Friday, April 17, 2026
No menu items!
Homeनेपाल खबरघरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी

घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी

दमौली (तनहुँ), ७ कात्तिकः तनहुँको म्याग्दे गाउँपालिकाले पालिकाका सबै सेवा एकीकृत रूपमा प्रदान गर्न घरदैलोमै घुम्ती शिविर आयोजना गरेपछि स्थानीयवासी खुसी भएका छन् । सेवा लिन पालिकासम्म आउनुपर्ने बाध्यताको अन्त्यका लागि पालिकाले घरदैलो सेवा सुरु गरेपछि स्थानीयवासी खुसी भएका हुन् । घुम्ती शिविरबाट घरदैलोमै सेवा पाउँदा सहज भएको म्याग्दे गाउँपालिका–१ का दुर्गा रानाले बताउनुभयो । पालिकाबाट प्रदान गरिने सेवा लिन प्रमुख प्रशासनिक केन्द्रसम्म पुग्नुपर्ने बाध्यता रहेकामा पालिकाले घरदैलोमा आएर सेवा दिँदा सजिलो भएको उहाँले सुनाउनुभयो । यहाँ गत असोज ६ गतेदेखि घरदैलोमा पुगेर एकीकृत सेवा सुरु गरिएको हो । जसअनुसार वडा नं १, २, ३ र ७ मा दसैँ अगावै एकीकृत घुम्ती शिविर सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । वडा नं १ को बाख्रे, बच्र्याङ, गुणादी, वडा नं २ को गुन्जरा र पार्टीचौर, वडा नं ३ को झिमिरे चोक र निर्मलबस्ती, वडा नं ७ को समिधारा स्वास्थ्य केन्द्र, तिल्याटार सामुदायिक भवनमा एकीकृत घुम्ती शिविर सम्पन्न भइसकेको छ । दसैँपश्चात् वडा नं ४, ५ र ६ मा एकीकृत घुम्ती शिविर सुरु गरिएको र जसअनुसार वडा नं ४ को कोलडाँडा स्वास्थ्य भवन, गणेश माविमा मङ्गलबार र सोही वडाको छिम्लीस्वाँरा कालिका मोइ समूह भवनमा बुधबार शिविर सञ्चालन गरिएको वडाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो । वडा नं ५ को माथिल्लो घडेरी, छाङ पाटन, साउनेपानी, बोटेनीटारमा कात्तिक आज र भोलि शुक्रबार तथा वडा नं ६ को सर्वलाङ, रत्न मावि, तिलाहार र गाउँस्वारा र अकला सामुदायिक भवनमा कात्तिक ११ र १२ गते शिविर सञ्चालन गरिने पालिकाले जनाएको छ । पालिकाको पहुँचभन्दा टाढा बसोबास गर्ने नागरिकलाई एकीकृत रूपमा स्वास्थ्य, कृषि, पशु सेवा, पञ्जीकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नवीकरण, राजस्व सङ्कलनलगायत सेवा सहज तरिकाले जनतासामु पु¥याउने उद्देश्य अनुसार एकीकृत घुम्ती शिविर अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा स्वास्थ्यतर्फ परिवार नियोजन, सुरक्षित मातृत्व सेवा, भिडियो एक्सरेसहित गर्भवती परीक्षण, क्षयरोग स्क्रिनिङ, सामान्य स्वास्थ्य परीक्षण, दन्त परीक्षण सेवा, भिया स्क्रनिङ सेवा, स्तन क्यान्सर परीक्षण सेवा प्रदान गर्ने गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । कृषितर्फ उन्नत जातका बीउविजन वितरण, विभिन्न अनुदानका सूचनाका माग सङ्कलन, पशु सेवातर्फ बिरामी पशुपक्षीको उपचार, पशु बन्ध्याकरण सेवा, पशुजन्य औषधि वितरण, गोवर परीक्षण, कुकुर बिरालोलाई रेविज विरुद्धको खोप सेवा प्रदान गरिएको छ । पञ्जीकरण सेवातर्फ जन्मदर्ता, बसाइँसराइ, विवाहदर्ता, मृत्युदर्ता, सामाजिक सुरक्षा भत्तालगायतका विभिन्न सिफारिस, उद्योगतर्फ उद्योग, व्यापार, वाणिज्य दर्ता तथा सूचीकृत सेवा उपलव्ध गराउने गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले उल्लेख गर्नुभयो । —

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments