Thursday, January 15, 2026
No menu items!
Homeटप-स्टोरी“अष्ट्रेलियाको बसाईले आफ्नो आफन्तजनको महत्व महशुस गराउने”

“अष्ट्रेलियाको बसाईले आफ्नो आफन्तजनको महत्व महशुस गराउने”

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएको एलिना रिजाल कंडेलसंग कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो नेपालको घर चितवन हो।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको ९ वर्ष भयो।

तपाईलाई PR apply गर्न कत्तिको सहज भएको थियो ?
म अष्ट्रेलिया डिपेनडेन्टमा आएको हो त्यसैले श्रीमानले सबै प्रोसेस गर्नु भएको हुँदा मलाई धेरै गाह्रो भएन।

अहिले के गर्दै हुनुहुन्छ ?
अहिले म काम गर्दै छु।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ? कुन विषय पढ्नको लागि जानुभएको हो ?
नेपालबाट म +२ पास गरेर अष्ट्रेलिया आएको हो। अहिले सम्म पढाई सुरु गरेको छैन, अब भने नर्सिङ पढ्ने सोच बनाएको छु।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
अष्ट्रेलियाको पढाई नेपालको भन्दा धेरै फरक छ। यताको पढाईलाई आफुले निरन्तरता दिन सक्यो भने राम्रो हुन्छ। अष्ट्रेलियाको पढाई अष्ट्रेलिया मा मात्र नभई अन्य देशहरुमा गएर पनि आफ्नो भविष्य निर्माण गर्न सजिलो हुन्छ ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
नेपालमा हुँदा मैले केहि सोच राखेको थिएन। अष्ट्रेलिया गएपछि यस्तो गर्छु भन्नि केहि आशा गरेको थिएन। नेपालमा हुँदा सामाजिक संजालमा हेरेको अष्ट्रेलिया र यहाँ आएपछि देखेको अष्ट्रेलियामा फरक त हुन्छ। अरु बेला सबैकुरामा श्रीमानको साथ पाए पनि सुत्केरी भएको बेलामा आफ्नो आमाबुवाको सम्झना धेरै आउने रहेछ। म सुत्केरी भएको बेलामा आमाबुवा यहि आउनुभएको थियो तर नेपालमा भए जस्तो हेरचाह यता नहुने रहेछ। सुत्केरी हुँदा धेरै गाह्रो भएको थियो । आफ्नै देशको स्वच्छ हावापानी नै चाहिने रहेछ भन्ने कुरा अनुभव पाएको छु।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
म आएको धेरै भयो। पहिला अहिलेको जस्तो आउँने मान्छेको धेरै चाप पनि थिएन। कामहरु सजिलै पाइन्थ्यो अनि मेरो श्रीमान पहिल्यैबाट यतै भएको हुँदा पनि मलाई काम पाउनको लागि धेरै गाह्रो भएको थिएन। मैले सुरुमा नर्सिङ होमबाट काम गरेको थिए।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
अष्ट्रेलियाको बसाईले मलाई आफ्नो आफन्तजनको महत्व सिकाएको छ। आफन्तको माया र साथ सपोर्ट जुन ठाउँमा गएपनि चाहिने रहेछ। आफ्नो श्रीमान साथमा भएपनि आफ्नो परिवारको खाचो हुने रहेछ भन्ने कुरा अष्ट्रेलिया आएपछि सिकेको छु। यहाँको आएपछि आफ्नो सन्तानको भविष्य राम्रो हुन्छ, आफ्नो श्रम अनुसारको आम्दानी पाइने जस्ता धेरै कुराहरु राम्रो छ। आफ्नो साना बाबुनानीलाई छोडेर काममा जानु पर्छ यहि कुरा नराम्रो लाग्छ।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
यहाँको नेपाली समुदाय मलाई धेरै राम्रो लाग्छ। आफुहरु चाडपर्वको बेलामा आफ्नो देश जान नपाएपनि यहाँका सबै नेपालीहरु मिलेर चाडपर्व विशेष केहि कार्यक्रम राख्नु हुन्छ, नेपाली संस्कृतिलाई चिनाउने विशेष कार्यक्रम राख्नु हुन्छ। यसकारण स्वदेशमा जान नपाए पनि आफ्नै दाजुभाई दिदीबहिनीसंग रमाइलो गरेको जस्तो महशुस हुन्छ। समुदायका सबै लिडरहरु म भन्दा धेरै जान्ने बुज्ने भएका कारण मैले केहि संदेश दिन चाहन्न।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
अष्ट्रेलियामा रहँदा मात्र होइन, घरपरिवारको सम्झना त जता भएपनि आउने गर्छ। म संग मेरो घरपरिवारको यति सम्झना आउँछ भनेर भन्नको लागि कुनै शब्द नै छैन। दाजु भाउजु, दिदीबहिनी सबैले आफु सक्नि हुनुहुन्छ गरेर खान सक्नु हुन्छ जस्तो लाग्छ। बुढा भएका आमाबुवाको यति धेरै सम्झना आउँछ। उहाँहरु उता विरामी हुँदा पनि भेट्न जान मिल्दैन धेरै टाढा छु। नेपाली चाडपर्व आउँदा झन् धेरै सम्झना आउँछ।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
अष्ट्रेलिया भनेको त्यति सजिलो देश पनि होइन। आफ्नो परिवारसंग बसे जस्तो हुँदैन, अरुको देशमा आएर बस्न धेरै गाह्रो हुन्छ। अरु गएर धेरै पैसा कामको छन् म पनि जान्छु भनेर त्यसै हावातालमा नहिड्नु होला। आफ्नो देशको जस्तो नियम कानुन छैन, यता धेरै कडा नियम कानुन हुन्छ। हजुरहरुले समाचारमा पनि सुन्नु भएको छ होला धेरै नेपालीहरुले काम गर्न नसकेर नेपाल फर्किएको र आफ्नो पढाईको खर्च पुराउन नसकेर नेपालबाट परिवारले पैसा पठाएको जस्तो धेरै समस्या हुन्छन्। आफूले जस्तो कठिन आएपनि गर्छु भनेर आफूमाथि धेरै हिम्मत राखेर मात्र आउनुहोला। अभिभावकहरुले बुज्नु पर्ने भनेको मेरो छोराछोरी पढ्न गएका हुन् काम गर्न होइन भन्ने सोच्नु होला। हाम्रो खर्च टार्नको लागि पनि यता धेरै दु:ख गर्नु पर्छ, यो कुरा भोग्नेलाई मात्र थाहा हुन्छ। उ अष्ट्रेलिया गयो भनेर आफूमाथि धेरै आश पनि नगर्नु। उसले पैसा पठाउन्छ भनेर होइन उसलाई उता पढ्न खर्च नपुगे हामी पठाउने छौ भनेर मात्र पठाउनु होला भन्न चाहन्छु।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments