Thursday, April 23, 2026
No menu items!
Homeनेपाल खबरदूध बेचेरै मासिक एक लाख बढी आम्दानी

दूध बेचेरै मासिक एक लाख बढी आम्दानी

नवलपुर (नवलपरासी), १ पुसः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषकले दूध बिक्री गरेर मासिक रु एक लाख ५० हजार बचत गर्दै आएका छन् । गैँडाकोट–६ गैरीका व्यावसायिक पशुपालक कृषक नारायण पौडेलले गर्नुभएको पशुपालन व्यवसायबाट सबै खर्च कटाएर मासिक सो रकम बचत हुने गरेको जानकारी दिनुभयो । विसं २०७४ मा पौडेलले रु १५ लाख लगानी गरी सिर्जनशील उन्नत कृषि तथा पशु फार्म सञ्चालनमा ल्याउनुभएको थियो । पाँच गाईबाट व्यावसायिक पशुपालन सुरु गर्नुभएको पौडेलसँग हाल सात माउ भैँसी, नौ माउ गाई एवं पाँच पाडी र एउटा बाच्छी छ । फार्ममा रहेकामध्ये १४ गाईभैँसी दुहुनो भएको र दुईवटा गाई ब्याउने रहेका बताउनुभयो । उहाँले दैनिक एक सय ५० लिटर दूध बिक्री गर्दै आएको बताउनुभयो । “साँझ र बिहान गरी दैनिक एक सय ५० लिटरसम्म दूध बिक्री गर्दै आएको छु”, उहाँले भन्नुभयो, “पशुपालन व्यवसायबाट अहिले मासिकरुपमा रु एक लाख ५० हजार बचत हुने गरेको छ ।” फार्ममा उत्पादन भएको दूधसँगै गोबर मलसमेत बिक्री हुने गरेको उहाँले बताउनुभयो । गाईभैँसीलाई दाना तथा घाँसखेतीका लागि मासिक बढीमा रु एक लाख ५० हजार जति खर्च हुने गरेको छ । “पशुपालन व्यवसायसँग जोडेर चार कट्ठा क्षेत्रफलमा टमाटर, लौकालगायतका तरकारीसमेत लगाएको छु”, उहाँले भन्नुभयो, “गाईभैँसीलाई आवश्यक पर्ने घाँसका लागि दुई बिघा क्षेत्रफल जमिन भाडामा लिएको छु ।” यहाँ उत्पादन हुने दूध तथा तरकारी घरबाटै बिक्री हुने गरेको पौडेलको भनाइ छ । “फार्ममा उत्पादन हुने तरकारी तथा दूध बिक्रीका लागि समस्या छैन”, उहाँले भन्नुभयो, “तरकारीमा उचित मूल्य पाउन कठिन भए पनि दूध बिक्रीका लागि भने राम्रै मूल्य पाइन्छ ।” आफूले उत्पादन गरेको दूध घरबाटै बिक्री हुने गरेको भन्दै पौडेलले गाईको दूध रु ७५ र भैँसीको दूध रु १०० मा बिक्री हुँदै आएको बताउनुभयो । “गाईभैँसीलाई खुवाउने दानासमेत घरमा नै बनाउने गरेको छु”, उहाँले भन्नुभयो, “घाँस पराल काट्ने च्यापकटर र मकैसहितका खाद्यान्न पिसेर दाना बनाउने मेसिन पनि घरमै राखेको छु ।” पशुपालनमा आफ्नी श्रीमती, दिदी र भिनाजुले सघाउने भन्दै आवश्यक परेको अवस्थामा घण्टे खेताला (काम गरेको घण्टाको आधारमा पारिश्रमिक लिने श्रमिक) समेत लगाउने गरेको बताउनुभयो । “हामी घरको चार जना मिलेर पशुपालनमा जुट्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “सधैँ सबै काम चार जनालेमात्रै गर्न नसक्ने अवस्थामा घण्टे खेताला पाइन्छ, उनीहरुलाई पनि काममा लगाउने गरेका छौँ ।” गाईभैँसीको दूध हातले दुहुने गरेको भन्दै १४ वटै गाईभैँसीको दूध दुहुन साढे एक घण्टा लाग्ने उहाँले बताउनुभयो । व्यावसायिक रुपमा कृषि तथा पशुपालन सुरु गरेपछि कृषि ज्ञान केन्द्रबाट गोठ निर्माणका लागि रु एक लाख ५० हजार अनुदान पाएको उहाँले बताउनुभयो । त्यसैगरी भकारो (गोठ) सफा गर्नका लागि नगरपालिकाबाट ७५ प्रतिशत अनुदानमा समरसेबल ट्युबबेल निर्माण गरेको पौडेलको भनाइ छ । फार्ममा पालेका गाईलाई कृत्रिम गर्भाधान र भैँसीलाई प्राकृतिकरुपमा गर्भाधान गराउने गरेको उहाँले बताउनुभयो । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments