Saturday, April 18, 2026
No menu items!
Homeनेपाल खबरप्लाष्टिक झोलामुक्त अभियानः तीन सय ९१ किलो प्लाष्टिक जफत

प्लाष्टिक झोलामुक्त अभियानः तीन सय ९१ किलो प्लाष्टिक जफत

दमौली (तनहुँ), २२ कात्तिकः प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गरेको व्यास नगरपालिकाले बुधबार बजार क्षेत्रका पसलबाट तीन सय ९१ किलो प्लाष्टिक झोला जफत गरेको छ । नगरपालिकाले बजार अनुगमनका क्रममा उक्त परिमाणका प्लाष्टिक झोला जफत गरेको हो । नगरपालिकाले गत जेठ १ गतेदेखि प्लाष्टिक झोलामुक्त नगर घोषणा गरेको थियो । पालिकाले प्लाष्टिक झोला प्रयोग गरेको सूचना दिनेलाई पुरस्कार दिने व्यवस्था पनि गरेको छ । दमौलीस्थित सृष्टि प्लाष्टिक उद्योगबाट एक किलो, नसिम स्टोर्सबाट तीन किलो, महाकाली जनरल स्टोर्सबाट एक सय २९ किलो, सूर्य प्लाष्टिक पसलबाट एक सय २३ किलो र ज्ञानमाला भाडा प्लाष्टिक पसलबाट एक सय ३५ किलो प्लाष्टिक झोला जफत गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो । नगरपालिकाले प्लाष्टिक झोला प्रयोगकर्ता, विक्रेता र उत्पादकलाई नगरपालिकको निर्णय विपरीत गरेमा जरिवानाको चेतावनी दिँदै जरिवाना रकम पनि तोकेको छ । प्लाष्टिक झोला उत्पादकलाई पहिलोपटक रु दुई हजार, दोस्रोपटक रु चार हजार र तेस्रोपटक रु छ हजार जरिवाना गरिने नगरपालिकाका वन तथा वातावरण समितिका संयोजक रनसिं नेपालीले जानकारी दिनुभयो । यसैगरी, नियम पालना नगर्ने विक्रेतालाई पहिलोपटक रु पाँच सय, दोस्रोपटक रु एक हजार र तेस्रोपटक रु तीन हजार जरिवाना तोकिएको छ । प्रयोगकर्तालाई भने पहिलोपटक रु दश, दोस्रोपटक रु ५० जरिवाना तोकिएको छ । नगरपालिकाले बजार क्षेत्रभित्र प्लाष्टिक झोला प्रयोग नगर्न आग्रह गर्दै नगरका विभिन्न भागमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments