Saturday, April 18, 2026
No menu items!
Homeनेपाल खबरसुरक्षित गर्भपतन सेवा दिवसः मातृमृत्युदरमा सुधार हुँदै

सुरक्षित गर्भपतन सेवा दिवसः मातृमृत्युदरमा सुधार हुँदै

काठमाडौँ, १० असोजः आज दशौँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । विसं २०५९ मा तत्कालीन मुलुकी ऐनको ११औँ संशोधनबाट गर्भपतनलाई कानुनी मान्यता दिइएको दिनको सम्झनामा आज यो दिवस मनाउन थालिएको हो । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले गर्भपतनलाई महिलाको अधिकारका रुपमा स्थापित गरी सेवा विस्तार गरेको २२ वर्षको अवधिमा महिलाको प्रजनन स्वास्थ्यमा प्रगति हुँदै गएको बताउनुभयो । “नेपालमा प्रतिएक लाख जीवित जन्ममा सन् १९९६ मा पाँच सय ३९ मातृमृत्युबाट सन् २०२१ मा एक सय ५१ मा झारेर उल्लेख्य सुधार गर्न सफल भएका छौँ । सन् २०३० सम्म ७० जनामा मातृमृत्युदर झार्ने लक्ष्य लिएका छौँ”, उहाँले भन्नुभयो । डा लालले असुरक्षित गर्भपतनका कारण महिलाहरुको स्वास्थ्यमा हुने प्रजनन रुग्णताको न्यूनीकरण गर्न पनि सफल भएको बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा एक लाख पाँच हजार महिलाले सूचीकृत स्वास्थ्य संस्थाहरुबाट सुरक्षित गर्भपतन सेवा लिएका छन् । दश हप्तासम्मको औषधीको प्रयोगद्वारा गरिने गर्भपतन सेवाका लागि एक हजार छ सय ८३ स्वास्थ्य संस्था र चार हजार दुई सय ३५ स्वास्थ्यकर्मी, १० हप्तासम्मको औषधीको तथा उपकरणको सहायताद्वारा गरिने गर्भपतनका लागि सात सय ३० स्वास्थ्य संस्था र एक हजार चार सय १९ स्वास्थ्यकर्मी, १२ हप्तासम्मको उपकरणको सहायताद्वारा गरिने गर्भपतनका लागि तीन सय ५० स्वास्थ्य संस्था र दुई हजार आठ सय ६० चिकित्सिक तथा स्वास्थ्यकर्मी र १२ हप्ताभन्दा माथिको गर्भपतन सेवाका लागि ६३ वटा स्वास्थ्य संस्था र एक सय ८७ जना चिकित्सकलाई सूचीकृत गरिएको परिवार कल्याण महाशाखाका निर्देशक डा लालले जानकारी दिनुभयो । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५, जनस्वास्थ्य सेवा ऐन, २०७५ र नियमावली, २०७७ ले सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा, परामर्श तथा प्रेषण, गर्भपतन पश्चात् सेवा तथा आवश्यक परामर्श र परिवार नियोजन सेवालाई आधारभूत स्वास्थ्य सेवामा परिभाषित गरेको छ । महाशाखाका निर्देशक डा लालले सुरक्षित गर्भपतन सेवा विस्तार गरी हरेक महिलाको सहज पहुँच हुने वातावरणको विकास गर्दै लैजाने लक्ष्य लिइएको उल्लेख गर्दै सोही अनुरुपका कार्यक्रमहरु सञ्चालन भइरहेका जानकारी दिनुभयो । उहाँका अनुसार गर्भपतन सेवा देशभरि उपलब्ध छ । “सम्मानजनक प्रजनन स्वास्थ्य तथा गर्भपतन अधिकारप्रति हाम्रो समर्पण दृढ छ र यो सेवा सबैको लागि उपलब्धता, पहुँचयोग्य, स्वीकार्य र गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध छ”, महाशाखाका निर्देशक डा लालले भन्नुभयो । यो वर्ष ‘सुरक्षित गर्भपतनका लागि अधिकार, पहुँच र ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ गर्भपतन सेवा दिवस मनाउन थालिएको हो । —

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments