Sunday, April 19, 2026
No menu items!
Homeनेपाल खबरहतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया

हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया

कञ्चनपुर, २७ मङ्सिरः कृष्णपुर नगरपालिका–२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार(सान) लगाउने कार्य गर्नुहुन्छ । चालिस किलोमिटर साइकल चढेर दैनिकजसो गाउँ, सहरबजार पुगेर यस्तो काम गर्नु उहाँको दिनचर्या नै हो । यही कामबाट आफ्नो घरखर्च सहज रूपमा चल्दै आएको उहाँले बताउनुभयो । साइकलको डण्डीमा जडान गरिएको सान (धार) लगाउने पत्थरमा चक्कु, खुकुरी, चुलेसी, कैँची, बञ्चरो, तरवारलाई घोटेर उहाँले धारिलो बनाउनुहुन्छ । तरकारी, मासु, काठ काट्ने फलामका औजारमा धार लगायवापत रानाले दैनिक करिब रु एक हजार जति आम्दानी हुने गरेको सुनाउनुभयो । “बिहानको नास्ता गरेर घरबाट निस्किन्छु । साँझ अबेर मात्रै घर फर्कने गरेको छु, दिउँसोको खाना बजार क्षेत्रमै खाने गर्छु”, उहाँले भन्नुभयो । रानाले कहिलेकाही धनगढीदेखि महेन्द्रनगर बजारसम्म पुगेर यस्तो कार्य गर्ने गरेको बताउनुभयो । खाना खर्च कटाएर दैनिक रु सात सय जति बचत हुने गरेको उहाँ बताउनुहुन्छ । सान लगाउनेकार्य रानाले २० वर्षकै उमेरदेखि गर्दै आउनुभएको हो । पहिले रानाले भारतमा यही काम गरेर घर खर्च चलाउने गरेको समेत बताउनुभयो । स्वदेश फर्केर विवाह गरेपछि यसै कार्यलाई निरन्तरता दिएको र यसैबाट आउने आम्दानीबाट पाँच छोराछोरीको लालनपालन गरिरहेको रानाको भनाइ छ । “घरखर्च यसैबाट आएको कमाईले धानिदै आएको छ । मुक्तकमैया पुनःस्थापना कार्यक्रमअन्र्तगत पाइएको घरबासको जग्गा मात्रै छ । अन्न, लुगाफाटो, औषधोपचार यसबाटै आएको कमाइले गरिरहेको छु”, उहाँले भन्नुभयो,“पछिल्लो समय त छोराले ज्यालामजदुरी गरेर सघाइरहेका छन् । हामी सबैको आम्दानी घर खर्चमै सकिन्छ ।” विसं २०५८ सालमा श्रीमतीको देहावसान भएपछि आमाको भूमिकासहित आफँैले एकल अभिभावकत्व निर्वाह गर्नुपरेको रानाले बताउनुभयो । “कमाई गर्ने माध्यम थिएन, पर्याप्त अन्न फल्ने खेत पनि छैन, पहिलेदेखि नै सिकेको सीप भएकाले यसैलाई निरन्तरता दिँदै आएको छु”, उहाँ भन्नुहुन्छ,“अहिले छोरा पनि कमाउने भएकाले केही सहज भएको छ । बुढेसकाल लागे पनि पहिलेदेखि नै काम गरिरहेकाले ग्राहकले पनि रुचाउने गरेका छन् । हतियारमा धार लगाएपछि पैसा दिन कसैले पनि कन्जुस्याइँ गर्र्दैनन् । बरु बुढेसकालमा पनि मेहनत गरेर खाने बड्डा भनेर थपेरै दिन्छन ।” रानाले चक्कु, हसिया, चुलेसीलगायतमा धार लगायवाफत रु २०, खुकुरी, बञ्चरोमा धार लगायवापत रु ५० र तरबारको रु एक सय रुपैयाँ ज्याला लिने गर्नुभएको छ । पहिला महिनाको रु ३० हजारसम्म पनि कमाइ हुने गरे पनि साइकल टाढासम्म चलाउन नसक्ने भएकाले रु १५ हजारदेखि २० हजारसम्म कमाई हुने गरेको उहाँले जानकारी दिनुभयो । “बसेरभन्दा गरेर खाँदाको आनन्द बेग्लै हुन्छ । छोरा बुहारीसँग हात फैलाएर माग्नु परेको छैन, बरु उनीहरूलाई सहयोग गर्छु”, रानाले खुसी हुँदै भन्नुभयो । —

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments