Wednesday, April 22, 2026
No menu items!
Homeनेपाल खबर‘देशैभरि नेपाल ट्रष्टका नामका जग्गाको खोजीकार्य भइरहेको छ’

‘देशैभरि नेपाल ट्रष्टका नामका जग्गाको खोजीकार्य भइरहेको छ’

भक्तपुर, १ असोजः भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टका नाममा रहेको एक सय आठ रोपनी जग्गा ख्वप विश्वविद्यालय स्थापनाका लागि प्रयोग गर्नेगरी उपलब्ध गराउन माग गरिएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको प्रतिनिधि टोलीले सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसमक्ष मागपत्र दिँदै भक्तपुर नगरपालिकाले सञ्चालन गर्न लागेको ख्वप विश्वविद्यालयका लागि नेपाल ट्रष्टका नाममा रहेको उक्त जग्गा विश्वविद्यालय सञ्चालन गर्न नगरपालिकालाई उपलब्ध गराउन माग गरेको हो । मन्त्री अधिकारीले देशैभरि नेपाल ट्रष्टका नाममा रहेका जग्गाको खोजीकार्य भइरहेको बताउँदै ट्रष्टको नाममा रहेका जग्गा संरक्षण र सदुपयोग गर्ने नीतिअनुसार सरकार अगाडि बढेको उल्लेख गर्नुभयो । उहाँले नेपाल ट्रष्टको स्वामित्व कायम हुनेगरी उक्त जग्गा उपयोग गर्ने विषयमा आफू सकारात्मक रहे पनि ट्रष्टको नीतिअनुसार उक्त जग्गा नगरपालिकालाई दिन मिल्ने वा नमिल्ने भन्नेबारेमा अध्ययन गरेर मात्रै निर्णय गरिने बताउनुभयो । ट्रष्टको स्वामित्वमा रहेको जग्गा व्यापारिक वा सेवामूलक भाडामा दिने विषयमा आवश्यक छलफल गरिने प्रतिनिधिसभाका सांसदसमेत रहनुभएका सुवालले जानकारी दिनुभयो । उहाँले सल्लाघारीस्थित उक्त जग्गामा देशविदेशका विद्यार्थीलाई अध्ययन अनुसन्धानका लागि ख्वप विश्वविद्यालय सञ्चालनको अवधारणालाई अगाडि ल्याइएको बताउनुभयो । नगर प्रमुख प्रजापतिले मन्त्री अधिकारीसमक्ष ध्यानाकर्षण पत्र बुझाउँदै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च मावि, ख्वप इञ्जिनियरिङ कलेज, ख्वप कलेज, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप कलेज अफ इञ्जिनियरिङ र ख्वप कलेज अफ लमा कूल ४१ हजार सात सय ९८ जना विद्यार्थी भर्ना भई अध्ययन गरिसकेका जानकारी दिनुभयो । नेपाल ट्रष्टको नामका सम्पत्ति विद्यालय, महाविद्यालयजस्ता शैक्षिक तथा प्राज्ञिक संस्था खडागरी सञ्चालन गर्न वा त्यस्तो संस्था सञ्चालनका लागि अनुदान प्रदान गर्न प्रयोग गर्न सकिने कानुनी व्यवस्था रहेको भन्दै उहाँले उक्त जग्गा भक्तपुर नगरपालिकालाई उपलब्ध गराइदिन आग्रह गर्नुभयो । —

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments