Saturday, April 18, 2026
No menu items!
Homeनेपाल खबरमानव–वन्यजन्तुबीचको द्वन्द्व घटाउने प्रयास भइरहेको छः वनमन्त्री शाही

मानव–वन्यजन्तुबीचको द्वन्द्व घटाउने प्रयास भइरहेको छः वनमन्त्री शाही

काठमाडौँ, २४ मङ्सिरः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउने प्रयास भइरहेको बताउनुभएको छ । पर्सा राष्ट्रिय निकुञ्जको अनुगमन तथा अन्तक्र्रिया कार्यक्रमपछि रासससँग कुरा गर्दै उहाँले पछिल्लो पटक निकुञ्ज क्षेत्रभित्र रहेका वन्यजन्तु आहार खोज्दै गाउँ बस्तीभित्र छिर्न थालेपछि मानव र वन्यजन्तुको द्वन्द्व बढ्न थालेको बताउनुभयो । “बाघ र जङ्गली हात्तीजस्ता ठूला जनावरलाई बाहिर बस्तीमा नआउने र मान्छेलाई जङ्गलभित्र नजाने व्यवस्था मिलाउन सके मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न सकिन्छ”, मन्त्री शाहीले भन्नुभयो । मन्त्रालयले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन प्रयास गरिरहेको उहाँको भनाइ थियो । मन्त्री शाहीले जङ्गल जनावर हिँड्ने बाटो क्षेत्रतिर मानव बस्ती विस्तार हुने थालेपछि समस्या बल्झिँदै जान थालेको उल्लेख गर्नुभयो । “वन्यजन्तुले क्षति गर्दा पीडित पक्षलाई राहतको व्यवस्था तत्काल गरिनुपर्छ”, उहाँले भन्नुभयो, “क्षति व्यहोरेका स्थानीयले तत्काल राहत नपाउँदा वन्यजन्तुप्रति आक्रोश र आक्रमण गर्न थालेका छन् ।” निकुञ्ज संरक्षण र क्षेत्रलाई समस्या होइन समृद्धिसँग जोड्न आवश्यक देखिएको मन्त्रीले बताउनुभयो । पर्सा र चितवन राष्ट्रिय निकुञ्ज जोडिएको हुँदा टिकट प्रणालीलाई एकद्वार गर्न आवश्यक देखिएको उल्लेख गर्दै मन्त्री शाहीले चितवन निकुञ्ज भ्रमणमा आएका पर्यटक पर्सा पनि आउने र पर्सा निकुञ्ज घुम्न आएका पर्यटक चितवन निकुञ्ज पनि भ्रमण गर्न सकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “निकुञ्ज पर्यटन क्षेत्रको प्रमुख गन्तव्य भएकाले जल जङ्गल वन्यजन्तु जोगाउन सबैको कर्तव्य हो ।” वन क्षेत्रभित्र ढलेका र सडेगलेका काठलाई प्रयोगमा ल्याउन र आयात हुने काठलाई रोक्न मन्त्रालयले गृहकार्य गरिरहेको मन्त्री शाहीको भनाइ छ । निकुञ्ज र वन क्षेत्रको समस्या समाधानको निम्ति ऐन नियम संशोधन गर्ने कार्यमा मन्त्रालय लागि रहेको जानकारी गराउँदै मन्त्री शाहीले मन्त्रालय विकासको बाधक हो भन्ने भ्रमको अन्त्य गर्न आफूले काम गरिरहेको बताउनुभयो । “पर्सा राष्ट्रिय निकुञ्जमा देखिएका समस्या र समाधान गर्नुपर्ने कार्यहरु मैले गम्भीरतापूर्वक लिएको छु”, “मन्त्री शाहीले भन्नुभयो, “निकुञ्जका संरक्षण अधिकृत तथा कर्मचारी राम्रो कामप्रति अझै ध्यान दिनुहोला ।” —

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments