Tuesday, April 28, 2026
No menu items!
Homeनेपाल खबरस्थानीय कृषिउपज र पर्यटन प्रवर्द्धनका लागि तनहुँ महोत्सव

स्थानीय कृषिउपज र पर्यटन प्रवर्द्धनका लागि तनहुँ महोत्सव

डुम्रे (तनहुँ), २४ पुसः ‘तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने मूल नाराका साथ नवौँ तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सव गरिने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाइको सहआयोजनामा यही पुस २५ गतेदेखि माघ ७ गतेसम्म व्यास नगरपालिका–३ बिपी वनबाटिकामा नवौँ तनहुँ महोत्सव गरिने भएको हो । महोत्सवमा कृषिउपज प्रवद्र्धनलाई पहिलो प्राथमिकता दिइएको आयोजकले जनाएको छ । किसानको उत्पादन बिक्री नहुने, सस्तोमा बेच्नुपर्नेलगायत समस्याले गर्दा जमिन बाँझिनेक्रम बढेकाले पेसा संरक्षण गर्न कृषिलाई पहिलो प्राथमिकता दिइएको तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रले जानकारी दिनुभयो । “विचौलीयाका माध्यमबाट सस्तोमा बेच्नुुपर्दा लागत मूल्य नउठेर किसान पलायन हुने अवस्था छ, उपभक्ताले महँगो मूल्यमा किनुपर्ने बाध्यता छ, यसको न्यूनीकरण र किसानलाई संरक्षण गर्ने मुख्य उद्देश्यले महोत्सवमा कृषिलाई प्राथमिकतामा राखेका छौँ”, अध्यक्ष मिश्रले भन्नुभयो । किसानलाई निःशुल्क कक्षको व्यवस्था गरिएको र जिल्लाका पालिकालाई पत्राचार गरेर निःशुल्क ढुवानीको व्यवस्था गर्न पहल कदमी गरिएको उहाँले बताउनुभयो । साथै प्रोत्साहित गर्नका लागि उत्कृष्ट किसानलाई सम्मान गरिने उहाँले जानकारी दिनुभयो । कृषि उत्पादनको बजारीकरण, नयाँ प्रविधिबारे जानकारी प्रदान गर्नुका साथै व्यावसायिक कृषि पेसामा आबद्ध हुन युवालाई उत्प्रेरित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । महोत्सवबाट बेरोजगार युवा व्यावसायिक कृषितर्फ आकर्षित हुने, कृषिउपजको बजारीकरण भई आयमा वृद्धि हुने, उन्नत एवं विकासे (हाइब्रिड) प्रजातिको बीउको प्रयोग तथा उत्पादनमा वृद्धि तथा विदेशबाट फर्केका युवाको कृषितर्फ आकर्षण एवं व्यावसायिकतामा अभिवृद्धि हुने अपेक्षा गरिएको छ । महोत्सवमार्फत तनहुँको पर्यटन प्रवद्र्धन र धार्मिक एवं ऐतिहासिकस्थलको प्रवद्र्धन गरिने तनहुँ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष तथा महोत्सवका निर्देशक पविन्द्रकुमार श्रेष्ठले बताउनुभयो । कृषिअन्तर्गत कृषिउपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी कक्ष राखिनेछ । महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफूल, तरकारी महलगायत स्थानीय कृषिउपज तथा उत्पादन समावेश गरिनेछ । महोत्सवमा दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पशुपक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, अण्डा लगाएको मासुजन्य बिक्री, मत्स्यजन्य परिकारसमेत समावेश हुने आयोजकले जनाएको छ । हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको महोत्सवका प्रवक्ता तथा तनहुँ उद्योग वाणिज्य सङ्घका महासचिव सुबोध अधिकारीले जानकारी दिनुभयो । तनहुँ उद्योग वाणिज्य सङ्घसँग आबद्ध व्यावसायीका लागि कक्षमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको कक्ष व्यवस्थापन समितिका संयोजक तथा तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाइका सभापति शुकनारायण श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव सफल बनाउन विभिन्न २९ वटा उपसमिति गठनगरी जिम्मेवारी बाँडफाँट गरिएको प्रयोजन समितिको संयोजक तथा तनहुँ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष इमकुमार मल्लले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments