Friday, May 1, 2026
No menu items!
Homeनेपाल खबरचितवन राष्ट्रिय निकुञ्जको सुरक्षालाई थप सुदृढ बनाइयो

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षालाई थप सुदृढ बनाइयो

चितवन, २१ असोजः चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै निकुञ्ज सुरक्षालाई सुदृढ बनाएको छ । दसैँ, तिहारजस्ता महत्त्वपूर्ण चाडपर्वको समयमा निकुञ्जमा चोरी सिकारीका घटना बढी हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार यो समयमा चोरी सिकारीका घटना बढी हुने भएकाले सुरक्षा गस्तीलाई तीव्र पारिएको छ । नियमित जाँचसँगै आकस्मिक गस्ती र जाँचलाई बढाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निकुञ्ज क्षेत्रमा रहेका ६७ वटा पोष्टलाई चुस्त बनाएका छौँ । अझै प्रभावकारी रूपमा काम गर्नका लागि समुदायसँग नियमित सम्पर्कमा रहन निर्देशन गरिएको छ ।” नेपाली सेना र निकुञ्ज प्रशासनका ती पोष्टबाट नियमित गस्ती र सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । उहाँले थप्नुभयो, “चाडपर्वको समयमा हुनसक्ने चोरी सिकारी नियन्त्रणका लागि समुदायमा आधारित चोरी सिकारी नियन्त्रण एकाइलाई समेत चनाखो रहन आग्रह गरिएको छ ।” यहाँ पाइने पाटेबाघ र एकसिङ्गे गैँडाको चोरी सिकारी विगतका वर्षहरू चाडपर्वको समयमा बढी हुने गरेको भन्दै पुनले यो समयमा हात्तीबाट गरिने गस्ती, पैदल गस्ती, साइकल गस्तीलगायतलाई थप प्रभावकारी बनाइएको बताउनुभयो । चाडपर्वको समयमा चोरी सिकारी हुनसक्ने क्षेत्रको पहिचान गरी संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन र व्यवस्थापनको काम गरिएको उहाँले जानकारी दिनुभयो । पछिल्ला समयमा समुदायमा आधारित चोरी सिकारी नियन्त्रण कार्यक्रमलाई थप प्रभावकारी बनाइएको उहाँले बताउनुभयो । यस वर्ष निकुञ्ज र आसपासको क्षेत्रमा छवटा गैँडा मृत फेला परेका छन् । यसमध्ये एउटालाई करेन्ट लागेर मारिएको छभने अन्य कालगतिले मरेका हुन् । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments