Friday, May 1, 2026
No menu items!
Homeनेपाल खबरसिएमसीमा महिलाहरुको निःशुल्क क्यान्सर परिक्षण

सिएमसीमा महिलाहरुको निःशुल्क क्यान्सर परिक्षण

चितवन, २१ असोजः चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा महिलाहरुको निःशुल्क क्यान्सर परीक्षण सुरु गरिएको छ । आजदेखि तीन दिनसम्म सञ्चालित क्यान्सर परीक्षण अभियानमा महिलालाई निःशुल्क सेवा दिन लागिएको हो । अस्पतालका निर्देशक प्राडा दयाराम लम्सालका अनुसार अक्टोबर क्यान्सर सचेतना महिना भएकाले सोही अवसर पारेर ३५ वर्ष माथिका महिलाको निःशुल्क परीक्षण सुरु गरिएको हो । महिला पत्रकार, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य सेवामा कार्यरत महिला कर्मचारीलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरिएको उहाँले बताउनुभयो । ‘एचबि ब्लड सुगर’, ‘क्रिएटिनिन’ र ‘एसजिपिटी’ परीक्षण निःशुल्क गरिएको निर्देशक लम्सालले बताउनुभयो । साथै पाठेघरको मुखको ‘भिआइए’ परीक्षण गरिने भन्दै उहाँले परीक्षणका क्रममा ‘भिआइए पोजेटिभ’ आएकाहरुका लागि सर्भाइकल बायोप्सी (क्यान्सर भए/नभएकोबारे गरिने परीक्षण) निःशुल्क गरिएको उहाँले जानकारी दिनुभयो । स्तन क्यान्सरको परीक्षण भने आवश्यकता अनुसार स्तनको भिडियो एक्सरे निःशुल्क गरिने प्राडा लम्सालले बताउनुभयो । लक्षित समूहअन्तर्गत भरतपुर महानगरपालिकाका स्वास्थ्य स्वयंसेविका, महानगरको मातहतका सम्पूर्ण स्वास्थ्य शाखाका महिला कर्मचारी र महिला पत्रकारहरुको आज परीक्षण गरिँदै छ । यसैगरी मङ्गलबार रत्ननगर नगरपालिका र देवघाट गाउँपालिकाका स्वास्थ्य स्वयंसेविका र मातहतका सम्पूर्ण स्वास्थ्य शाखाका महिला कर्मचारीहरुको परीक्षण गरिने छ । बुधबार देवचुली र गैँडाकोट नगरपालिकाका स्वास्थ्य स्वयंसेविका र मातहतका स्वास्थ्य शाखाका महिला कर्मचारीको निःशुल्क परीक्षण गरिने अस्पतालले जनाएको छ । सबै परीक्षणहरु सिएमसी क्यान्सर इन्स्टिच्युटमार्फत गरिने छ । चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटमा क्यान्सरको उपचार गर्न आउनेहरुले स्वास्थ्य बीमामार्फत् रु एक लाखसम्म, विपन्न उपचार कोषबाट रु एक लाखसम्मको सुविधा पाउँछन् भने प्रदेश सरकारबाट अधिकतम थप रु दुई लाखसम्म पाउँछन् । सामाजिक सुरक्षा कोषमार्फत् उपचार गर्नेहरुले ८० प्रतिशत छुट पाउँछन् । अस्पतालले सरकारी अस्पतालको दररेटमा नै क्यान्सरको उपचार गर्दै आएको जनाएको छ । अत्याधुनिक उपकरण, दक्ष र अनुभवी विशेषज्ञ चिकित्सकबाट सेवा दिँदै आएको अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले बताउनुभयो । अस्पतालमा क्यान्सरसँगै मुटुसम्बन्धी सबै किसिमका रोगको उपचार हुँदै आएको उहाँले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments