Saturday, April 18, 2026
No menu items!
Homeनेपाल खबरउडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा

उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा

टक्सार (भोजपुर), २८ भदौः भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थल कालोपत्र भएको छ । सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । तर पनि यो विमानस्थलमा उडान भने हाल हप्तामा दुई दिनमात्र हुने गरेको छ । विसं २०३५ मा निर्माण सम्पन्न भएर प्रयोगमा आएको विमानस्थलमा कुनै समय हप्तामा सात दिन नै उडान हुने गर्दथ्यो । कुनै बेला यहाँबाट विराटनगरसमेत उडान हुने गरेकामा अहिले भने भोजपुर–काठमाडौँ हप्तामा बुधबार र शनिबारमात्र उडान हुँदै आएको छ । भौतिक पूर्वाधारको कुनै समस्या नहुँदा पनि उडानमा भने समस्या छ । नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख प्रकाश खड्काका अनुसार केन्द्रबाट पठाउने गरिएको तालिकाअनुसार उडान भर्नुपर्ने हुन्छ, अहिले भोजपुरमा हप्तामा दुईमात्र उडान हुँदै आएको छ । भोजपुर विमानस्थलमा सरकारी ध्वजावाहक वायुसेवा निगमको जहाजले मात्र उडान गर्दै आइरहेको छ । विमान अभाव देखाउँदै निगमले उडान तालिका कम पठाउँदा यो समस्या देखिएको हो । उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्री मारमा पर्दैै आइरहेका छन । “घाँसेमैदान हुँदा भोजपुरमा नियमित उडान थियो, विमानस्थल र सडक कालोपत्र भएपछि त उडान तालिका पनि धेरै हुनुपर्नेमा कम हुँदै गएको छ”, स्थानीय सञ्जीव कार्कीले भन्नुभयो । टर्मिनल भवन जीर्ण हुँदा समस्या भएको गुनासो आएपछि पूर्वमन्त्री सुदन किरातीको पहलमा बजेट विनियोजन भएर हाल ठेक्का प्रक्रियाबाट आरबी अर्बान विल्डर्स एण्ड सप्लायर्सले विमानस्थलको टर्मिनल भवन निर्माण गरिरहेको छ । रु पाँच करोड ४५ लाख लागत सम्झौता रहेको उक्त टर्मिनल भवन २०८१ पुससम्ममा निर्माण सम्पन्न गर्नेगरी अहिले काम भइरहेको छ । विमानस्थलका लागि करोडौ रकम खर्च भइसक्दा समेत उडान तालिका बढ्न नसक्नु जिल्लाकै लागि दुर्भाग्य भएको स्थानीय घमचन्द्र दाहालले बताउनुभयो । भोजपुर सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र छ । जिल्लामा नै पहिलो आस्फाल्ट (मिश्रित) प्रविधिबाट पूर्वाधार विकास कार्यालयमार्फत प्रदेश सरकारको रु १६ करोड ९२ लाख लागतमा सडक कालोपत्र भएको थियो । रायमाझी–जगदम्बा–मार्सेली जेभीले निर्माण गरेको सो सडकको लम्बाइ पाँच किलोमिटर छ । भोजपुरमा नियमित उडान र निजी कम्पनीले पनि उडान भर्ने वातावरण जिल्लाका राजनीतिक दल र नेताले मिलाउनुपर्ने माग जिल्लावासीको छ । “बजेट खर्च भएअनुसार जिल्लावासीले सेवा पनि पाउनुपर्छ, यसका लागि नेताहरू पनि जिम्मेवार बन्नुपर्छ”, जिल्लावासी कृष्णमाया तामाङले भन्नुभयो । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments