Friday, May 1, 2026
No menu items!
Homeनेपाल खबरखुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान

खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान

सोलुखुम्बु, २३ असोजः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन् । नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार मङ्गलबार रामेछापको मन्थली र काठमाडौँबाट एक सय ९८ वटा उडान भएका हुन् । हवाईजहाजले ६१ र हेलिकप्टरले एक सय ३९ उडान भरेका छन् । उक्त दिन एक हजार पाँच सय ३९ जना पर्यटक खुम्बु भित्रिएका छन् । हवाईजहाजबाट एक सय ६७ स्वदेशी र छ सय ६७ जना विदेशी गरी आठ सय ४ तथा हेलिकप्टरबाट छ सय ९५ पर्यटक लुक्ला ओर्लिएका उहाँले बताउनुभयो । पर्यटक आगमनको याम सुरु भएकाले उडान सङ्ख्या अझै बढ्ने उहाँले बताउनुभयो । यद्यपि पर्यटक लिएर काठमाडौँ र रामेछापको मन्थलीबाट आएका विमान प्रायः रित्तै फर्कने गरेका छन् । लुक्ला आउने पर्यटकको चाप हुने भएकाले फर्कनेको सङ्ख्या न्यून हुने गरेको तारा एयरलाइन्सका अमृत मगरले बताउनुभयो । पदयात्राको याम सुरु भएसँगै पर्यटन व्यवसायीसमेत उत्साहित बनेको नाम्चेका व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामीलाई पाहुनाको सत्कारमा भ्याइनभ्याइ छ ।” पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका होटल व्यवसायी पर्यटकको स्वागत सत्कारमा व्यस्त छन् । त्यस क्षेत्रका बाटो, चौतारा तथा होटल, लज पर्यटकले नै भरिभराउ छन् । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका सूचना अधिकारी मनोजकुमार मण्डलले बताउनुभयो । २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ । निकुञ्जभित्रको गोक्यो ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको सूचना अधिकारी मण्डलले जानकारी दिनुभयो । सन् १९७९ देखि निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । निकुञ्जमा कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग पाइन्छन् । निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने मानिसको सङ्या तीन हजारभन्दा बढी रहेको संरक्षण अधिकृत मण्डलले बताउनुभयो । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments