसक्यो”, उहाँले भन्नुभयो, “जुन गतिमा काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन । असुरक्षित आइरन र आर्सेनिकयुक्त हेण्डपम्पको पानी पिउँदा स्थानीय उपभोक्ता बिरामी हुने खतरा छ ।” विसं २०७५ देखि काम अगाडि बढाइएको आयोजनाका लागि आवश्यक आर्थिक स्रोत उपलब्ध नहुँदा अलपत्र परेको उल्लेख गर्नुहँुदै उपभोक्ता शिवी लुहारले बाँकी काम पूरा गराउन नगरपालिकाले पहलकमी लिनुपर्ने बताउनुभयो । नगरप्रमुख रणबहादुर महराले खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका बाँकी काम पूरा गर्न आवश्यक बजेट उपलब्ध गराउन सम्बन्धित मन्त्रालयमा पत्राचार गरिसकिएको जानकारी दिनुभयो । “सङ्घीय सरकारको एकल अधिकार क्षेत्रभित्र पर्ने आयोजना भएकाले काम अगाडि बढाउन यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसदसँग बजेट सुनिश्चितताका लागि आग्रह गरिएका छौँ”, उहाँले भन्नुभयो, “समितिसँग समन्वय गरी अधुरा काम पूरा गर्न पहलकदमी लिने छौँ ।” आयोजना निर्माणका लागि खानेपानी उपभोक्ता तथा सरसफाइ समिति विसं २०७५ मा गठन भई विसं २०७६ मा जिल्ला जलस्रोत समितिबाट दर्ता प्रमाणपत्र प्राप्त भएपछि निर्माण थालिएको थियो । —

Powered By  Orson Infotech

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments