Wednesday, April 29, 2026
No menu items!
Homeनेपाल खबरवन्यजन्तुबाट कृषिबाली नष्ट गर्नेक्रम बढ्दै : किसानलाई क्षतिपूर्ति प्राप्त गर्न झन्झट

वन्यजन्तुबाट कृषिबाली नष्ट गर्नेक्रम बढ्दै : किसानलाई क्षतिपूर्ति प्राप्त गर्न झन्झट

काभ्रेपलाञ्चोक, ३ भदौः वन्यजन्तुका कारण काभ्रेपलाञ्चोकका चार सय ५७ किसानको बालीमा क्षति पुगेको छ । एक वर्षको अवधिमा जिल्लाका १३ स्थानीय तहमध्ये सात तहका किसान वन्यजन्तुबाट पीडित बनेको तथ्याङ्कले देखाएको छ । यहाँका किसानले पछिल्ला केही वर्षदेखि बँदेल, चितुवा, बाँदरलगायत वन्यजन्तुबाट क्षति व्यहोर्दे आएका छन् । वन्यजन्तुबाट गत आर्थिक वर्ष २०८०÷८१ मा मात्र उक्त सङ्ख्याका किसानको मकैबाली नष्ट भएको छ । डिभिजन वन कार्यालय धुलिखेलका अनुसार चितुवाका कारण २२ किसानको पशुधन (बाख्रा, बोका)मा क्षति पुगेको थियो । बेथानचोक गाउँपालिकामा सबैभन्दा बढी दुई सय ७०, पनौती नगरमा एक सय १७, भुम्लुमा १४, पाँचखाल नगरमा १२, नमोबुद्ध नगरमा ३१, चौँरीदेउरालीमा छ र धुलिखेल नगरमा सात किसानको मकैबालीमा क्षति पुगेकोे कार्यालयले जनाएको छ । बर्सेनि जिल्लामा वन्यजन्तुको आक्रमणबाट कृषिबाली नष्ट हुने क्रम बढिरहँदा किसानले क्षतिपूर्ति प्राप्त गर्न थप झन्झट झेल्नुपर्ने बाध्यता रहेको पाइएको छ । विगतका वर्षमा शिवपुरी राष्ट्रिय निकुञ्जले मानव–वन्यजन्तुबीचको द्वन्द्वका क्रममा मानवीय, अन्नबाली र पशुधनमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउँदै आए पनि गत आवमा प्रदेशस्थित वन निर्देशनालयले राहत उपलब्ध गराउने निर्णय गरे पनि हालसम्म राहत रकम उपलब्ध हुन नसकेको हो । कार्यालयले राहत रकम प्राप्त गर्न बैंक खाता नम्बर र प्यान नम्बर माग गरेका कारण किसानले समयमै नै राहत पाउन नसकेका हुन् । यस्तै किसानले समयमै उचित क्षतिपूर्ति नपाउँदा थप पीडित बन्नुपरेको छ । प्रदेश वन निर्देशनालयले हाल किसानको प्यान नम्बर र बैंक खाता नम्बर माग गरेका कारण राहत वितरणमा ढिलाइ भएको डिभिजन वन कार्यालयका अधिकृत न्हुन्छेमान श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्यान नम्बर र बैंक खाता नम्बर नमिल्दा आव २०७९÷८० मा अन्नबाली, पशुधनमा क्षति पुगेका एक सय ५० किसानलाई राहत रकम वितरण गर्न सकिएको छैन । कार्यालयका अनुसार आव २०७९÷८० मा ३५ पशुधन क्षतिवापत रु सात लाख ६० हजार पाँच सय, एक मानवीय क्षति (घाइते)लाई रु ६६ हजार आठ सय तथा तीन सय ४९ किसानको अन्नबाली क्षतिवापत रु ३४ लाख ९० हजार गरी रु ४३ लाख १७ हजार तीन सय राहत रकम उपलब्ध गराइएको थियो । चालु आवमा भुम्लु गाउँपालिका–९ मा जङ्गली जनावरले मकैबारीमा लगाइएको बालीमा क्षति पुर्याएपछि स्थानीय आफ्नो बालीको क्षतिको विवरणसहित वडा कार्यालय धाउन थालेका छन् । वन्यजन्तुले बालीमा क्षति पुर्याएसँगै मानिसलाई पनि खतरा हुँदै गएको स्थानीयले वडालाई जानकारी गराइसकेका छन् । वडाध्यक्ष दलबहादुर तामाङले मान्छेकै ज्यान खतरामा हुन थालिसकेको बताउनुभयो । “विशेषगरी साँझ–बिहान स्यालको आतङ्कले एक्लै हिँड्न गाह्रो हुँदै गएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार हाल बाँदर, स्याल, दुम्सी र बँदेलबाट समस्या सिर्जित भएको हो । हाल बारीमा मकै फलिरहेकाले कोशीपूर्वस्थित भुम्लु र चौँरीदेउराली गाउँपालिकास्थित बाँदरको धेरै आतङ्क बढिरहेको छ । स्याल पनि पछिल्लो समय बढिरहेकाले कसरी समस्याको समाधान गर्ने भन्नेमा चिन्तित बनेको तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “निवेदनउपर गाउँपालिकाको विपद् व्यवस्थापन समितिमार्फत अनुगमन गरेर क्षतिपूर्ति दिने प्रक्रिया बढाउँछौँ ।” उहाँका अनुसार साउनमा सात किसान वन्यजन्तुबाट बालीमा क्षति पुगेको जनाउँदै आधा दर्जन निवेदन आएका छन् । वन कार्यालयका अनुसार बितेको १४ वर्षमा काभ्रेपलाञ्चोकमा जङ्गली जनावरको आक्रमणबाट १४ जनाको मृत्यु र आधा दर्जन घाइते भएका छन् । कार्यालयमार्फत मानव मृत्यु तथा घाइते तथा वर्षैपिच्छे अन्नबाली क्षति, घरपालुवा जनावर तथा पशुपक्षीको क्षतिपूर्ति निर्देशिकाअनुसार दिँदै आइएको छ । सरकारको प्रावधानअनुसार मृतकका प्रतिपरिवारलाई रु १५ लाख तथा घाइतेको अवस्था हेरी उपचार खर्च दिइन्छ । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments