Saturday, April 18, 2026
No menu items!
Homeनेपाल खबरनिरीक्षकको लापरवाहीले अनुत्तीर्ण छात्र राष्ट्रिय परीक्षा बोर्डद्वारा उत्तीर्ण

निरीक्षकको लापरवाहीले अनुत्तीर्ण छात्र राष्ट्रिय परीक्षा बोर्डद्वारा उत्तीर्ण

खोटाङ, २२ कात्तिकः माध्यमिक शिक्षा परीक्षा (एसइई)मा परीक्षा निरीक्षकको लापरवाहीले अनुत्तीर्ण हुनुभएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले नियतवस केरमेट गरेर अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएका थिए । उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक गरेको हो । विसं २०८० चैत–२० गते पृथ्वी माध्यमिक विद्यालय बाक्सिला केन्द्रमा भएको अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षाको उत्तरपुस्तिकामा निरीक्षकले केरमेट गरिदिएका थिए । गत असोज–१३ गते उत्तरपुस्तिका पुनः परीक्षणका लागि निवेदन दिएपछि यही कात्तिक–४ गते राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशित सूचनामा शिवकुमारको नतिजा सुधार भएर आएको बुवा परशुराम राईले जानकारी दिनुभयो । हालै प्रकाशित नतिजाअनुसार शिवकुमार ३.४५ जीपीएसहित उत्तीर्ण हुनुभएको छ । पूरक परीक्षामा भने शिवकुमारको जीपीए ३.५५ थियो । अब भने पछिल्लो नतिजा अर्थात् (३.४५ जीपीए) कायम हुने जनाइएको छ । परीक्षाको नतिजा सुधारपछि शिवकुमार गाउँपालिकाकै सबैभन्दा बढी ३.४५ जीपीए ल्याएर एसइई उत्तीर्ण गर्ने विद्यार्थी घोषित भएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिनुभयो । छात्रातर्फ थर्पुडाँडा माध्यमिक विद्यालयकै क्याल्सी राईले ३.३९ जीपीए ल्याएर छात्रातर्फ उत्कृष्ट हुनुभएको थियो । केपिलासगढी गाउँपालिकाले एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई प्रोत्साहनस्वरुप रु एक÷एक लाख पुरस्कार दिँदै आएको छ । गाउँपालिकाले पुरस्कार दिन थालेपछि थर्पुडाँडा माध्यमिक विद्यालयका विद्यार्थीलाई फेल गराउने नियतले उत्तरपुस्तिका कोरेको बुवा पर्शुरामको आरोप छ । उक्त निरीक्षकलाई कारबाहीको माग गर्दै गत असोज–२२ गते जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला प्रहरी कार्यालयमा विद्यालय व्यवस्थापन समिति र अभिभावकले उजुरीसमेत दिएका थिए । तर, उनलाई हालसम्म कुनै कानुनी कारबाही गरिएको छैन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments