चितवनको एकता शिशु निकेतनको छात्रावासमा डोरीले झुण्डिएको अवस्थामा एक बालिकाको शव फेला पर्यो । शव सोही विद्यालयमा अध्यनरत् कक्षा ८ कि शालिन पोखरेलको थियो । यो घटना घटेको आज १ हप्ता पुग्दैछ तर सो घटनाका सन्दर्भमा पुलिस प्रशाशन संवेदनशील विषय भनेर मौन छ त पिडित परिवारको रगतका आँसु थामिएका छैनन् ।
सुरुमा आत्महत्याको आशंका गरिएको विषयमा मृतकका परिवार चित्त बुझाउन सकिरहेका छैनन्। बलात्कार पछिको हत्या हो भन्ने पिडित परिवारको आशंका रहेको छ। सो बुझाईलाई बल किन पनि पुग्यो भने मृतक परिवारले आफ्नो रोहवरमा छानबिन प्रक्रिया सुर होस् भन्ने चाहनालाई प्रहरीले बेवास्ता गरेको उनको काकाको सामाजिक संजालबाट थाहा पाउन सकिन्छ। बुवाको कुरालाई आधारमान्दा उहाँहरू पुग्नु अघिनै लुगाहरू भिजाइएको भन्ने छ। बालिकाले आफू वार्डन बन्ने इच्छा रहेको किनकि वार्डनसँग धेरै शक्ति हुन्छ। वार्डनले जे पनि गर्न सक्छ भन्ने मानसिक अवस्थामा बालिका रहेको विषयलाई लिएर परिवारका सदस्यहरू यो आत्महत्या नभई बलात्कारपछिको हत्या भन्ने दाबि गरिरहेका छन्। पुलिस प्रशाशनबाट संवेदनशीलता नअपनाइएको भनी ठुलै शक्तिको चलखेलमा निर्मला हत्याकाण्ड जसरी आफ्नो छोरीको हत्या दबाइने पो हो कि भनेर पिडित परिवार शशंकित छ।
निर्मला हत्याकाण्डकै दिशातिर लम्किएको शालिन हत्याकाण्डले केही जटील अनुत्तरित प्रश्नहरूको उत्तर खोजिरहेको छ। आखिर नेपालमा यस किसिमका घटनाहरूमा पिडित पक्ष किन न्याय सम्पादन गर्ने निकायसँग पूर्ण रुपले सन्तुष्ट हुन सकिरहेक छैनन? किन प्रहरी प्रशाशन यस्ता संवेदनशील विषयमा पिडित पक्षसँग संयमताका साथ वार्ता गर्न चाहन्न? लोकतन्त्र आइसकेको अवस्थामा पनि निरंकुश शासन व्यवस्थामा जस्तै यस्ता विषयहरू गुपचुप राख्न खोज्नुले नै कतै हाम्रो व्यवस्थामाथिनै प्रश्न उठिरहेको त होइन?
अन्तमा, सत्य र न्यायकालागि आवाज उठाउन आफुलाई पीडा पर्दासम्म कुर्ने होइन। शालिनलाई आफ्नै छोरी, आफ्नै बहिनी सम्झी प्रत्येकले आफ्नो ठाउँबाट शालिनको न्यायका लागि आवाज बुलन्द गर्नु आवश्यक छ। लेख्न जान्नेले लेख्नुहोस्, सडकमा निस्कन सक्नेले सडकबाट दबाब दिनुहोस्, पहुँच भएकाले माथिल्लो ओहाेदामा बसेकालाई यस विषयमा चासो लिन दबाब दिनुहोस्। केही नसक्नेले सामाजिक संजालबाट न्यायकालागि पाेष्टहरू राख्नुहोस् । केही त गर्नुहोस्। आज न्याय मरे अन्याय गर्नेहरूको आत्मबल बढ्नेछ। न्याय ढुंगाको मुर्तिमा नखोजौँ, आफै न्यायकालागि आवाज उठाउँ।
Aashish Regmi

