Wednesday, April 29, 2026
No menu items!
Homeनेपाल खबरसकियो सम्झौता अवधि, सकिएन करिडोरको काम

सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम

गलकोट (बागलुङ), २ पुसः कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्ड कालोपत्रका लागि गरिएको सम्झौता अवधिसकिएपछि मात्रै कामले गति लिएको छ । राष्ट्रिय गौरवको आयोजनाका कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डको सम्झौता सकिएसँगै कामले तीव्रता पाउन थालेको हो । अहिले नाली, कल्भर्ट, पर्खाल तथा ग्याबिन लगाउने काम भइरहेको छ । कालोपत्रका लागि विडारी कन्ट्रक्सनसँग गरिएको सम्झौता सकिए पनि काम भने करिब ६० प्रतिशत सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ । म्याद सकिएसँगै १० किमी सडक निर्माणले तीव्रता पाएको हो । निर्माण कम्पनीलाई पटकपटक ताकेदा गरेपछि अहिले मालढुङ्गातर्फको खण्डमा धमाधम पूर्वाधारको काम भइरहेको आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी अरुण खत्रीले बताउनुभयो । उहाँका अनुसार दुई वर्षमा सक्नेगरी सम्झौता भए पनि हालसम्म ६० प्रतिशत मात्रै पूर्वाधारको काम सकिएको हो । सूचना अधिकारी खत्रीका अनुसार निर्माण व्यवसायीलाई छ महिनाभित्र कालोपत्र सक्न निर्देशन दिइएको छ । दुई वर्षमा आधामात्रै काम गरेको निर्माण व्यवसायीलाई छ महिनाका लागि म्याद थपेपछि कामले गति लिएको उहाँले उल्लेख गर्नुभयो । “अहिलेको सन्तोषजनक काम भइरहेको छ, सम्झौता सकिँदासम्म कालोपत्र नहुनु समस्याको विषय हो, अहिले थपिएको समयभित्र काम सक्न निर्माण कम्पनीलाई ताकेता गरिरहेका छौँ”, खत्रीले भन्नुभयो, “बागलुङको भकुण्डेस्थित गलुवाको पहिरोका कारण काममा ढिलाइ भएको थियो, अहिले त्यही खण्डमा काम भइरहेको छ ।” खत्रीका अनुसार बलेवा–हर्मिचौरको ४४ किमी सडक सम्झौताअगावै कालोपत्र भइरहँदा छोटो खण्डको रूपमा रहेको बलेवा–मालढुङ्गा सडकको १० किमी सडक अलपत्र परेको हो । आगामी जेठभित्र कालोपत्र सक्नेगरी मिति थप गरिएको हो । उहाँका अनुसार १० किमी दूरी रहेको यो खण्डका लागि रु ५५ करोडमा निर्माण कम्पनीले ठेक्का लिएको थियोे । थप गरिएको समयसीमाभित्र सक्न कामलाई तीव्रता दिइएको निर्माण कम्पनीका सञ्चालक ध्रुव विडारी जानकारी दिनुभयो । सुरुमा निर्माणले तीव्रता पाए पनि समयमा भुक्तानी नपाउँदा समस्या भएको उहाँको भनाइ छ । “थप गरेको समयसीमाभित्रै कामसक्ने हाम्रो प्रयास हुन्छ”, विडारीले भन्नुभयो, “अहिले समस्याग्रस्त अलुवा क्षेत्रमा काम भइरहेको छ, गर्मी सुरु हुनासाथ कालोपत्र थाल्ने छौँ ।” करिडोर कालोपत्रपछि छिमेकी राष्ट्र चीन र भारतबीचमा आर्थिक, सामाजिक, सांस्कृतिक क्रियाकलाप बढ्नेछन् । नेपालको उत्तरी सीमा चीनको कोरला र दक्षिणी सीमा भारतको सुनौली जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइन्छ । —

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments