Wednesday, April 22, 2026
No menu items!
Homeनेपाल खबरपहिरोमा परी मृत्यु भएका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो

पहिरोमा परी मृत्यु भएका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो

बागमती, १४ असोजः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा गएको पहिरोमा परी मृत्यु भएका अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका छजना विद्यार्थीमध्ये तीनजनाको शव हेटौँडा ल्याइएको छ । काठमाडौँस्थित शिक्षण अस्पतालमा शवपरीक्षणपश्चात् मृतकमध्ये अनुमप घलान, साइमन योञ्जन र बाराका बिकल रेग्मीको शव आज बिहान हेलिकप्टरमार्फत हेटौँडा ल्याइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिनुभयो । यहाँ जिल्ला खेलकुद विकास समितिले श्रद्धाञ्जलीसभाको आयोजना गरेको छ । हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित मैदानमा आयोजित श्रद्धाञ्जलीसभामा मृतकका आफन्त, खेलाडी, खेलप्रेमी तथा स्थानीयहरूको उपस्थिति रहेको थियो । प्रजिअ चिलुवालले शव अन्त्यष्टिका लागि परिवारजनलाई बुझाइएको बताउनुभयो । होस्टेलमा बसेर मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ टेकरस्थित वत्सला माध्यमिक विद्यालयमा अध्ययन गर्ने र एन्फा क्याम्पमा फुटबल प्रशिक्षण लिने ४० जना विद्यार्थीमध्ये हेटौँडाका घलान, योञ्जन, बाराको निजगढका रेग्मी, सिस्नेरीका दिवस बानियाँ, काठमाडौँका रियान्स आचार्य र सर्लाहीका आदित्य बलमपाकीको पहिरोमा परी शनिबार मृत्यु भएको थियो । बागमती प्रदेशका १० जिल्लामा ११६ को शव फेला यही असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या बागमती प्रदेशका १० जिल्लामा ११६ पुगेको छ । प्रदेशका १० जिल्लामा मृत्यु हुनेमध्ये काभ्रेमा थप १२ जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ । यससँगै बागमती प्रदेशअन्तर्गत काठमाडौँ उपत्यकाका तीन जिल्लाबाहेक १० जिल्लामा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या हालसम्म ११६ पुगेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । काभ्रेमा हालसम्म बाढी पहिरोबाट मृत्यु भएकामध्ये ५० जनाको शव फेला पारेको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । यस्तै, धादिङ जिल्लामा बाढीपहिरोबाट मृत्यु भएका ३९ जनाको शव फेला परेको छ । बाढीपहिरोमा परी सिन्धुपाल्चोकमा १०, मकवानपुरमा सात, दोलखामा सात, सिन्धुलीमा दुई र रामेछापमा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । । बाढीपहिरोजन्य विपद्बाट काभ्रेमा नौ र सिन्धुपाल्चोमा दुई गरी ११ जना अझै बेपत्ता रहेका प्रहरीले जनाएको छ । बेपत्ताको खोजी कार्य तथा उद्धार गर्न प्रदेशभर चार हजार ११९ प्रहरी परिचालन गरिएको थियो । प्रहरीले विभिन्न जिल्लाका २४७ परिवारका ३१७ जनाको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments