Friday, April 17, 2026
No menu items!
Homeनेपाल खबरकाठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन

ढोरपाटन (बागलुङ), २५ पुसः काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब रु दुई करोडले बढी हो । गत वर्ष यहाँका किसानले रु तीन करोड ५० लाख बराबरको सुन्तला बिक्री गरेको उहाँको भनाइ छ । यस वडामा मात्रै झण्डै ३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको उहाँले जानकारील दिनुभयो । कँडेल यस वर्ष नौ सय मेट्रिक टन सुन्तला उत्पादन भएको बताउनुहुन्छ । सुन्तलामा कुनै पनि रोग नलाग्दा राम्रो उत्पादन बढेको र पालिकाले किसानलाई प्रोत्साहन गर्न प्राविधिक सहयोग र तालिम समेत दिँदै आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “काठेखोला–६ मा सुन्तला उत्पादन राम्रो छ, वडा–४ र ७ को केही क्षेत्रमा पनि सुन्तलाखेती भइरहेको छ, किसानलाई प्रोत्साहनका लागि समय–समयमा तालिम दिने गरेका छौँ, ढुसीजन्य रोगबाट बचाउन नीलोतुथोदेखि प्राविधिक सहयोग पनि उपलब्ध गराउँदै आएका छौँ ।” उहाँले यस वर्ष पनि सुन्तलाखेतीको क्षेत्र विस्तार गर्ने कार्यक्रम रहेको बताउनुभयो । गाउँपालिकाले गत वर्ष किसानलाई पाँच हजार पाँच सय सुन्तलाका विरुवा र तीन हजार कागतीका बिरुवा वितरण गरेको थियो । काठेखोला–६ का किसान लोकनाथ कँडेलले यस वर्ष रु १२ लाख ५० हजारको सुन्तला बेचिसकेको जानकारी दिँदै रु एक लाखको बिक्री गर्न बाँकी रहेको बताउनुभयो । आफ्नो बगैँचामा तीन सय बोट सुन्तला रहेको र यस वर्ष दुई सय १० बोटले फल दिएको उहाँको भनाइ छ । “हरेक वर्ष सुन्तला उत्पादन बढ्दै गएको छ, नयाँ बोटले पनि फल दिन थालेका छन्, किसानले सुन्तला बगैँचा व्यवस्थापनमा पनि ध्यान दिन थालेपछि राम्रो फल्न थालेको छ”, कँडेलले भन्नुभयो, “मेरो बगैँचामा नयाँ ९० बोट सुन्तला छन्, अर्को वर्षदेखि फल दिन्छन्, सुन्तलाखेतीबाट आम्दानी राम्रो छ, पहिले कोदो मकै फल्ने ठाउँमा अहिले सुन्तला फलाउँछौँ ।” किसान देवीलाल कँडेलले अघिल्लो वर्ष रु तीन लाखको सुन्तला बिक्री गरेको उल्लेख गर्दै अहिले रु चार लाखभन्दा बढीमा बिक्री भएको बताउनुभयो । व्यापारी बगैँचामै आएर सुन्तला खरिद गर्ने भएकाले बजारीकरणको समस्या नभएको उहाँको भनाइ छ । —

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments