Wednesday, April 29, 2026
No menu items!
Homeनेपाल खबरपर्यटकको प्रतीक्षामा टिटीताल

पर्यटकको प्रतीक्षामा टिटीताल

म्याग्दी, २ पुसः मुस्ताङको थासाङ गाउँपालिका–५ मा रहेको टिटीताल पर्यटकका पर्खाइमा छ । सडक यातायातको असुविधा र प्रचारप्रसारको कमीले टिटीताल ओझेलमा परेको हो । समुद्री सतहबाट दुई हजार छ सय ७९ मिटर उचाइमा रहेको लाम्चो आकारको तालको धार्मिक, पर्यटकीय र जैविक महत्व छ । टिटीका बासिन्दा धिरेन्द्र विश्वकर्माले मुस्ताङ आउनेमध्ये पाँच प्रतिशत पर्यटक पनि टिटीतालमा आउन नसकेका बताउनुभयो । “वार्षिक चार लाखभन्दा बढी पर्यटक भित्रने मुस्ताङ आउनेमध्ये कमै मात्र पर्यटक टिटीतालमा आउँछन्”, उहाँले भन्नुभयो, “टिटीताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सक्ने होभने पर्यटकको बसाइ लम्ब्याउन सकिने थियो ।” दैनिक हजाराँै पर्यटक आवतजावत गर्ने बेनी–जोमसोम सडकको लेते र कोखेठाटीबाट पाँच किलोमिटरभित्र रहेको टिटीताल सुनसान छ । लेते–कुञ्जो–टिटी–धम्पु–सिर्खुम जोड्ने १० किलोमिटर सडक, घम्पुु र लेतेस्थित कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण हुने होभने पर्यटक आगमन बढ्ने विश्वकर्माले बताउनुभयो । हाल बेनी–जोमसोम सडकअन्तर्गत लेते छयो, धम्पु र सिर्खुमबाट झोलुङ्गे पुलमा मोटरसाइकल तार्ने अथवा पैदलयात्रा गरेर टिटीताल घुम्न जाने गरेका छन् । धवलागिरि र निलगिरि हिमालको बीच भागमा टिटीताल रहेको छ । तालको चारैतिर सल्ला र धुपीका रुखको जङ्गल छन् । शान्त वातावरण, विभिन्न प्रजातिका चराको बासस्थान, पृष्ठभूमिको हिमाल र ताललाई एकैपटक अवलोकन गर्न पाउनु टिटीतालको विशेषता हो । टिटी मुस्ताङमा रहेकामध्ये सबैभन्दा ठूलो ताल पनि हो । बेनी नगरपालिका–१० पात्लेखेतका सागर परियारले पछिल्लो एक वर्षमा तीनपटक टिटीताल घुम्न पुगेको बताउनुभयो । “बिहान धवलागिरिमा सूर्योदय र साँझमा निलगिरि हिमालमा सूर्यास्त हुँदा देखिने दृश्य मनमोहक हुन्छ”, उहाँले भन्नुभयो, “हाँसको बथान रमाइरहेको तालको एकातर्फबाट निलगिरि र अर्कातर्फबाट धवलागिरि हिमाल देख्न पाइन्छ ।” अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गरेको अध्ययनअनुसार टिटीताल क्षेत्रमा एक सय ८६ प्रजातिका चराको बासस्थान छ । यो तालमा ‘मालार्ड’ प्रजातिको हाँसको बासस्थान रहेको मुस्ताङ डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले बताउनुभयो । उहाँका अनुसार मालार्ड प्रजातिको हाँस नेपालका अन्य ठाउँमा पाइँदैन । त्यसैले टिटीताल जैविक हिसाबले पनि महत्त्वपूर्ण मानिएको वन अधिकृत रानाभाटले बताउनुभयो । मानिस र अन्य जनावरको पहुँच नभएको तालको बीच भागमा रहेको थुम्काहरूमा हाँसले गुँड बनाएका छन् । तालको कुनातर्फ रहेको थानमा हरेक वर्षको जनैपूर्णिमाका दिन मेला लाग्ने गर्छ । जनैपूर्णिमाका दिन टिटीतालमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको स्थानीय विकास गौचनले बताउनुभयो । थासाङ गाउँपालिका, गण्डकी प्रदेश सरकार, सङ्घीय सरकारको पर्यटन बोर्ड र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले ताल संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएको थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनले बताउनुभयो । गाउँपालिका र पर्यटन मन्त्रालयको साझेदारीमा तालको वरपर रेलिङसहितको पदमार्ग, प्रतिक्षालय, सार्वजनिक शौचालय निर्माण भएको छ । टिटीसहित वडा नम्बर २ कोवाङको भूगोलमा पर्ने भुछर्तो र सेकुङताल तथा गुरुसाम्पुक गुुफामा पनि पूर्वाधार निर्माण भएको छ । यसअघि तालको पानी निस्कने ठाउँमा बाँध बनाएर क्षेत्रफल बढाइएको थियो । एक्पापले ताल परिसरमा पर्यटक बस्नका लागि फलामको बेञ्च र फोहर व्यवस्थापन गर्ने डस्टविन राखेको छ । ताल नजिकैको टिटीगाउँमा थकाली र दलित समुदायका २० घरपरिवारको बसोबास छ । पर्यटकको सुविधाका लागि तीनवटा होटल तथा रेष्टुरेष्ट छन् । टिटीताल नजिकै तेजोडाडामा रहेको हिमालयन प्याराडाइज होटलका सञ्चालक दीपक गौचनले पाहुनालाई अग्र्यानिक तरकारी र खानाका परिकार खुवाउने गरिएको बताउनुभयो । मुस्ताङको सबैभन्दा उर्वर जमिन भएको कुञ्जो र ताक्तुङ गुरुङ समुदायको उद्गम थलो मानिन्छ । कुञ्जोबाट कास्की, लमजुङ, गोरखालगायत जिल्लामा गुरुङ समुुदाय बसाइँसराइ गरेर गएका गौचनले बताउनुभयो । टिटीताललाई सिमसार क्षेत्रमा सूचीकृत गर्न, बीच भागमा थुप्रिएको झार हटाउन, छयो र कालोपानीस्थित कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल तथा छयो–कुुञ्जो–ताक्लु–टिटी–धम्पुु–सिर्खुम सडक आयोजनालाई पूर्णता दिन स्थानीयवासीले माग गरेका छन् । साथै कोखेठाटीमा मोटरेबल पुुल निर्माणको पनि माग गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments