Friday, April 17, 2026
No menu items!
Homeनेपाल खबरबाढीले खानेपानीका स्रोतमै क्षति पुर्‍याउँदा समस्या

बाढीले खानेपानीका स्रोतमै क्षति पुर्‍याउँदा समस्या

काभ्रेपलाञ्चोक, २५ पुसः जिल्लामा निर्माणाधीन अधिकांश ठूला खानेपानी आयोजनाका स्रोत यहाँका खोला हुन् । विसं २०७२ को भूकम्पका कारण जिल्लामा खानेपानीका मूल सुकेपछि त यहाँका नदी–खोला नै खानेपानीका मुख्य स्रोत थिए । तिनै खोलामा गत असोज दोस्रो साताको बाढीले पानीको स्रोत नै तहसनहस भयो । नदी–खोला किनारमा रहेका इनार र ‘लिफ्टिङ’ प्रविधिमार्फत डाँडामा तानेर बस्तीबस्तीमा वितरण गर्न निर्माण भएका भौतिक पूर्वाधारमा क्षति भयो । पानी सङ्कलन, प्रशोधन केन्द्र तथा वितरण प्रणालीमा समेत क्षति हुँदा निकै समस्या भएको छ । हाल काभे्रपलाञ्चोकका चार ठूला खानेपानी आयोजनामध्ये काभ्रे उपत्यका बृहत् खानेपानी आयोजनालाई भने पानी लिफ्ट गर्नु पर्दैन तर उक्त आयोजनाका लागि पनौतीमा रहेका गुड्गुडे, खारखोला, वैरामहादेव र मूलडोलका पानी सङ्कलनका ‘इन्टेक’ तथा वितरण प्रणालीका मुख्य तथा शाखा पाइपलाइनमा बाढीले क्षति पु¥याउँदा करोडौँको नोक्सान भएको छ । उक्त आयोजनाका बोर्ड प्रमुख आशोक ब्याञ्जूका अनुसार काभ्रे उपत्यका बृहत् खानेपानी आयोजनामा रु २१ करोड ८० लाख क्षति भएको छ । निर्माणको अन्तिम चरणमै क्षतिग्रस्त हुन पुगेको सो खानेपानी आयोजनाको पुनर्निर्माणमा एसियाली विकास बैङ्कले सहयोग गर्ने प्रतिबद्धता जनाएको ब्याञ्जूले बताउनुभयो । तीन नगरका करिब ९३ हजार उपभोक्ताका लागि करिब रु एक अर्बको लगानी रहेको सो खानेपानी आयोजनाको निर्माण ढिलाइ भइरहे पनि यसअघि ९८ प्रतिशत काम सकिएको जनाइएको थियो । सन् २०१२ डिसेम्बर १९ मा भएको सम्झौताअनुसार सन् २०१५ जुन १२ मा आयोजना निर्माण गरिसक्ने भनिएको थियो तर करिब १२ वर्ष बितिसक्दा पनि काम सम्पन्न भएको छैन । यसैगरी, दशवटा वडाका सात हजार नागरिकलाई खानेपानी पु¥याउने लक्ष्यका साथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजनाको पानीको स्रोत सुनकोशी नदी हो । भुम्लु गाउँपालिका–१० बिमिरेस्थित उक्त नदी किनारमा छवटा इनार, चार लाख लिटर क्षमताका दुई ट्याङ्की, तीन लाख लिटरको ब्याकवास ओभरहेड ट्याङ्की, छ ब्रेकप्रेसर ट्याङ्की तथा पालेघर निर्माण गरिएको छ । सोही इनारमा सङ्कलित पानी लिप्mिटङ प्रविधिमार्फत पाँचखाल ल्याइने निर्माणाधीन उक्त आयोजनाको मुहान क्षेत्र गत असोजको बाडीले डुबाउनाका साथै केही पूर्वाधारमा क्षति पुगेको थियो । उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेका अनुसार आयोजनाका विभिन्न संरचनामा रु एक करोड ७० लाख क्षति पुगेको थियो । विसं २०७६ साल भदौ १२ गते ०७९ पुस महिनाभित्र सक्ने गरी परियोजना निर्माणको सम्झौता भएको थियो । त्यसको लागत रु एक अर्ब ३४ करोड ६६ लाख हुने भनिएको थियो । यसको मुख्य स्रोत पनि नदी नै हो, जसको काम हाल ९५ प्रतिशत सम्पन्न भएको जनाइएको छ । यसैगरी, तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी घरघरमा पु¥याउने उद्देश्यका साथ आठ वर्षअघि सुरु गरिएको तेमाल बृहत् खानेपानी आयोजनाको खानेपानीको स्रोत पनि सुनकोशी नदी हो । कोभिड र प्राकृतिक प्रकोपका कारण निर्माण ढिलाइ भएको उक्त आयोजना अबको केही महिनामा सक्ने लक्ष्य लिइएको उपभोक्ता समितिका अध्यक्ष सङ्ग्रामजित लामाले बताउनुभयो । उहाँका अनुसार बाढीले उक्त आयोजनाको मुहान क्षेत्रका ट्याङकीलगायत लिफ्टिङका लागि व्यवस्थित गरिएका बिजुलीका ट्रान्सफर्मर तथा अन्य पूर्वाधारमा रु सात करोड बराबरको क्षति पुगेको छ । नेपाल सरकार, खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा निर्माण गरिएको यस आयोजनाको खानेपानी वितरणका लागि याङ्बेल डाँडामा चार लाख लिटर क्षमताका दुई मुख्य ट्याङ्की बनाइएका छन् । आयोजनामध्ये दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका छन् । उक्त आयोजनाको करिब ९८ प्रतिशत काम सकिएको जनाइएको छ । यसअघि २३ ट्याङ्कीमा पानी परीक्षण भइसकेको छभने ‘मेनलाइन’ र ‘शाखा लाइन’मा पाइप बिछ्याउने तथा घरघरमा धारा निर्माणका लागि आवश्यक सामग्री वितरण कार्य भइरहेको जनाइएको छ । साथै, प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमा समेत पानी परीक्षण भइसकेको थियो । खानेपानीको चरम अभाव झेलिरहेको मण्डनदेउपुर नगरका घरघरमा खानेपानी पु¥याउन पनि इन्द्रावती नदीको पानी लिफ्टिङ गर्न लागिएको छ । नगरका पाँच हजारभन्दा बढीलाई हाल १० नं वडास्थित थामडाँडामा निर्माण गरिएको मुख्य ट्याङ्कीमा वडास्थित इन्द्रावती नदीको नारिमखर्क र ७ नं को सोतेमा दुईवटा ‘समवाएल’ निर्माणबाट पानी खसालिने योजना बनाइएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार बाढीले मुहान क्षेत्र तथा अन्य केही स्थानका संरचनामा करिब रु पचास लाखको क्षति पुगेको छ । नारिमखर्क र सोतेमा पानी प्रशोधन केन्द्र (ट्रिडमेन्ट प्लान) निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । यस आयोजनाअन्तर्गत हाल विभिन्न स्थानमा आवश्यक ३० वटासहित २३ वटा वितरण ट्याङ्की निर्माण सकिएको छ । भूकम्पले पानीका मूल सुकाएपछि खानेपानीको समस्या झेलिरहेका यहाँका बासिन्दाले केही महिनामै खानेपानी अभावबाट उन्मुक्ति पाउने अपेक्षा गरिएको छ । नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको रु ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित रु एक अर्बको आयोजना स्वीकृत गरिएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments