Monday, April 27, 2026
No menu items!
Homeटप-स्टोरीप्लास्टिकजन्य सामग्री विस्थापित गर्न टपरी उद्योग सञ्चालन

प्लास्टिकजन्य सामग्री विस्थापित गर्न टपरी उद्योग सञ्चालन

गोरखा, १४ कात्तिक

ग्रामीण क्षेत्रमा बढ्दो प्लास्टिकजन्य सामग्रीलाई विस्थापित गर्न महिलाले व्यावसायिक टपरी उद्योग सञ्चालनमा ल्याएका छन् । गोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित खाब्दीभन्ज्याङमा महिलाले टपरी उद्योग सञ्चालनमा ल्याएका हुन् ।

बुङ्कोट सामुदायिक सेवा केन्द्रले लगनशील आयआर्जन महिला समूहमा आबद्ध महिलाको सहभागितामा उद्योग सञ्चालनमा ल्याएर सालको पातबाट टपरी, बोतालगायत उत्पादन गर्न सुरु गरेको केन्द्रकी अध्यक्ष दुर्गा गरन्जा मगरले बताउनुभयो । पालिकाभित्र अधिकांश भोजभतेरमा प्लास्टिकबाट बनेका सामग्री प्रयोग हुन थालेपछि त्यसलाई विस्थापित गर्न टपरी उद्योग सञ्चालनमा ल्याइएको हो ।

“पछिल्लो समय भोजभतेरमा मात्र होइन हरेकजसो चिया पसल र घरको भान्सामा समेत प्लास्टिकका गिलास, प्लेट चम्चाको प्रयोग बढ्न थाल्यो”, उहाँले भन्नुभयो, “प्लाटिकबाट बनेका सामग्री प्रयोग गरिसकेपछि त्यसको व्यवस्थापनमा कठिनाइ हुने, वातावरण पनि प्रदूषित हुने भएकाले सालको पातबाट बनेको टपरी र बोता प्रयोगमा प्रोत्साहन गर्न उद्योग सुरु गरिएको छ ।”

प्लास्टिकका प्लेट, गिलास, चम्चालगायतका सामान प्रयोग गर्दा मात्र नभई नष्ट गर्दा समेत त्यसबाट निस्कने प्रदूषणले स्वास्थ्यमा असर पुर्याउने हुँदा सालको पातबाट बनाइएका सामग्री प्रयोग गर्नु राम्रो हुने भएकाले जङ्गलमा खेर गइरहेका पातबाट गाउँमै दुना, टपरीलगायत उत्पादन गर्न थालिएको अध्यक्ष मगरको भनाइ छ ।

“हाम्रा सामुदायिक वनमा खेर गइरहेका सालका पात अहिलेसम्म हामीलाई पैसा पर्दैन”, उहाँले भन्नभुयो, “बिरुवाको संरक्षण गरेर पात सहजै ल्याउन सकिन्छ, त्यसबाट टपरी र बोता उत्पादन गर्यौँ भने दिदीबहिनीको खेर गइरहेको समय पनि सदुपयोग हुने, आयआर्जन पनि हुने र प्लास्टिकजन्य सामग्रीको प्रयोग गर्न पनि पर्दैन ।”

उद्योगबाट स्थानीय महिलाको आयआर्जन वृद्धिमा सहयोग पुग्ने केन्द्रकी परिचालक गीता श्रेष्ठले जानकारी दिनुभयो । “रु दुई लाखमा मेसिन खरिद गरेर उद्योग सुरु गरिएको होे”, उहाँले भन्नुभयो, “फुर्सदको समयमा समूहका सदस्यले जङ्गलबाट पात सङ्कलन गरेर ल्याउने र मेसिनबाट टपरी उत्पादन गर्ने गर्छौँ ।”

महिला समूहमा १४ महिला आबद्ध छन् । उद्योगबाट अहिले टपरी बोता (दुना)लगायत उत्पादन गर्ने गरिएको छ । उत्पादित टपरी प्रतिगोटा रु सात र बोता प्रतिगोटा रु पाँचमा बिक्री हुने गरेको श्रेष्ठले जानकारी दिनुभयो । उत्पादन गर्नसके बजारको समस्या नरहेको उहाँको भनाइ छ ।

“अहिलेसम्म बजारको कुनै समस्या भएको छैन, जति उत्पादन भयो त्यति बिक्री भइरहेको छ”, श्रेष्ठले भन्नुभयो । उद्योगमा उत्पादित सामग्री स्थानीयस्तरमा नै खपत हुने गरेको उहाँले बताउनुभयो । उद्योगमा टपरी र बोता उत्पादन गरेर राख्ने र माग भएपछि बजारमा पठाउने गरिएको छ ।

‘‘महिला समूहका दिदीबहिनी वनमा गएर सालको पात टिपेर ल्याउनुहुन्छ, उत्पादित सामग्री बिक्रीबाट हुने आम्दानी महिला समूह र सिकाइ केन्द्रले लिने गरेको छ”, उहाँले भन्नुभयो । चाडपर्व, विवाह, व्रतबन्ध, भोजभतेरलगायत सामूहिक कार्यक्रम गर्दा स्थानीयस्तरमा उद्योगमा उत्पादित सामग्री बिक्री हुँदै आएको छ ।

स्थानीवासी सचेत भएका कारण पनि उत्पादित सामग्रीको बजार समस्या नहुने श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो । पर्याप्त प्रचार–प्रसार गर्न सके यसको माग अझै बढ्न सक्ने छ । जुनसुकै ठाउँबाट माग आए पनि सामान उत्पादन गरी पुर्याउन सकिने उद्योगले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments