Monday, April 27, 2026
No menu items!
Homeनेपाल खबरमादीनदीमा दोस्रो लिफ्ट खानेपानी योजना सुरु

मादीनदीमा दोस्रो लिफ्ट खानेपानी योजना सुरु

तनहुँ, २ माघः साना सहरी खानेपानी सरसफाइ आयोजना र दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सहलगानीमा दोस्रो मादी लिफ्ट खानेपानी योजना सुरु भएको छ । यसअघि सम्पन्न पहिलो योजनाबाट दैनिक ३२ लाख लिटर पानी वितरण भइरहेको छ । वितरित पानी बजार क्षेत्रमा अपुग देखिएपछि दोस्रो खानेपानी योजना निर्माण अघि बढाइएको हो । मादीनदी किनारमा इनार निर्माण सम्पन्न गरी पाइपलाइन विस्तार तीव्र रूपमा भइरहेको संस्थाका व्यवस्थापक अमर गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको ७० र संस्थाको ३० प्रतिशत गरी रु एक करोड ८० लाख लागत रहेको छ । “दोस्रो मादी लिफ्ट योजना सम्पन्नपश्चात् दैनिक आठ लाख लिटर पानी थप हुनेछ”, व्यवस्थापक गिरीले भन्नुभयो, “यसपछि पानी वितरणमा सहज हुने अपेक्षा लिएका छौँ ।” खानेपानीको समस्या भोग्दै आएका मालपोत लाइन, सत्यवती लाइन र देउराली नगर क्षेत्रका बासिन्दालाई छ इञ्चको पानी सिधै ट्याङ्कीबाट वितरण गर्न लागिएको संस्थाले जनाएको छ । मादीनदी सम्पवेलबाट बाघभञ्ज्याङ, डाँग्रीखोल्सीलगायत क्षेत्रमा दुई हजार पाँच सय मिटर क्षेत्रमा पाइपलाइन विस्तार कार्य भइरहेको संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पानी छोड्ने र बन्द गर्ने कार्यलाई सहज बनाउन मादीनदी किनारमा ‘गार्ड हाउस’ निर्माण गरिनेछ ।” सदरमुकाम दमौली बजार क्षेत्रमा हुनसक्ने आगलागीका घटनालाई मध्यनजर गर्दै तीन स्थानमा खोल्न र पानी भर्न मिल्ने ठाउँ राखेर दमकलमा पानी भर्ने व्यवस्था मिलाउन लागिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । मादीनदीमा निर्माण गरिएको योजनाको खानेपानी तथा ढल व्यवस्थापन विभागका आयोजना निर्देशक राजेन्द्र सापकोटासहित सरोकार भएका निकायका प्रतिनिधिको टोलीले निरीक्षण गर्नुभएको थियो । संस्थाले व्यास नगरपालिका–२, ३, ४ मा गरी चार हजार उपभोक्तालाई दैनिक पानी वितरण गर्दै आएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments