Wednesday, April 29, 2026
No menu items!
Homeनेपाल खबरव्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी

व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी

बरहथवा (सर्लाही), ३ पुसः सर्लाहीको उत्तरी क्षेत्र तरकारी उत्पादनको हिसाबले निकै परिचित ठाउँ हो । यस क्षेत्रमा उत्पादित हरियो तरकारी सर्लाहीसहित देशका मुख्य बजारसम्म पुग्ने गरेको छ । यहाँका किसानले अन्य तरकारीसँगै टमाटर खेतीबाट मनग्य आम्दानी लिने गरेका छन् । त्यसैमध्येका एक हुनुहुन्छ, हरिवन नगरपालिका–४, गणेशचोक निवासी ५९ वर्षका कामिल मिकरानी । उहाँका अनुसार टमाटर खेतीबाट बर्सेनि रु पाँच लाखसम्म आम्दानी भइरहेको छ । कक्षा ८ सम्म औपचारिक शिक्षा लिनुभएका मिकरानीले टमाटर खेती गर्नकै लागि व्यापार छाडेको बताउनुभयो । “सुरुमा थोरै मात्र तरकारी र त्यसमा पनि टमाटर लगाउने गरेको थिए”, उहाँले भन्नुभयो, “धेरै समय कपडा व्यापारमा बिताएपछि कृषिकर्ममा लागेको हुँ ।” मिकरानीले अहिले दुई बिघामा टमाटर खेती गरिरहनुभएको छ । एक बिगामा चिउरी र एक बिगामा कविता जातको टमाटर रोपेको उहाँले बताउनुभयो । कात्तिकमा रोपेको टमाटर पुस अन्तिम तिर टिप्न मिल्ने हुन्छ । “पहिला अरुको खेत भाडामा लिएर चार बिघासम्म टमाटर खेती गर्ने गरेको थिए”, उहाँले भन्नुभयो, “उमेर ढल्कियो छोराछोरी खेतमा काम गर्न मान्दैनन् । आफैँले दुई बिघा लगाएको छु । छ महिनामा रु पाँच लाखको टमाटर आरामले बेच्छु ।” राम्रो भाउ आउने समयमा उत्पादन गर्न सक्दा टमाटरबाट पैसा हुने उहाँ बताउनुहुन्छ । अन्य समयमा बालीको स्याहार राम्रो हुँदा उत्पादन बढ्ने भएकाले आम्दानी खासै नराम्रो नहुने उहाँको अनुभव छ । “किसानले उत्पादनको मूल्य राम्रो पाए हुन्थ्यो भन्नु सामान्य हो”, मिकरानीले भन्नुभयो, “मैले खेती सुरु गरेको ३९ वर्ष भयो, खेरै गएर डुब्यो भन्नुपरेको छैन ।” उहाँले प्रतिक्यारेट रु तीन सयदेखि रु एक हजार दुई सयसम्म टमाटर बिक्री गर्दै आउनुभएको छ । टमाटर एक वर्षमा छ महिना मात्र खेती हुने गरेकाले अन्य समय धान तथा मकै खेती गर्ने गरेको उहाँले जानकारी दिनुभयो । यसरी गरिने फरक–फरक खेतीले बाली चक्र पूरा हुने र खेत राम्रो हुने उहाँको भनाइ छ । “पहिलो तीन महिना खुब स्याहार गरे पछिको तीन महिना मज्जाले बाली टिप्न पाइन्छ”, मिकरानीले भन्नुभयो, “कहिले व्यापारी खेतमै आँउछन् । कहिले बजारसम्म लैजाने गरेको छु ।” टमाटर खेतीबाटै थोरै खेती समेत जोडेको उहाँले सुनाउनुभयो । किसान लालबन्दी नगरपालिका–१, नवलपुरका दिनेश बैठाले टमाटर खेतीबाट मनग्य आम्दानी गरेको बताउनुभयो । अहिले किसाने टमाटर रु एक हजार आठ सय क्यारेटसम्म बेच्न पाएको र उत्पादन समयको किसानले ख्याल गर्नुपर्ने उहाँको भनाइ छ । खेती गरेर आम्दानी हुँदैन भन्ने धारण आमसमाजमा व्याप्त भएका कारण नयाँ पुस्ता खेती किसानीमा आउन नचाहेको उहाँको बुझाइ छ । प्राविधिक ज्ञान लिएर खेती गर्ने हो भने, टमाटर मात्र नभइ मौसमअनुसार जुनसुकै हरियो तरकारी उत्पादनबाट राम्रो आम्दानी लिन सकिने उहाँले दाबी गर्नुभयो । तीन वर्ष वैदेशिक रोजगारीको क्रममा दुबई बसेर आउनुभएका बैठाले टमाटर खेतीबाट घरमै परिवारसँग बसेर रु चार लाखदेखि पाँच लाखसम्म वर्षमा आम्दानी गर्ने गरेको बताउनुभयो । उहाँले आफ्नो एक बिघा र हुण्डामा लिएको १० कठ्ठा खेतमा कविता जातको टमाटर लगाउनुभयो । सुरक्षित भण्डारणको समस्या उत्पादन भएको तरकारी सुरक्षितसँग भण्डारण गर्ने व्यवस्था नहुँदा भने, किसान मारमा परेको उहाँहरूको भनाइ छ । राख्ने ठाउँ नहुँदा व्यापारीको मूल्यमा सामान छाड्नुपर्ने बाध्यता रहेको मङ्गलबार लालबन्दीस्थित कृषि थोक बजारमा टमाटर बिक्रीका लागि आउनुभएकी रिता मगरले गुनासो गर्नुभयो । “आज मूल्य नभए राखेर भोलि बेच्छु, भन्ने अवस्था छैन, बिग्री हाल्छ”, उहाँले भन्नुभयो । सर्लाहीको बागमती, हरिवन, लालबन्दी, ईश्वरपुर, हरिपुर, चन्द्रनगर, बरहथवालगायत पालिकामा उत्पादन भएका हरियो तरकारी देशका मुख्य बजारसम्म पुग्ने गरेको कृषि थोक बजारका व्यापारी वीरेन्द्र महतोले बताउनुभयो । —

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments