Monday, April 20, 2026
No menu items!
Homeनेपाल खबरमहोत्तरीका किसान उखु पेलेर सख्खर बनाउन व्यस्त

महोत्तरीका किसान उखु पेलेर सख्खर बनाउन व्यस्त

महोत्तरी, २० कात्तिकः यहाँका किसान उखु पेलेर सख्खर बनाउने काममा व्यस्तछन् । जिल्लाका चिनी उद्योगमा उखु क्रसिङको अत्तोपत्तो नभएपछि किसानले धमाधम उखु पेल्न थालेका हुन् । चिनी उद्योगले कहिले क्रसिङ सुरु गर्ने भन्ने तालिका नै नबन्दा अहिले घरखर्च र चाडपर्वका लागि खर्चको जोहो गर्न उखु पेल्न थालिएको किसानको भनाइ छ । अहिले जिल्लाका उखु मुख्य बाली लगाइने गौशाला, भङ्गाहा र बर्दिबास नगरक्षेत्रका बस्तीबस्तीमा किसानका घरघरै उखु पेल्ने र रस पकाएर सख्खर बनाउने व्यस्तता देखिएको छ । “कात्तिक हामी किसानलाई खर्चवर्चको निकै अभाव हुने बेला हो, यसैबेला दीपावली र छठजस्ता महत्त्वपूर्ण पर्व पर्छन्”, भङ्गाहा–४ का किसान रामउद्गार महतो भन्नुहुन्छ, “त्यसैले आफ्नै उखु पेलेर खर्चवर्चको जोहो गर्दैछौँ ।” कात्तिकलाई यहाँका किसान ‘तेह्रौँ मास’ (तेह्रौँ महिना) भन्ने गर्छन् । आम्दानीका क्षेत्र खासै नहुने र खर्च अन्य महिनाभन्दा बढ्ने हुँदा यसलाई प्रतिकात्मक रूपमा तेह्रौँ महिना भन्ने गरिएको किसान बताउँछन् । अहिले दीपावली अघिदेखि उखु पेल्न थालेका किसानले छठसम्मै यस कामलाई निरन्तरता दिने गरेका छन् । दीपावली र छठ दुवैमा सख्खरको माग निकै हुने र यसबेलाको नयाँ सख्खरले राम्रो बजार भाउ पाउने गरेको बर्दिबास–७ प्रेमनगरका रामदेव महतो बताउनुहुन्छ । दीपावली र छठपर्वमा उपभोक्ताले नयाँ सख्खर मन पराउँछन् । अहिले सख्खर बजारमा रु एक २० प्रतिकिलो बिक्ने गरेको छ । यो चिनीको भन्दा चलनचल्तीको बजार भाउमा रु ३० प्रतिकिलो बढी हो । तर दीपावलीका सेल र छठका ठकुवा चिनीभन्दा सख्खरमा राम्रो हुने हुँदा अलिकता महँगो भए पनि उपभोक्ताको रोजाइमा सख्खर पर्ने गरेको हो । यसबाहेक सामाजिक सञ्जालमा लगातार विभिन्न रोगबाट बच्न चिनीको प्रयोग कम गर्न र त्यसको सट्टा गुलियोका लागि सख्खर प्रयोग गर्न सन्देश प्रवाह भइरहनुले पनि सख्खरको बजार बढाउन सहयोग पुर्याएको बर्दिबास–१ का सामाजिक कार्यकर्ता भोजप्रसाद (शङ्कर) फुँयाल बताउनुहुन्छ । जिल्लामा अहिले सात हजार बिघामा उखुखेती छ । जसमध्ये चार हजार बिघाको खुट्टी उखु (एकपटक रोपिएको उखुको दुई वर्षको बाली लिइन्छ, पहिलो वर्षको लाई ‘मुडन’ र दोस्रो वर्षको लाई ‘खुट्टी’ भनिन्छ) छ । अहिले किसानले दोस्रो वर्षको उखु पेलेर सख्खर बनाउँदै गरेका हुन् । मुडनमा पुस नलागी राम्ररी रस नपस्ने र खुट्टीचाहिँ कात्तिकमै तयार हुनेहुँदा किसान अहिले खुट्टी पल्न थालेका उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले बताउनुभयो । मधेसका रौतहटसहितका केही जिल्लाका चिनी उद्योगले क्रसिङ सुरु गरे पनि महोत्तरीमा थालिएको छ्रैन । प्रत्येक वर्षजसो हिउँद लागेपछि उखुको मूल्य निर्धारणसम्बन्धी टु्ङ्गो समयमा नलाग्दा किसान समस्यामा पर्ने गरेका छन् । कात्तिक मसान्तभित्रै सरकारले उद्योग र उखु उत्पादक किसानबीचको सहमतिबाट मूल्य निर्धारण गरिदिन पर्ने माग सुनवाइ नभएको अध्यक्ष कुशवाहाले गुनासो गर्नुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments