Friday, April 17, 2026
No menu items!
Homeनेपाल खबरविदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’

विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’

तुलसीपुर (दाङ), २६ पुसः तुलसीपुर–१ छोटेका चित्रप्रसाद सुवेदी नौ वर्ष मलेसिया बसेर आउनुभयो । मलेसियामा पनि राम्रो कमाई नभएपछि उहाँले गाउँमै केही गर्ने प्रण गर्नुभयो र सुरू गर्नुभयो विभिन्न मूर्ति बनाउन । न कुनै तालिम, न त कुनै प्रशिक्षण, चित्र हेरेर उहाँले मूर्ति बनाउन सुरू गर्नुभयो । अहिले उहाँ विभिन्न मन्दिरमा मूर्ति बनाउँदै हिँडिरहनुभएको छ । तुलसीपुर–१ स्थित धनेश्वर मन्दिरमा उहाँले शिव, बाघ, गणेश, नन्दी, शिवलिङ्ग, डमरू, नागले बेरेको मूर्ति बनाउनुभएको छ । “गाउँकै मन्दिर पनि हो, सबैले मेरो कला देख्नुभएको थियो”, सुवेदीले भन्नुभयो, “त्यसपछि न्यून शुल्कमा मैले सबै मूर्ति बनाएँ ।” त्यतिमात्र होइन सुवेदीले सोही वडाकै देवीस्थान मन्दिरमा नन्दीको मूर्ति, तुलसीपुर–८ अस्वारमा बाघका मूर्ति र सोही वडाको कृष्ण मन्दिरमा शिवलिङ्ग पनि बनाउनुभएको छ । उहाँले खाली समयमा घरमा पनि विभिन्न मूर्ति बनाउने गर्नुभएको छ । “बाहिरबाट खासै माग भइरहेको छैन, अझै सिक्दैछु”, सुवेदीले भन्नुभयो, “फुर्सदका बेला घरमै पनि मूर्ति बनाउने गरेको छु ।” जिल्लाभित्र छिटपुट रूपमा माग हुने गरेको भए पनि बाहिरबाट अझै माग नभएको भन्दै प्रचारप्रसार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले दुई वर्षदेखि यसरी नै मूर्ति बनाउने कार्य सुरू गर्नुभएको हो । “सुरूमा चित्र हेरेर कलमले कोर्ने गरेँ, केही समयमा माटोको मूर्ति बनाएँ”, सुवेदीले भन्नुभयो, “अलि सिकेपछि सिमेन्ट प्रयोग गरेर मूर्ति बनाउन सुरू गरेको हुँ ।” एउटा मूर्ति बनाउन रू ३० हजारसम्म पारिश्रमिक लिने गरेको सुवेदीले बताउनुभयो । त्यसमा पनि मूर्तिको आकारअनुसार पारिश्रमिक निर्धारण हुने गरेको उहाँको भनाइ छ । स्थानीयस्तरकै व्यक्तिले यसरी मूर्ति बनाउँदा यसलाई सबैतिरबाट प्रवर्द्धन गर्नुपर्ने उहाँको भनाइ छ । “म आफैँ स्थानीयस्तरमा मूर्ति बनाइरहेको छुँ”, उहाँले भन्नुभयो, “तर अझै पनि ढुङ्गाबाट बनाएका मूर्ति भारतबाट ल्याउने गरिन्छ, स्थानीयस्तरको कुरालाई प्रवर्द्धन गर्नेतर्फ सबैले ध्यान दिए हुन्थ्यो ।” यही पेसाबाट नै आफू स्थापित हुने सुवेदीको चाहना छ । त्यसका लागि सरकारले पनि सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । वडामा भएका यस्ता प्रतिभालाई प्रवर्द्धन गर्नतर्फ आफू तयार रहेको वडाध्यक्ष हुमकान्त सापकोटाले बताउनुभयो । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments