Wednesday, April 22, 2026
No menu items!
Homeविश्व खबरश्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण

श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण

श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । श्रीलङ्काको निर्वाचन आयोगले आइतबार दिसानायकालाई मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको थियो । शनिबार भएको निर्वाचनमा पिपुल्स लिबरेसन फ्रन्टका ५५ वर्षीय नेता दिसानायका ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा विजयी हुनुभएको आयोगले जनाएको छ । विपक्षी दलका नेता सजिथ प्रेमदासा ३२ दशमलव ७६ प्रतिशतका साथ दोस्रो स्थानमा रहनुभएको थियो भने सन् २०२२ को आर्थिक सङ्कटको चरम अवस्थामा पदभार सम्हाल्नुभएका र अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) बेलआउटको सर्तअनुसार कठोर मितव्ययिता नीतिहरू लागु गर्नुभएका निवर्तमान राष्ट्रपति रनिल विक्रामासिङ्घे १७ दशमलव २७ प्रतिशतका साथ तेस्रो स्थानमा रहनुभएको थियो । सन् २०२२ मा श्रीलङ्कामा आएको आर्थिक मन्दीका कारण आम श्रीलङ्कावासीले पीडादायी कष्ट भोग्नु परेपछि दिसानायकाको समर्थनमा वृद्धि भएको थियो । सांसदहरू, बौद्ध धर्मगुरुका सदस्यहरू र समारोहबीच ५५ वर्षीय दिसानायकाले प्रधान न्यायाधीश समक्ष शपथ ग्रहण गर्नुभएको हो । सपथ ग्रहणपछि दिसानायकाले भन्नुभयो, “जनताको राजनीतिज्ञप्रतिको विश्वास लाई पूर्ण रुपमा पुनस्र्थापित गर्न म सक्दो प्रयास गर्नेछु ।” उहाँले भन्नुभयो, “म जादुगर होइन। मैले जानेका कुराहरू छन् र मलाई थाहा नभएका कुराहरू पनि छन्, तर म उत्तम सल्लाह लिनेछु र मेरो सर्वोत्तम प्रयास गर्नेछु। त्यसका लागि मलाई सबैको सहयोग चाहिन्छ ।” –प्रधानमन्त्रीद्वारा राजिनामा– श्रीलङ्काको नयाँ राष्ट्रपतिमा अनुरा कुमारा दिसानायका निर्वाचित भएपछि प्रधानमन्त्री दिनेश गुणवर्धनाले सोमबार बिहान राजीनामा दिनुभएको छ । आफ्नो राजीनामा पत्रमा गुणवर्धनाले श्रीलङ्काको नवौं कार्यकारी राष्ट्रपतिको रूपमा दिसानायके निर्वाचित भएसँगै देशको संविधानअनुसार नयाँ मन्त्रीमण्डल गठनका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिन लागेको उल्लेख गर्नुभएको छ । दिसानायकाले चुनावमा विजय हासिल गरेपछि गुणवर्दनाले आइतबार राति नै उहाँलाई बधाई दिनुभएको थियो । —

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments