छत्तीसगढ राज्यमा लामो समयदेखि जारी विद्रोहलाई दमन गर्ने क्रममा भारतीय सेनाको कारबाहीमा कम्तीमा पाँच जना माओवादी लडाकूको मृत्यु भएको छ भने दुई जना प्रहरी घाइते भएका बताइएको छ । भारतको स्रोत साधनले भरिपूर्ण मध्य क्षेत्रका सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि लडिरहेका नक्सलवादी विद्रोहीहरूले दशकौँ लामो विद्रोहको नेतृत्व गरिरहेका छन् । विद्रोहका क्रममा हजारौँ मानिसको ज्यान गुमेको छ । छत्तीसगढराज्यको बीजापुर जिल्लाको घना जङ्गलमा भएको भिडन्तको वर्णन गर्दै प्रहरी महानिरीक्षक पी सुन्दरराजले एएफपीसँग भन्नुभयो, “सुरक्षा बलले नक्सलवादी लडाकूका पाँच जनाको शव फेला पारेको छ ।” अर्को एक घटनामा बीजापुर जिल्लामा एउटा घरेलु बारुदी सुरङ्ग विस्फोट हुँदा दुई जना प्रहरी घाइते भएका छन्। सरकारी फौजले दशकौँदेखि चलेको नक्सलवादी आन्दोलनलाई परास्त गर्न प्रयास तीव्र पारेको छ र सन् २०२४ मा करिब २८७ विद्रोही मारिएका छन् । —

