Monday, April 27, 2026
No menu items!
Homeनेपाल खबरसम्यक दान पर्वमा दुई हजार भिक्षुलाई महादान गरिने

सम्यक दान पर्वमा दुई हजार भिक्षुलाई महादान गरिने

भक्तपुर, २८ पुस : तीन सय ५० वर्षअघि अर्थात् नेपाल संवत् ७८७ भन्दा अघिदेखि प्रत्येक वर्ष माघ १ गते मनाउँदै आएको महादान ‘सम्यक दान पर्व’ मा यस वर्ष दुई हजार भिक्षुलाई महादन गरिने भएको छ । शनिबार सम्यक महादान व्यवस्थापन सहयोग समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष गणेश बज्राचार्यले भक्तपुर नगरपालिका–१ स्थित जयकीर्ति महाविहार (ययुबही) परिसर भुइख्यमा गरिने बौद्ध परम्पराअनुसारको सम्यक महादान पर्वमा भिक्षुलाई महादन गर्ने तयारी रहेको जानकारी दिनुभयो । पाँच दीपकङ्र बुद्धका मूर्तिहरूलाई स्थानीय थथुवहिमा विराजमान गराई बुद्ध ज्ञान प्राप्त शाक्य र बज्राचार्यका सम्पूर्ण भिक्षुहरूलाई प्रसाद, चामललगायत विभिन्न परिकार दान दिने र पाँच दीपङ्करको परिक्रमा गराई पूजासमेत दिएर मनाइने उहाँले बताउनुभयो । भक्तपुर दरबार क्षेत्रसँगै रहेको प्रसिद्ध चतुब्र्रह्म महाविहारका सङ्घ सदस्य जयरत्न बज्राचार्यले नेपाल संवत् ७८७ मा आफ्ना दिवङ्गत पिता जयदेव बज्राचार्यका नाममा दीपङ्कर बुद्धलगायत विहारका सङ्घ सदस्यहरूलाई निमन्त्रणा गरेर सम्यक भोजन दान गरी यस पर्वको स्थापना गरेको शिलापत्रमा उल्लेख रहेको उहाँले बताउनुभयो । उक्त समयमा जयकीर्ति महाविहार अत्यन्तै जीर्ण अवस्थामा रहेको हुँदा जयरत्न बज्राचार्यबाटै नेपाल संवत् ७९४ मा उक्त विहारको जिर्णोद्वार गरी सोही वर्ष राजा जयजितामित्र मल्लको उपस्थितिमा सम्यक महादान भव्य रूपमा सम्पन्न गरेको इतिहासमा उल्लेख छ । सम्यक दानमा परम्परागत रुपमा स्थापना भएका बौद्ध विहारहरूमा दीक्षित भई गृहस्थ बौद्ध भिक्षुहरू शाक्य र बज्राचार्य बन्दहरूलाई भोजन, अन्न दक्षिणा दिइने चलन रहेको समितिका सल्लाहकार सप्तचन्द्र बज्राचार्यले जानकारी दिनुभयो । यस वर्ष सम्यक दान पर्व मनाउने पालो सप्तचन्द्र बज्राचार्यलगायत परिवकारको रहेकाले जयकीर्ति महाविहारमा एक साताअघिदेखि नै बसोबास गरी पर्वका लागि आवश्यक पर्ने विशेष प्रकारको पुरी, लड्डुलगायत अन्य सामग्रीको व्यवस्थापन गर्न व्यस्त रहेको समितिका राजुमन बज्राचार्यले बताउनुभयो । यस वर्ष पर्व अवलोकन गर्नेलगायत सम्यक दान लिने बौद्ध धर्मावलम्बीहरू अघिल्लो वर्षहरूमा भन्दा बढी हुने अनुमान गर्दै सोही अनुरुप तयारी भइरहेको उहाँले बताउनुभयो । सम्यक महादानका क्रममा जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा चतुब्र्रह्म महाविहार सङ्घका कूलदेवता हेबज नैरात्मालाई सबभन्दा पहिले भोजन दान दिने परम्परा छ । त्यसपछि लहरै मूल दीपङ्कर, बाहाछे दीपङ्कर, भौरबही दीपङ्कर, ययुबही दीपङ्कर र कुथुबहि दीपङ्करलाई भोजन चढाउने गरिन्छ । यसैगरी क्रमबद्ध रूपमा विराजमान गराइएका चारवटा सम्यक द्यो (सुवर्ण दीपङ्करको मूर्ति), सुवर्ण चैत्य, स्थवीर आजु, मूल गुरुजु, गुरुजूहरू र लामबद्ध भएर बसेका सयौँ बज्राचार्य, बुद्धाचार्य र शाक्य परिवारका सदस्यहरूलाई सम्यक दान दिने परम्परा छ । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments