Wednesday, April 29, 2026
No menu items!
Homeनेपाल खबरप्रविधिसँग जोडिन थाले दुग्ध उत्पादन किसान

प्रविधिसँग जोडिन थाले दुग्ध उत्पादन किसान

ढोरपाटन (बागलुङ), २८ मङ्सिर : परम्परागत रूपमा पशुपालन गरी दुग्ध उत्पादन गर्दै आएका बागलुङका किसान आधुनिक प्रविधिसँग जोडिन थालेका छन् । जिल्लाको काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका एक हजार छ सय जना किसान प्रविधिको प्रयोग गरी दुग्ध उत्पादनमा लागेका हुन् । धवलागिरि सामुदायिक स्रोत विकास केन्द्र बागलुङ र प्राटिकल एक्सन नेपालको सहकार्यमा किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक उपकरण उपलब्ध गराएपछि अहिले गुणस्तरीय दूध उत्पादन गर्न थालेका हुन् । दुई पालिकाका आठवटा दुग्ध उत्पादन सहकारीमा आबद्ध र ४२ वटा व्यक्तिगत फार्म सञ्चालन गर्दै आएका किसानलाई उपकरण उपलब्ध गराइएको थियो । किसानलाई मिल्क एनालाइजर, सोलार वाटर हिटर, चापकटरलगायत आधुनिक उपकरण उपलब्ध गराइएको धवलागिरि सामुदायिक स्रोत विकास केन्द्रका इन्जिनियर साजन आचार्यले जानकारी दिनुभयो । बागलुङ र काठेखोलाका दुग्ध उत्पादक सहकारी, सङ्घ र व्यक्तिगत फार्ममा आबद्ध किसानलाई गत असोजमा उक्त उपकरण उपलब्ध गराइएको उहाँको भनाइ छ । इन्जिनियर आचार्यका अनुसार दुई पालिकामा रू ५९ लाख ७५ हजार पाँच सय लगानी गरेको छ । काठेखोला गाउँपालिका–८ लेखानीस्थित गाजा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष गुणाखर कँडेलले आधुनिक उपकरण प्रयोग गर्न थालेपछि किसानल दूधको गुणस्तर बढाउन लागेको बताउनुभयो । दूधको गुणस्तर बढेपछि उचित मूल्य पाउन थालेको उहाँको भनाइ छ । पहिले गाउँका किसानले उत्पादन गरेको दूधको गुणस्तर मापन गर्न निकै झण्झटिलो रहेको अहिले सहज बनेको अध्यक्ष कँडेलले बताउनुभयो । काठेखोला गाउँपालिका–६ का दुग्ध उत्पादक किसान सुरेश कँडेलले आधुनिक उपकरणको प्रयोग गर्न थालेपछि पशुचौपाया निरोगी हुँदै गएपछि दूध उत्पादन पनि बढेको बताउनुभयो । आफूले सोलार वाटर हिटर प्राप्त गरेपछि भैँसीलाई समय–समयमा तातोपानीले नुहाइदिएपछि निरोगी भएको सुनाउँदै धुँवारहित गोठ बनेको उहाँको भनाइ छ । कँडेलले भन्नुभयो, “पहिले गोठमै कुँडो पकाउनुपथ्र्यो, धुँवाले गर्दा वस्तुभाउ बिरामी पर्थे, दाउराको खपत बढी हुन्थ्यो, तर अहिले सोलारबाट पानी तताउन थालेपछि समयको बचतसँगै घरगोठ धुँवारहित बनेको छ, यसले मान्छेको स्वास्थ्यमा समेत असर गरेको छैन भने दूध पनि पहिलेको तुलनामा केही बढी उत्पादन हुन थालेको छ ।” धवलागिरि सामुदायिक स्रोत विकास केन्द्र बागलुङकी अध्यक्ष सिर्जना थापाले किसानलाई प्रविधिसँग जोडेर जीविकोपार्जनमा टेवा पुर्याउने हिसाबले आधुनिक उपकरण अनुदानमा सहयोग गरेको बताउनुभयो । किसानले उपकरणको प्रयोग गर्न थालेपछि दूध उत्पादनमा थप मद्दत पुगेको उहाँको भनाइ छ । प्रविधिको प्रयोग गरेको छोटो समयमै उनीहरूको व्यवसाय राम्रो हुँदै गएको अध्यक्ष थापाले बताउनुभयो । –––

Powered By  Orson Infotech

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments