Saturday, April 18, 2026
No menu items!
Homeनेपाल खबरबाँकेको सामुदायिक वनमा लाहाखेती विस्तार

बाँकेको सामुदायिक वनमा लाहाखेती विस्तार

जानकी (बाँके), २२ पुसः डिभिजन वन कार्यालय कोहलपुरले बाँकेको सिर्जना सामुदायिक वनमा लाहाखेती गर्न सुरुआत गरेको छ । लाहालाई सरकारी दस्तावेज सिल गर्न, हँसिया, खुर्पा जस्ता घरेलु कामका लागि प्रयोग गरिने हातहतियारको बिँडमा, गरगहना भर्न, फर्निचर कारखानालगायत अन्य प्रयोजनका लागि प्रयोग गरिन्छ । “लाहा कुसुमको रुखमा राम्रो फस्टाउने र आम्दानी पनि राम्रो हुने भएपछि हामीले यहाँको सामुदायिक वनमा लाहाखेती विस्तार गरेका हौँ ।” डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले भन्नुभयो,“यो खेतीले यहाँका वन उपभोक्ताहरु लाभान्वित हुने विश्वास छ ।” उहाँका अनुसार झापाबाट दुईजना लाहासम्बन्धी काम गर्दै आएका विज्ञको टोलीले बाँकेका सामुदायिक वन उपभोक्तालाई दुई दिनको तालिम दिएर १२ रुखमा २५ किलो लाहाको बीउ लगाइएको छ । “पूर्व झापाबाट दुई जनाको विज्ञ टोलीले यहाँका सामुदायिक वनका उपभोक्तालाई लाहासम्बन्धी तालिम दिएर २५ किलो लाहाको बीउ लगाएका छौँ ।” उहाँले भन्नुभयो, “रूखका हाँगामा लाहा उत्पादन गर्ने लाहा कीरा (भ्रुण) छाडिएको छ ।” विगत २५ वर्षदेखि लाहाखेतीमा आफूले आर्जन गरेको ज्ञान र अनुभवलाई बाँकेमा साझा गर्न आउनु भएका लाहा विज्ञ डम्मर विश्वकर्माका अनुसार कुसुमको रुख नरम हुने भएको हुनाले उक्त रुखको हाँगामा लाहाका भू्रणलाई टाँसिन सहज हुन्छ । र त्यही हाँगाको रस चुसेर आफ्नो जीवनचक्र पूरा गर्ने परजीवीलाई लाहा भनिन्छ  । उहाँका अनुसार लाहाको कच्चापदार्थ प्रतिकेजी रु एक हजारसम्म बिक्री हुने गरेको विश्वकर्माले बताउनुभयो । एउटा रुखबाट ५० किलोसम्म लाहा उत्पादन गर्न सकिने उहाँको भनाइ थियो । लाहा तयार हुनका कम्तीमा पनि एक वर्षको समय पर्याप्त हुने भएको हुनाले वर्षमा एउटा रुखबाट ५० हजारको उत्पादन हुन्छ । विज्ञ विश्वकर्माका अनुसार लाहा उत्पादन भाले र पोथीको यौनक्रीडापश्चात् पोथी कीराको शरीरमा परिवर्तन हुन्छ  । त्यसले हाँगाको रस अत्यधिक चुस्ने गर्छ । पोथी लाहाले अण्डा पार्नका लागि आफ्नो घर निर्माण गर्छ  । पोथीको शरीरबाट एक प्रकारको गम वा नरम पदार्थ निस्कन्छ । जस्लाई लाहा भनिन्छ  । लाहा उत्पादनका लागि मनसुनी वर्षा त्यसमा पनि १५ डिग्री सेल्सियसदेखि ४०÷४५ डिग्री सेल्सियससम्म तापक्रम राम्रो मानिने विश्वकर्माले बताउनुभयो । वातावरणका दृष्टिले नेपालमा यसको खेती उपयुक्त रहेको उहाँको भनाइ थियो । उहाँसँगै लाहाको विषयमा विज्ञको रुपमा आफ्ना अनुभव साट्न झापादेखि लाहा विज्ञ रोहित सेन्चुरी पनि आउनुभएको थियो । जिल्लाका सामुदायिक वन र उपभोक्तालाई आयमूलक बनाउने उद्देश्यका साथ बाँकेमा लाहाखेती पुसको १७ र १८ गते लगाइएको शव डिभिजन वन कार्यालय शम्शेरगञ्जका वरिष्ठ वन अधिकृत मनोज शर्मा लम्सालले जानकारी दिनुभयो । “यहाँका उपभोक्ताको आयआर्जन वृद्धि विकासका लागि हामीले यो सहजै उत्पादन गर्न सकिने लाहा खेतीको सुरुवात गरेका हौँ ।” उहाँले भन्नुयो, “यो खेती कुसुमको रुखमा राम्रो फस्ट्याउने भएको हुनाले एक हिसाबले हामीले हाम्रा सामुदायिक वनमा भएको कुसुमको रुखलाई परीक्षणका लागि उपयोग पनि गरेका हौँ ।” लाहाखेती विस्तार तथा क्षमता विकासका लागि आयोजना गरिएको तालिममा सामुदायिक वन उपभोक्ता समूहका ५१ जनाको सहभागिता रहेको सव डिभिजन कार्यालय ओभरिका प्रमुख शर्माले जानकारी दिनुभयो । सिर्जना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुमन पौडेलले समितिको आयस्तर सुधार गर्न लाहाखेतीले मद्दत गर्ने विश्वास लागेको बताउनुभयो । “हाम्रो वनमा रहेका बिरुवाको हाँगामा लाहा उत्पादन गर्न सके आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।” लाहाको प्रयोग फर्निचरको रङ, गरगहना, मेकअपका सामान, जुत्ताको पोलिस, नेल पोलिस, क्याप्सुल, ट्याब्लेट, बिजुलीका बल्ब, लाहा छाप, हातहतियारलगायतमा प्रयोग गरिन्छ  । सिर्जना सामुदायिक वनमा रहेका कुसुमका रुखमा लाहाको बीउ रोपिए पनि राप्तीसोनारी गाउँपालिकामा पर्ने जलनधारा र झिजरी महिला सामुदायिक वनका उपभोक्तालाई पनि उक्त तालिममा सहभागी गराइएको थियो । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments