Saturday, April 18, 2026
No menu items!
Homeताजा खबरवित्तीय सङ्घीयता कार्यान्वयन प्राथमिकतामा परेन

वित्तीय सङ्घीयता कार्यान्वयन प्राथमिकतामा परेन

काठमाडौँ, १७ असोजः नेपालको संविधान २०७२ जारी भएर मुलुक सङ्घीयतामा गएको लामो समय बितिसक्दा पनि अझै वित्तीय सङ्घीयता कार्यान्वयन भने चुनौतीपूर्ण रहेको धारणा जानकारहरुले राखेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको नेपालमा ‘सङ्घीयता ः वित्तीय दृष्टिकोण’ विषयक छलफल तथा प्रस्तुतीकरण कार्यक्रमका वक्ताहरुले वित्तीय सङ्घीयतालाई प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक समस्या सुल्झाउन आवश्यक रहेको धारणा राख्नुभएको हो । कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले वित्तीय सङ्घीयता कार्यान्वयनका लागि देखिएका समस्या समाधानका लागी तीन तहका सरकार र निकायबीच समन्वय, सहककार्य र सहअस्तित्वको सिद्धान्तलाई प्राथमिकताका साथ पालना गरिनुपर्ने बताउनुभयो । स्थानीय तह र प्रदेश सरकारले राजस्व उठाउने र खर्च गर्ने अधिकार पाएकाले सङ्घ सरकारले समानीकरण अनुदान बढाउने र सशर्त अनुदान घटाउँदै जाने नीति लिइनुपर्ने उहाँले बताउनुभयो । प्रदेश र स्थानीय तहको बजेट योजना निर्माण र खर्च गर्ने क्षमता बढाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । केन्द्र सरकारले महत्वाकाङ्क्षी राजस्व लक्ष्य राख्ने गरेको र त्यसको प्रभाव प्रदेश र स्थानीय तहमा पनि परेको अध्यक्ष पौडेलको भनाइ छ । प्रदेश र स्थानीय सरकारले समेत आन्तरिक ऋण उठाउने अधिकार पाए पनि स्पष्ट कानुनको अभाव र व्यवहारगत कठिनाइका कारण उनीहरुले ऋण उठाउन नसकेको उहाँले बताउनुभयो । “कुनै पनि प्रदेश र स्थानीय तहले आन्तरिक ऋण उठाउन सकेका छैनन् । केहिले नगर विकास कोषको रकम चलाएका छन् । उनीहरुले ऋण कसरी उठाउने भनेर स्पट कानुन पनि बन्न सकेको छैन”, पौडेलले भन्नुभयो । कुनै समय नेपालको कूल गार्हस्थ्य उत्पादनको अनुपातमा सार्वजनिक ऋण ६६ प्रतिशतसम्म उल्लेख गर्नुहुँदै पौडेलले अहिले पनि सार्वजनिक ऋणको अवस्था चिन्ता गर्नुपर्ने अवस्थामा नरहेको बताउनुभयो । यद्यपि, ऋण लिएर बढीभन्दा बढी पुँजी निर्माण गर्ने क्षेत्रमा खर्च गर्नुपर्ने उहाँको भनाइ छ । सशर्त अनुदानलाई विस्तारै नतिजामा आधारित बनाउँदै लगिनुपर्ने पनि पौडेलको भनाई छ । सरकारी बजेट खर्चमा चालुगत खर्चको हिस्सा बढ्दै गएको र पुँजीगत घट्दै जाने प्रवृत्ति लामो समयदेखि रहेको उल्लेख गर्नुहुँदै उहाँले सङ्घीयता महँगो भएको भन्न नमिल्ले पौडेलले बताउनुभयो । सरकारी खर्चको अवस्थाबारे वस्तुपरक विश्लेषण गरिनुपर्ने उहाँको भनाइ छ । आर्थिक वर्ष २०३४÷३५ सम्ममा चालू भन्दा पुँगीगत खर्च बढी हुने गरेकामा आव २०५१÷५२ तिर समान अङ्कमा पुगेको देखिन्छ । त्यसपछि क्रमशः चालुगतभन्दा पुँजीगत खर्च घट्नेक्रम सुरु भएको देखिन्छ । अहिले चालुगत खर्च बढेको भनेर सङ्घीयता महँगो भएको भन्न मिल्दैन । हामी लामो समयदेखि यस्तो अवस्था भोगिरहेका छौँ”, पौडेलले भन्नुभयो । कार्यक्रमममा बोल्नुहुँदै काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार प्रा डा अच्युत वाग्लेले सङ्घीयता कार्यान्वयन पछि विकास तथा समृद्धि जुन गतिमा हुन पथ्र्याे त्यसो हुन नसकेको बताउनुभयो । सङ्घीयता सवलीकरणका लागि नागरिकलाई प्रवाह हुने सेवा सुविधा सहज र सहज हुनुपर्ने उहाँको भनाइ छ । वाग्लेले नेपालको संविधानले प्राकृतिक स्रोत तथा वित्त आयोगलाई निकै कममात्र अधिकार दिएको पनि बताउनुभयो । राष्ट्रिय योजना आयोगले गर्ने काम र यसको अस्तित्वमाथि प्रश्न उठाउनुभयो । योजना आयोगभन्दा वित्त आयोगलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्ने उहाँको भनाइ छ । संविधानमा राखिएको सङ्घीयता कसरी कार्यान्वयन भइरहेको छ भनेर कुनै पनि राजनीतिक दलले चासो नदिने गरेको वाग्लेले बताउनुभयो । सङ्घीयतालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे तथ्याङ्कपरक रुपमा अध्ययन अनुसान्धान हुन नसकेको पनि उहाँको भनाइ छ । “सङ्घीयताले कतै आर्थिक दायित्व बढाइरहेको त छैन ? भन्ने प्रश्न छ । तर वास्तवमा अवस्था के हो भन्ने विषयमा हामीसँग यकीन तथ्याङ्क छैन । त्यसबारे अध्ययन अनुसन्धान पनि हुन सकेको छैन”, डा वाग्लेले भन्नुभयो । नेपालको नीतिनिर्माण परामर्शदाताहरुमा सार्वजनिक खरिद ऐनका व्यवस्था सङ्घीयता अनुकूल हुन नसकेको पनि वाग्लेको बताउनुभयो । सङ्घीयता कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्नपर्ने, सङ्घीयतासँग सम्बन्धित तथ्याङ्कमा आधारित अध्ययन अनुसन्धान गर्ने र प्ररामर्श दाताबाटभन्दा पनि वास्तविक क्षेत्रबाट आउनुपर्ने बताउनुभयो । केन्द्रिकृत सोचका कारण सङ्घीयता कार्यान्वयनका समस्या भएको पनि वाग्लेको भनाइ छ । ––––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments