Wednesday, April 22, 2026
No menu items!
Homeनेपाल खबररङ्गीविरङ्गी छाताले सिँगारियो धार्मिक पर्यटकीयस्थल दोमुखा

रङ्गीविरङ्गी छाताले सिँगारियो धार्मिक पर्यटकीयस्थल दोमुखा

झापा, ५ मङ्सिरः कनकाई नदी किनारमा अवस्थित धार्मिक पर्यटकीयस्थल दोमुखालाई यतिबेला बेहुलीझँै सिँगारिएको छ । पहाडको फेदमा रहेको यो क्षेत्र जिल्लाको आकर्षक पर्यटकीय गन्तव्यमध्येको एक हो । आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्न रु ४५ हजार लागतमा उक्त स्थललाई तीन सय वटा विभिन्न रङका छाताले बेहुलीझैँ सिँगारिएको छ । शिवसताक्षी नगरपालिका–१० मा पर्ने दोमुखा पूर्वपश्चिम राजमार्ग माईधार बजारबाट उत्तर तीन किलोमिटरमा छ । धार्मिक पर्यटकीयस्थलको रुपमा परिचित दोमुखामा नवदम्पतीको फोटो खिच्न, विभिन्न म्युजिक भिडियो, चलचित्र छायाङ्कन र टिकटक बनाउन आउनेहरू पछिल्लो समय बढेका दोमुखा पर्यटन विकास समितिका अध्यक्ष धनप्रसाद लावतीले बताउनुभयो । “हामीले पर्यटन प्रवर्द्धन गर्न वर्षैँपिच्छे नयाँ योजना कार्यान्वयन गरेका छौँ”, उहाँले भन्नुभयो, “पर्यटकको मनोभावना बुझेर त्यहीअनुसारका संरचना निर्माण गरेका हौँ ।” दोमुखामा आकर्षक बुद्धपार्क, व्यवस्थित वनभोजस्थल, बाल उद्यन, बहुसांस्कृतिक सङ्ग्रहालयलगायत संरचना छन् । दोमुखा सडकको प्रवेशद्धार माईधारमा आकर्षक द्धार निर्माण गरिएको छ । यहाँ आउने पर्यटकलाई मध्यनजर गरी ३० वटा बढी सानाठूला होटलसमेत सञ्चालनमा छन् । पालिकाले यस क्षेत्रका सडकका दुवैतिर सडकबत्ती जडान गरेर झिलीमिली बनाउने कार्यलाई अघि बढाएको शिवसताक्षी नगरपालिकाका प्रमुख रोशन थोप्राले जानकारी दिनुभयो । दोमुखामा साँझमा पनि पर्यटक आउने वातावरण बनाउन सन्ध्याकालीन कार्यक्रम पनि आयोजना गरिने योजना नगरप्रमुख थोप्राले बताउनुभयो । कनकाई नदीबाट नहरमा बाँध निर्माण गरिएको र चुरे क्षेत्रसँग जोडिएको मनोरम क्षेत्र दोमुखामा मङ्सिरदेखि चैतसम्म पूर्वी नेपालका विभिन्न जिल्लाका साथै भारतको पश्चिम बङ्गाल, सिक्किम, विहारलगायत स्थानबाट पर्यटक आउने गरेका छन् । वार्षिक एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटक यस क्षेत्रमा आउने गरेका छन् । महारभारत पर्वत शृङ्खलाबाट उत्पति भई चुरे पहाड हुँदै पूर्व मोहडा बनाई निस्कने कनकाई नदीको दक्षिणतर्फ नहर निर्माण गरी नदीलाई दुई मुखमा विभाजन गरेको हुँदा यस क्षेत्रको नाम दोमुखा रहेको हो । दोमुखालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न २०६२ सालमा दोमुखा धार्मिक तथा पर्यटकीय विकास समिति गठन भएको हो । हाल सो समितिमार्फत नगरपालिका, प्रदेश र सङ्घीय सरकारको आर्थिक सहयोगमा दोमुखामा कैयौँ भौतिक संरचना निर्माण भएका छन् । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments