Sunday, April 19, 2026
No menu items!
Homeफरक/रोचकडाइनसोर नै लोप हुनेगरी पृथ्वीमा महाप्रलय भएको दिन

डाइनसोर नै लोप हुनेगरी पृथ्वीमा महाप्रलय भएको दिन

एजेन्सी : वैज्ञानिकहरूले पृथ्वीमा एकैदिनमा भएको सबैभन्दा भयङ्कर घटनाको विवरण आकलन गरेका छन्। उक्त घटना करौडौँ वर्षअघि भएको थियो । त्यही घटनाक्रममा गल्फ अफ मेक्सिकोमुनिबाट उत्खनन गरिएको १३० मिटर लामो चट्टानको स्वरूप बनेको थियो । तलको तस्बिरमा भएको पत्थरमा एउटा विशाल क्षुद्रग्रह पृथ्वीमा बजारिएको केही सेकेन्डदेखि घण्टाभित्र थुप्रिएका थिगरहरू छन् । उक्त प्रलयकारी घटनाकै कारण पृथ्वीबाट डाइनसोरहरू विलुप्त भएका र स्तनधारी जीवको वृद्धि भएको धारणा अनुन्धानकर्ताहरूको छ ।

उक्त घटनाका कारण बनेको खाडलको वास्तविकता यूके र अमेरिकाका अनुसन्धानकर्ताहरूले नेतृत्व गरेको एउटा टोलीले पत्ता लगाएको छ । सन् २०१६ मा ड्रिल गरेर उनीहरूले क्षुद्रग्रह बजारिएपछि बनेको खाडलको अवशेषको हप्तौँ अध्ययन गरेका थिए । झन्डै २०० किलोमिटर फराकिलो उक्त संरचना अहिले मेक्सिकोको युकाटान प्राय:द्वीपमुनि छ । यसको सबैभन्दा संरक्षित केन्द्रीय भाग चाहिँ चिक्शुलुब बन्दरगाहबाट पर तटीय क्षेत्रमा छ ।

अनुसन्धानकर्ताको समूहले चट्टानको गर्भमा रहेको एउटा लामो र विशाल खण्ड बाहिर निकाल्यो। त्यसमध्ये १३० मिटर लामो एउटा भागले भूगर्भशास्त्रीहरूले भन्ने गरेको सिनजोइक युग अर्थात् स्तनधारीहरूको युगको पहिलो दिनको वृत्तान्त समेटेको छ ।

चिक्शुलुब खाडल: जीवनमा परिवर्तन

  • एउटा १२ किलोमिटर फराकिलो पिण्डले पृथ्वीको उपल्लो तहमा १०० किलोमिटर लामो र ३० किलोमिटर गहिरो खाडल बनाइदियो
  • कचौरा आकृतिको उक्त पिण्ड त्यसपछि नष्ट भयो र २०० किलोमिटर फराकिलो तथा केही किलोमिटर खाडल बाँकी रह्यो
  • त्यो खाडलको केन्द्र पुन: पुरानै स्थानमा फर्क्यो र फेरि नष्ट भयो। त्यसबाट एउटा भित्री घेरा बन्यो
  • अहिले पनि उक्त खाडलको अधिकांश भाग तटीय क्षेत्रबाहिर झन्डै ६०० मिटरमुनि पुरिएको छ
  • जमिनमा भएको भाग चुनढुङ्गाले छोपिएको छ र पानीले खिइएर चट्टानमा बनेका प्वालहरूले बाह्य भाग चिनाउँछन्

उक्त खण्डमा चकनाचुर भएका वस्तुहरू थुप्रिएका छन्। तर ती वस्तुहरू यसरी मिलेर बसेका छन् कि त्यसबाट वैज्ञानिकहरू एउटा स्पष्ट निष्कर्ष निकाल्न सक्छन् ।पीँधको २० मिटरतिर सिसाजस्तो अवशेष छ। क्षुद्रग्रह बजारिँदा उत्पन्न ताप र चापको प्रभावले यो चट्टान पग्लियो । तत्काल त्यो खाडलको पीँधभरि फैलियो । विस्फोटका कारण बनेको तातो पदार्थमा पानी परेपछि क्रमिक रूपमा पग्लिएर जमेको चट्टानका टुक्राहरू बने ।

त्यो पानी त्यतिबेला अस्तित्वमा रहेको कम गहिरो सागरबाट गएको थियो । विशाल आकाशीय पिण्ड पृथ्वीमा खस्दा पानी अन्यत्र सरेको थियो, तर पुन: त्यस स्थानमा आएर उम्लिरहेको चट्टानको सम्पर्कमा पुग्दा बलशाली प्रतिक्रिया उत्पन्न भयो । ज्वालामुखीभित्र बनेको लेदो र समुद्रको पानीको अन्तर्क्रिया हुँदा त्यस्तै किसिमको प्रतिक्रिया देखिन्छ ।

यो चरण सुरुका केही मिनेटदेखि एक घण्टासम्म जारी रह्यो। तर पानी निरन्तर आइरह्यो र त्यसले खाडलको मुख पुरियो । मूल भागको माथिल्लो ८०-९० मिटर लामो खण्ड पानीमा भएका भग्नावशेषले बन्यो। अन्तत: त्यो क्रम रोकियो। सुरुमा ठूला टुक्रा र त्यसपछि मिहिन वस्तु बसे । क्षुद्रग्रह बजारिएको केही घण्टाभित्रै यो प्रक्रिया भएको थियो । अनि त्यसपछि १३० मिटर खण्डको ठ्याक्कै माथिल्लो भागमा सुनामीको प्रमाण फेला परेको छ। त्यहाँ थिगरहरू सबै एउटै दिशामा थुप्रिएका छन् र तिनको बनोट हेर्दा ठूलो ऊर्जा उत्पन्न भएको कुनै घटनामा त्यसो भएको सङ्केत पाइन्छ ।

वैज्ञानिकहरूले उक्त घटनाका कारण एउटा भीमकाय छाल उत्पन्न भएको र त्यो खाडलबाट सयौँ किलोमिटर पर तटीय क्षेत्रमा पुगेर बजारिएको बताएका छन् । बाहिर त्यसो भएपछि छाल फर्किएको तथा सुनामीमा भएको भग्नावशेष चट्टानको माथिपट्टि जम्मा भएको थियो । “यी सबै पहिलो दिनकै घटना हुन्,” अस्टिनमा रहेको युनिभर्सिटि अफ टेक्ससका प्राध्यापक सन गुलिक भन्छन् । “सुनामीहरू जेट विमानको गतिमा अघि बढ्छन्। चौबीस घण्टाको अवधि छाललाई बाहिर जान र फर्कन पर्याप्त समय हो ।”

प्राध्यापक गुलिकको टोली यस विषयमा सुनामीको विवेचनाबारे विश्वस्त छ किनभने त्यहाँ फेला परेको थिगरमा भूमिको सङ्केतचिह्न र अँगार छन् । ती वस्तु मूल घटनाका कारण नजिकै रहेको स्थानमा ठूलो आगो लागेका प्रमाण हुन् । वैज्ञानिकहरूले १३० मिटरको उक्त क्षेत्रमा कतै पनि गन्धक (सल्फर) फेला पारेनन् । त्यो आर्श्चयजनक कुरा हो किनभने आकाशीय पिण्ड बजारिएको समुद्रको पीँधमा जिप्समजस्ता गन्धक भएका सम्भवत: एक तिहाइदेखि आधा खनिज पदार्थ थिए। कुनै कारणले गन्धक उडेको हुन सक्छ । तर त्यसले अहिले स्वीकार गरिएको डाइनसोर लोप हुनुका कारणसम्बन्धी सिद्धान्तलाई नै पुष्टि गर्छ ।

ठूलो परिमाणमा गन्धक पानीमा मिसिएर आकाशतिर बाफिँदा त्यतिबेला जलवायु चिसिएको हुन सक्छ । त्यस परिस्थितिमा सबै जीवजन्तु र वनस्पतिले जीवित रहन सङ्घर्ष गर्नुपरेको हुन सक्छ । “सयौँ गिगाटन (अर्बौँ टन) सल्फर वायुमण्डलमा प्रवेश गरेपछि विश्वव्यापी रूपमा नै जलवायुको नयाँ ढाँचा आरम्भ भयो र कम्तीमा १५ वर्षसम्म त्यो २५ डिग्री सेल्सिएस चिसो हुँदै गयो। त्यसले अधिकांश ठाउँमा एकदमै कठ्याङ्ग्रिने अवस्था निम्त्यायो,” प्राध्यापक गुलिकले भने ।

“अनि सङ्कीर्ण भएर आकलन गर्दा पनि ३२५ गिगाटन सल्फर बाहिर गएको देखिन्छ। यो क्राकाटाउजस्ता ज्वालामुखीको शक्तिभन्दा पनि बढी हो जसले जलवायुलाई छोटो अवधिका लागि शीतल पनि बनाइदिन सक्छ ।”

यो महाप्रलयपछि स्तनधारी जीवहरू बाँचिरहन सके तर डाइनसोरहरू मासिए। प्राध्यापक गुलिक र उनको टोलीको अनुसन्धान प्रोसीडिङ्स अफ द न्याश्नल अक्याडमी अफ साइअन्सेज (पीएनएएस) नामक जर्नलमा छापिएको छ ।

बीबीसी

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments