Wednesday, April 22, 2026
No menu items!
Homeनेपाल खबरलोपोन्मुख जलचर जोगाउन राप्ती नदी सरसफाइ

लोपोन्मुख जलचर जोगाउन राप्ती नदी सरसफाइ

भरतपुर (चितवन), २७ कात्तिकः चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएर बग्ने राप्ती नदीमा सरसफाइ गरिएको छ । राप्ती नदी तटीय सरसफाइ अभियानले सोमबार भरतपुर महानगरपालिका–२२ स्थित पटिहानीबाट भरतपुर महानगरको अन्तिम बिन्दु गोलाघाटसम्मको नदी किनार सरसफाइ गरिएको हो । नदी किनारमा मानवीय क्रियाकलाप बढ्दै गएपछि चेतना जगाउने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको राप्ती सरसफाइ अभियानका संयोजक अपिल घिमिरेले जानकारी दिनुभयो । करिब ३० किलोमिटरको दूरीमा गरिएको सरसफाइमा करिव दुई हजार आठ सय केजी फोहर स¬ङ्कलन गरिएको उहाँले बताउनुभयो । सो क्रममा सिसा, प्लाष्टिक, कपडा, बोटल, धातुलगायत २७ प्रकारका फोहर भेटिएको जनाइएको छ अभियानले नदी क्षेत्रबाट २५ हजार मेट्रिक टन फोहर सङ्कलन गरेर व्यवस्थापन गरेको उहाँले जानकारी दिनुभयो । फोहर सङ्कलन गर्न २१ हजार स्वयंसेवक खटिएको उहाँले बताउनुभयो । राष्ट्रिय निकुञ्जसँग जोडिएर बग्ने यस नदी क्षेत्रमा लोपोन्मुख वन्यजन्तु, जलचरसमेत पाइन्छन् । तर मानवीय क्रियाकलापका कारण उनीहरूलाई असर परेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डा गणेश पन्तले जानकारी दिनुभयो । “यहाँ घडियाल गोही जालमा परेको पाइएको छ, मृगहरूले प्लाष्टिक खाएको देखिन्छ, गैँडालगायत जनावरका खुट्टामा सिसा गाडिएको देखेका छौँ”, उहाँले भन्नुभयो । “प्लाष्टिक तथा सिसाजन्य फोहरका कारण वनस्पतिलाई समेत असर पर्ने देखिन्छ ।” राप्ती नदीलाई संरक्षण गर्न मानवीय व्यवहारमा परिवर्तनसँगै कानुन निर्माण गर्नुपर्ने बताउनुभयो । सरसफाइ कार्यक्रममा निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती सामुदायिक वनका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, विद्यार्थीलगायतको सहभागिता थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments