Thursday, April 30, 2026
No menu items!
Homeनेपाल खबरभूमिगत जलस्रोत कार्यालय प्रमुखविहीन हुँदा किसान मारमा

भूमिगत जलस्रोत कार्यालय प्रमुखविहीन हुँदा किसान मारमा

बरहथवा (सर्लाही), १६ मङ्सिरः बागमती नगरपालिका–११ कर्मैयास्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुखविहीन भएपछि यहाँका उपभोक्ता मारमा परेका छन् । सर्लाही र रौतहट कार्यक्षेत्र रहेको उक्त कार्यालयका प्रमुख जयप्रकाश साह अनिवार्य अवकाशमा गएपछि कार्यालयले नयाँ कार्यालय प्रमुख नपाउँदा उपभोक्ता मारमा परेका हुन् । उक्त कार्यालयले दुई जिल्लाका उत्तरी चुरे क्षेत्र तथा सिँचाइ सुविधा नपुगेका स्थानका किसानका लागि सिँचाइ विकासको योजना सञ्चालन गर्दै आएको थियो । तर, कार्यालय प्रमुख नहुँदा आफूहरू मारमा परेको हरिवन नगरपालिका–७ स्थित मनोकामना जल उपभोक्ता समितिका अध्यक्ष अशोक साहले गुनासो गर्नुभयो । “अघिल्लो आर्थिक वर्षमा नै सिँचाइ गर्न डिपबोरिङको काम गरेका थियौँ”, उहाँले भन्नुभयो, “योजना सम्पन्न भइसक्यो, किसानले पैसा उठाएर राखेको धरौटी छ महिना बितिसक्दा पनि फिर्ता भएको छैन । गाउँका उपभोक्ता मारमा छन् ।” रौतहटको यमुनामाई नगरपालिकास्थित सरुअठा जल उपभोक्ता समूहका अध्यक्ष आशुतोष यादवको पनि समस्या उस्तै छ । “गत आर्थिक वर्षमा काम गर्न समूहले जम्मा गरेको पैसा अझै फिर्ता भएको छैन”, उहाँले भन्नुभयो, “चालू आवमा पनि सिँचाइको काम गर्न पाए खेतीबाली गर्न पाइने आश छ । तर, कार्यालय प्रमुख नहुँदा यहाँ न पुरानो योजनाका काम हुन्छन्, न नयाँ नै ।” उक्त कार्यालयले किसानलाई भूमिगत पानीलाई डिपबोरिङ, पावर ड्रिल र स्यालो ट्युबवेलबाट पानी निकालेर सिँचाइ सुविधा प्रदान गर्दै आएको छ । हालसम्म भूमिगत सिँचाइ योजनाबाट सर्लाही र रौतहटमा गरी तीन हजार पाँच सय बिघा खेतमा सिँचाइ सुविधा पुगिसकेको कार्यालयले जनाएको छ । कार्यालयले प्रत्येक वर्ष नयाँ जडान, वितरण प्रणाली विस्तार तथा मर्मतसम्भारका लागि योजना ल्याउने गरेको छ । यस वर्ष पनि एक सय ४६ वटा योजना तोकिएर आएको कार्यालयका निमित्त प्रमुख तिर्हराज खरेलले बताउनुभयो । गत वर्ष रु २६ करोड ८० लाखबराबरको एक सय ६३ वटा डिपबोरिङ, पावर ड्रिल र स्यालो ट्युबवेल जडान, वितरण प्रणाली विकास तथा मर्मतसम्भारको योजना सम्पन्न गरेको थियो । कार्यालय प्रमुख सेवानिवृत्त भएको जानकारी सम्बन्धिन निकायलाई भएकाले यथाशक्य चाँडो नयाँ कार्यालय प्रमुख आउनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments