Saturday, April 25, 2026
No menu items!
Homeनेपाल खबरवडाध्यक्ष यादवको मृत्युबारे अनुसन्धान गर्न अध्यक्ष दाहालको आग्रह

वडाध्यक्ष यादवको मृत्युबारे अनुसन्धान गर्न अध्यक्ष दाहालको आग्रह

काठमाडौँ, २६ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारसँग आग्रह गर्नुभएको छ । दिवङ्गत यादवको स्मृतिमा आज महोत्तरीमा भएको श्रद्धाञ्जलीसभामा उहाँले यस्तो आग्रह गर्नुभएको हो । वडाध्यक्ष यादवको शव यही भदौ ९ गते महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा फेलापरेको थियो । घरपरिवार र जिल्लास्थित राजनीतिक दलहरुले उहाँको हत्या भएको आशंका गर्दै उच्चस्तरीय अनुसन्धानको माग गर्दै आएका छन् । वडाध्यक्ष यादवको हत्याको अनुसन्धानको माग गर्दै जिल्लास्थित राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालका नेताहरु केही दिनअघि राजधानीसम्म आएका थिए । अध्यक्ष दाहालले यादवको निधन दुर्घटनाबाट भयो वा हत्या हो, यसको उच्चस्तरीय छानबिनका लागि सरकारलाई भनिएको र फेरि पनि त्यसका लागि आग्रह गरिने जानकारी दिँदै त्यसमा लापर्वाही नगर्न अनुरोध गर्नुभयो । यसको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै उहाँले स्थानीयले निरन्तर आवाज उठाइरहनुपर्ने बताउनुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । माओवादी केन्द्रका तर्फबाट निर्वाचित वडाध्यक्ष यादव राजनीतिक कार्यकर्ता मात्र नभई मधेसको सामाजिक अभियन्ता पनि भएको उल्लेख गर्दै अध्यक्ष दाहालले यादवको स्मृतिमा प्रतिष्ठान गठन गर्न र उहाँका छोराछोरीको पठनपाठनको व्यवस्था मिलाउन प्रदेश र जिल्ला पार्टी नेतृत्वलाई निर्देशन दिनुभयो । उहाँले यसमा पार्टी केन्द्रको तर्फबाट पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । मृतक यादवकी श्रीमती आइती यादवले शव र घटनास्थलको प्रकृति हेर्दा दुर्घटनाभन्दा पनि हत्या गरेर दुर्घटना देखाउन खोजेको जस्तो देखिने बताउनुभयो । उहाँले श्रीमान्को निधनको सत्यतथ्य पत्ता लागे आफूहरुलाई न्याय हुने उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन अध्यक्ष दाहालसँग अनुरोध गर्नुभयो । स्वर्गीय यादवको स्मृतिमा आयोजित श्रद्धाञ्जलीसभामा माओवादी केन्द्रका अन्य पदाधिकारी, प्रदेशमा कार्यरत केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र स्थानीयको उपस्थिति थियो । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments