Thursday, April 30, 2026
No menu items!
Homeनेपाल खबरडुडुवामा नयाँ पुल निर्माण भएपछि आवागमन सहज

डुडुवामा नयाँ पुल निर्माण भएपछि आवागमन सहज

राँझा (बाँके), १९ भदौः नेपालगञ्ज–बघौडा हुलाकी सडकअन्तर्गत बाँकेको डुडुवा गाउँपालिका–४ स्थित डुडुवाखोलामा पुल निर्माण भएपछि सवारी आवागमन सहज भएको छ । यसबाट डुडुवाखोलामा जीर्ण अवस्थामा रहेको साँघुरो पुलमा वारपार गर्न पालो पर्खिनुपर्ने बाध्यता हटेको छ । यसअघि पुल साँघुरो भएका कारण एकतर्फी मात्र सवारीसाधनले पुल वारपार गर्नुपर्ने अवस्था थियो । डुडुवामा दुई लेन फराकिलो नयाँ पुल बनेपछि सवारीसाधन आवागमनमा सहज भएको नरैनापुर–३ निवासी ताजमोहम्मद खानले बताउनुभयो । नयाँ पुल सञ्चालनमा आएपछि समयको बचतसँगै दुर्घटनाको जोखिम हटेको उहाँको भनाइ छ । यो पुलको निर्माण तोकिएको समयभन्दा करिब छ महिनाअघि नै सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले बताउनुभयो । आगामी पुस महिनासम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनी नारायणम निर्माण सेवा प्रालि नेपालगञ्जले गत असारभित्रै सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार, हुलाकी सडकअन्तर्गत यसअघि निर्माण गरिएको पुल साँघुरो भएपछि नयाँ पुल निर्माण गरिएको हो । नयाँ पुल दुवैतर्फ एक दशमलव ७५ मिटर पदमार्गसहित ११ मिटर चौडाइको छ । दुई स्पान रहेको पुल ६६ मिटर लामो छ । पुल निर्माण २०८१ पुस ४ गते सम्पन्न गर्नेगरी २०७९ असार ५ गते सम्झौता भएको थियो । निर्माण कम्पनीले निर्धारित समयभन्दा छ महिनाअघि २०८१ असार २३ गते नै निर्माण सम्पन्न गरेको हो । रु १० करोड ७१ लाखमा पुल निर्माण हुने सम्झौतामा उल्लेख भए पनि रु १० करोड ४३ लाखमा काम सम्पन्न भएको आयोजना प्रमुख भण्डारीले बताउनुभयो । यो पुल निर्माण भएपछि बाँकेको डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकासहित नेपालगञ्ज सिधनिया हुँदै अगैयास्थित पूूर्व–पश्चिम राजमार्ग पुग्ने नागरिकलाई आवागमनमा सहजता भएको राप्ती सोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारूले बताउनुभयो । नेपालगञ्ज–बघौडा सडकको पुष्पलाल चोकबाट डुडुवाखोला पुलसम्मको १० किलोमिटर सडकखण्ड स्तरोन्नति भएको छ । सडकखण्डमा दुवैतर्फ सडक विस्तार गरी कालोपत्र भएपछि सवारीको चाप पनि बढ्दै गएको छ । नेपालगञ्जबाट राप्ती नदी तरेर राप्तीसोनारीको फत्तेपुर, विनौना बैजापुर हुँदै अगैयासम्मको हुलाकी सडकको दूरी छोटो भएका कारण नेपालगञ्जबाट पूर्वपश्चिम राजमार्गको कोहलपुर हुँदै अगैयासम्म जाने सवारी साधनहरूले विकल्पमा यो सडक प्रयोग गर्दै आएको राप्ती सोनारीका अगुवा तुलसी थारूले बताउनुभयो । नेपालगञ्जदेखि राप्तीपारी हुँदै अगैयासम्म सडकको दूरी करिब ३५ किलोमिटर छ भने कोहलपुरबाट पूर्वपश्चिम राजमार्गको बाँके राष्ट्रिय निकुञ्ज हुँदै अगैया पुग्नका लागि करिब ६१ किलोमिटरको दूरी छ । दूरी छोटो पर्ने भएकाले सवारीसाधनले अगैयासम्म पुग्नका लागि डुडुवा पुल हुँदै राप्तीपारीकै सडक रोज्ने गरेका छन् । –––

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments